२० वर्षदेखि न्युजिल्यान्डलाई नजितेको दक्षिण अफ्रिका संकटमा

Agency

दुई दशकदेखि न्युजिल्यान्डलाई विश्व कपमा पराजित गर्न नसकेको दक्षिण अफ्रिका बुधबार निकै महत्वपूर्ण खेलमा किवी टोलीविरूद्ध बर्मिङ्घम मैदानमा उत्रिँदैछ।

आजको खेल अफ्रिकाको छैटौं र न्युजिल्यान्डको पाँचौ हो। न्युजिल्यान्ड ७ अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा छ र किवी टोलीको सेमिफाइनल पुग्ने सम्भावना बलियो मानिन्छ।

अभागी टोलीको उपमा पाएको अफ्रिकाले एक खेल मात्र जितेको छ र ऊ ३ अंकका साथ तालिकाको आठौं स्थानमा छ।

दक्षिण अफ्रिकालाई सेमिफाइनलको दौडमा आफूलाई यथावत राख्न आजको खेल कुनै पनि हालतमा जित्नु पर्ने अवस्था छ।

तर, कप्तान फाफ डुप्लेसिसलाई न्युजिल्यान्डविरूद्ध अंक जोड्नु सोचे जस्तो सजिलो छैन। अफ्रिकाले जारी विश्व कपमा सोचेजस्तो प्रदर्शन गर्न सकेको छैन।

दक्षिण अफ्रिकाले सन् १९९९ यता न्युजिल्यान्डलाई विश्व कपमा जितेको छैन। सन् २००३ देखि २०१५ को बीच यी टोली ४ पल्ट विश्व कपमा भिडिसकेका छन्, जसमा चारै पल्ट अफ्रिका पराजित भएको छ।

जारी विश्व कपको अघिल्लो ३ खेलमा अफ्रिका पराजित भएको छ। यसमा बंगलादेशसँगको पराजय पनि समावेश छ। अफ्रिकाले अफगानिस्तानलाई मात्र पराजित गरेको छ।

न्युजिल्यान्ड र अफ्रिकाले ७० वटा एकदिवसीय खेलिसकेका छन्। जसमा अफ्रिका ४१ मा विजय र न्युजिल्यान्डले २४ खेल जितेका छन्। पाँच खेलको नतिजा निस्किएको थिएन।

विश्व कपमा दुवै टोली ७ पल्ट भिडेका छन्, जसमा न्युजिल्यान्ड ५ र अफ्रिकाले २ खेलमा जित निकालेका छन्।

इंग्लिस मैदानमा यी टोली एक पल्ट भिडेका थिए। सन् १९९९ बर्मिङ्घममा भएको खेलमा अफ्रिका विजयी भएको थियो।

आज पनि दुवै टिम बर्मिङ्घममै भिड्दै छन्। यस पीचमा अहिलेसम्म ५१ खेल भएको छ, जसमा २४ पल्ट पहिलो ब्याटिङ गर्नेले जित निकालेका छन्। पछिल्लो पाँच खेलको विश्लेषण गर्ने हो भने बर्मिङ्घममा औसत २ सय ९५ रन बनेको छ।

यस विश्व कपमा दक्षिण अफ्रिकाको बलियो अस्त्र क्विन्टन डिकोक र इमरान ताहिर हुन्। डिकोकले ५ खेलमा ४६ दशमलव ५० को औसतले १ सय ८६ रन बनाइसकेका छन्। उनले दुई अर्धसतक पुरा गरेका थिए।

इमरान ताहिरले ५ खेलमा ८ विकेट लिएका छन्। हासिम अमला फर्मबाट बाहिर रहनु अफ्रिकाको सबैभन्दा ठूलो कमजोरी हो। उनले ४ खेलमा ६४ रन मात्र बनाएका छन्। उनी फर्ममा फर्किए न्युजिल्यान्डका लागि टाउको दुखाई बन्ने पक्का छ।

यस्तै, न्युजिल्यान्डका लागि रोस टेलर विश्वस्त ब्याट्सम्यानको रुपमा देखापरेका छन्। उनले २ खेलमा ब्याटिङ गर्दै ६५ को औसतले १ सय ३० रन बनाएका छन्। न्युजिल्यान्डको सबैभन्दा बलियो पक्ष भनेको तीन जना तीब्र बलर फर्ममा हुनु हो। लोकी फर्गुसन, म्याट हेनरी र जेम्स निसम फर्ममा छन्। फर्गुसनले ८, हेनरीले ७ र निसमले ६ विकेट लिइसकेका छन्।

प्रकाशित मिति: : 2019-06-19 11:05:59

प्रतिकृया दिनुहोस्