इंग्ल्यान्ड र वेल्समा जारी विश्व कपमा पहिलो ह्याट्रिक लिने कीर्तिमान बनाएका मोहम्मद सामीको उत्कृष्ट बलिङका कारण भारत लगातार चौथो खेलमा पनि विजयी भएको छ।
सामीले अन्तिम ओभरमा मोहम्मद नबी, अफताब आलम र मुजुबर रहमानलाई लगातार तीन बलमा आउट गरेपछि भारत शनिबारको खेलमा ११ रनले विजयी भयो।
मोहम्मद नबीले चौथो विकेटको क्षतिमा क्रिजमा प्रवेश गरेर अन्तिमसम्म खेललाई अफगानिस्तानको पक्षमा ल्याउने प्रयास गरेका थिए। तर, ५२ रनमा खेलिरहेका नबीलाई अन्तिम ओभरमा समीले क्याच आउट गराएपछि भारतको जित निश्चित भएको थियो।
अफगानिस्तानलाई अन्तिम ओभरमा जितका लागि १६ रन आवश्यक थियो र उसँग ३ विकेट बाँकी थियो। नबी क्रिजमा टिकिरहेका थिए। नबीले पहिलो बलमै सामीलाई लङ अनमा चौका हान्दै आफ्नो उद्देश्य स्पष्ट पारेका थिए। तर, उनलाई तेस्रो बलमा क्याच आउट गराएपछि भारत खेलमा फर्किएको थियो।
सामीले चौथो र पाँचौ बलमा पनि लगातार विकेट लिए र विश्व कपमा ह्याट्रिक पुरा गर्ने दोस्रो भारतीय बलर बने। उनी ३२ वर्षपछि एकदिवसीयमा ह्याट्रिक गर्ने दोस्रो भारतीय बलर पनि बनेका छन्। सन् १९८७ को विश्व कपमा चेतन शर्माले भारतका लागि पहिलो ह्याट्रिक गरेका थिए।
भुवनेश्वर कुमार चोटग्रस्त भएपछि सामीलाई यसै खेलमार्फत पहिलो मौका दिइएको थियो। उनले पहिलो खेलमै ९ दशमलव ५ ओभरमा ३९ रन खर्चेर ४ विकेट लिए।
भारतले टस जितेर पहिलो ब्याटिङ गरेको थियो र कप्तान विराट कोहली र केदार जाधवको अर्धसतकीय इनिङका कारण ८ विकेटको क्षतिमा २ सय २४ रन बनाउन सफल भयो।
प्रत्युत्तरमा अफगानिस्तानले ४९ दशमलव ५ ओभरमा सवै विकेट गुमाएर २ सय १३ रन बनायो।
भारतको जितमा सामीबाहेक जसप्रीत बुमरा, यजुवेन्द्र चहल र कुलदीप यादवले पनि उत्कृष्ट बलिङ गरे। हार्दिक पाण्ड्या शनिबारको खेलमा केही महंगो सावित भए तर उनले पनि २ विकेट लिए।
२ सय २५ रनको चुनौति पाएको अफगानिस्तानका लागि मोहम्मद नबीले उत्कृष्ट ब्याटिङ गरे। उनले एक छक्का र ४ चौकाको सहयोगले अर्धसतक पुरा गरे।
नबीबाहेक रहमत शाहले ३६, नजिबुल्लाह जार्डनले २१ र कप्तान गुलबदिन नइबले २७ रन बनाए।
भारतका लागि बुमराहले १० ओभरमा ३८ रन खर्चेर २ विकेट लिए। उनले रहमद र साहिदीको महत्वपूर्ण विकेट लिएका कारण उनलाई ‘म्यान अफ दि म्याच’ घोषित गरियो। चहलले पनि १० ओभरमा ३६ रन खर्चेर २ विकेट लिए। यादव ३९ रन खर्चे पनि विकेट बिहिन रहे। पाण्ड्याले ५१ रन खर्चेर २ विकेट लिए।
विश्व कपमा सबैभन्दा कमजोर आँकिएको अफगानिस्तानले बलियो भारतलाई २ सय २४ रनमा रोकेको थियो।
जारी विश्व कपमा एउटा पनि खेल नजितेको अफगानिस्तानका स्पिनरले भारतको बलियो ब्याटिङ लाइनअपलाई बाँधेर राखे।
उपकप्तान रोहित शर्मालाई १ रनमा आउट गरेको अफगानिस्तानले भारतलाई ठूलो साझेदारी गर्न दिएन।
भारतका लागि कप्तान विराट कोहली र केदार जाधवले अर्धसतकीय इनिङ खेल्ने बाहेक अरुले ठोस ब्याटिङ गर्न सकेनन्। यसअघि एक विकेटपनि नलिएका मोहम्मद नबीले केएल राहुल र कप्तान विराटलाई आउट गरे। गुलबदिनले पनि २ विकेट लिए।
अघिल्लो खेलमा १ सय १० रन खर्चेका राशिद खानले १० ओभरमा ३८ रन खर्चेर महेन्द्रसिंह धोनीलाई स्टम्पिङ गराएका थिए।
अफगानिस्तानले पहिलेको तुलनामा ढिलो बलिङ गरेको थियो।
विराटले ६७ रन बनाए। जाधवले ५२ रन बनाएका थिए। केएल राहुलले ३०, विजय शंकरले २९, धोनीले २८, हार्दिक पाण्ड्याले ७ रन बनाएका थिए। भारतले पुरै इनिङमा एउटा मात्र छक्का हान्यो।
त्यो छक्का जाधवले हानेका थिए। अफगानिस्तानबाट पनि एउटा छक्का भयो। त्यो नबीले हानेका थिए।