कार्लोस ब्रेथवाइटले बिस्फोटक १ सय १ रन बनाएपनि वेष्ट इन्डिज निकै रोमाञ्चक खेलमा न्युजिल्यान्डसँग ५ रनले पराजित भएको छ।
जेम्स निसमको अन्तिम ओभरको अन्तिम बललाई लङ अनमा छक्का हान्ने चक्करमा ब्रेथवाइट बोल्टको हातबाट समातिएपछि वेष्ट इन्डिज एक ओभरको खेल बाँकी रहँदै पराजित भयो।
यसअघि वेष्ट इन्डिजलाई १८ बलमा ३३ रन आवश्यक थियो। ब्रेथवाइटले माट हेनरीको ३ बलमा ३ छक्का हान्दै वेष्ट इन्डिजलाई जितको नजिक ल्याएका थिए। तर, उनी अन्त्यमा चुक्दा वेष्ट इन्डिज जितबाट चुकेको थियो।
म्यानचेस्टरमा भएको खेलमा न्युजिल्यान्डले पहिलो ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा २ सय ९१ रन बनाएको थियो। जवाफमा वेष्ट इन्डिजले ४९ ओभरमा सबै विकेट गुमाएर २ सय ८६ रन बनायो।
न्युजिल्यान्डका लागि कप्तान केन विलियम्सनले १ सय ४८ रनको सतकीय इनिङ खेलेका थिए। उनको विश्व कपमा दोस्रो सतक थियो। प्रारम्भिक ब्याट्सम्यानद्धय मार्टिन गुष्टिल र कोलिन मुनरो गोल्डेन डकको शिकार भएको अवस्थामा कप्तान केनले किवी टोलीलाई उकासेका थिए। उनले तेस्रो विकेटका लागि रोस टेलरसँग मिलेर १ सय ६० रनको साझेदारी गरेका थिए। टेलर ६९ रन बनाएर आउट भए।
पुछारमा जेम्स निसमले २८ रन बनाएका थिए। वेष्ट इन्डिजका शेल्डन कोट्रेलले ४ र ब्रेथवाइटले २ विकेट लिएका थिए।
शनिबार भएको यस खेलमा क्रिस गेलले वेष्ट इन्डिजलाई राम्रो सुरुवात दिलाए। उनले ६ छक्का र ८ चौकाको सहयोगले ८४ बलमा ८७ रन बनाए।
गेलले ६ छक्का र ८ चौकाको सहयोगले ८४ बलमा ८७ रन बनाएका थिए। बीचमा सिम्रन हिटमेयर ५४ रन बनाए। वेष्ट इन्डिजको योगफल २२ दशमलव २ ओभरमा ४ विकेटको क्षतिमा १ सय ४२ हुँदा क्रिजमा प्रवेश गरेका ब्रेथवाइटले खेललाई अन्तिमसम्म लगेका थिए।
उनले ५ छक्का र ९ चौकाको सहयोगले ८४ बलमा १ सय ११ रन बनाएका थिए। न्युजिल्यान्डका लागि ट्रेन्ट बोल्टले ४, लोकी फेर्गुसनले ३ विकेट लिए।
जितसँगै न्युजिल्यान्ड ६ खेलमा ११ अंक बटुल्दै शीर्ष स्थानमा उक्लिएको छ। न्युजिल्यान्ड ५ खेल जितेर अपराजित छ। एउटा खेल वर्षाका कारण प्रभावित भएको थियो।
हारसँगै वेष्ट इन्डिज प्रतियोगिताबाट लगभग बाहिरिएको छ। वेष्ट इन्डिजले ९ मध्ये ६ खेलमा ३ अंक मात्र बटुलेको छ। उसले हालसम्म एउटा खेल मात्र जितेको छ। खेलको म्यान अफ दि म्याच कप्तान केन विलियम्सन घोषित भए।