भारतलाई रोक्ने दाउमा वेष्ट इन्डिज, गेल अर्को कीर्तिमान नजिक

Agency

सेमिफाइनल दौडबाट बाहिरिसकेको वेष्ट इन्डिज विहिबार भारतसँग हुने राउन्ड रोबिनको अर्को खेलमा स्तब्ध नतिजा निकाल्न आतुर देखिन्छ।

भारत अहिले विश्व कपको सेमिफाइनल प्रवेश नजिक छ। उसले ५ खेलमध्ये ४ मा जित निकालेको छ। आज म्यानचेस्टरमा आयोजना हुने खेलमा विजय प्राप्त गरेको खण्डमा भारत लगातार दुई विश्व कपको अघिल्लो ५ खेल जित्ने इतिहासलाई दोहर्याउन सफल हुनेछ।

सन् २०१५ को विश्व कपमा भारतले लगातार ६ खेल जितेको थियो।

भारत क्यारेबियाली टोलीसँग इंग्लिस मैदानमा छैटों पल्ट खेल्दै छ। जसमा भारत ३ र वेष्ट इन्डिजले २ पल्ट जित निकालेका छन्।

सन् १९८३ को विश्व कपको फाइनलमा भारतले ६६ रनले वेष्ट इन्डिजलाई पराजित गर्दै पहिलो विश्व कपको उपाधि इंग्ल्यान्डमै उचालेको थियो।

भारत हाल ५ खेलमा ९ अंक बटुल्दै अंक तालिकाको तेस्रो स्थानमा छ। आजको खेल जितेको खण्डमा भारत सेमिफाइनल प्रवेशको दुरीलाई घटाउन सफल हुनेछ।
वेष्ट इन्डिजले जारी विश्व कपमा ४ खेल हारिसकेको छ।

आज क्रिस गेल भारतविरूद्ध उत्कृष्ट इनिङ खेल्दै विश्व कपको खराब प्रदर्शनलाई बिर्सन लालायित छन्। उनले किवीविरूद्ध अघिल्लो खेलमा बिस्फोटक ब्याटिङ गरेका थिए। उनी सतकबाट १३ रनले चुके पनि ८७ रनको इनिङ खेलेका थिए।

गेल वेष्ट इन्डिजबाट एकदिवसीयमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान बन्ने अभियानमा पनि छन्। उनले २ सय ९५ एकदिवसीयमा १० हजार ३ सय ४५ रन बनाएका छन्। उनी आफ्ना अग्रज ब्रायन लाराको सर्वाधिक रन बनाउने कीर्तिमानबाट ६० रनले मात्र पछाडि छन्। लाराले २ सय ९९ एकदिवसीयमा १० हजार ४ सय ५ रन बनाएका थिए।

आजको खेलमा शेल्डन कोटरेलको खेलबाट पनि धेरै कुरा निर्धारण हुनेछ। वेष्ट इन्डिजको युवा तीब्र बलर कोटरेलले जारी विश्व कपमा सबैलाई प्रभावित पारेका छन्। उनले ६ खेलमा ९ विकेट लिएका छन्।

वेष्ट इन्डिजको अहिलेको समस्या भनेको प्रारम्भिक जोडीको खराब प्रदर्शन हो। वेष्ट इन्डिजले पछिल्लो ३ खेलमा प्रारम्भिक जोडीबाट खराब सुरुवात गरेको छ। न्युजिल्यान्डविरूद्ध गेलको जोडीको रुपमा साई होप उत्रिएका थिए। यी दुईबीच ३ रनको मात्र साझेदारी भएको थियो।

बंगलादेश र इंग्ल्यान्डविरूद्ध गेलको सहयोगीको रुपमा इविन लेभिस क्रिजमा थिए। तर, यो जोडीबाट पनि बंगलादेशसँग ६ र इंग्ल्यान्डविरूद्ध ३ रनको मात्र साझेदारी भयो।

भारतको बलियो बलिङ आक्रमणको अगाडि वेष्ट इन्डिजको प्रारम्भिक जोडीले गर्ने प्रदर्शनले पनि खेलको नतिजा प्रभावित पार्नेछ।

आजको खेलमा तीब्र बलर भुवनेश्वर कुमार टिममा फर्किने सम्भावना बलियो छ। बुधबारको पत्रकार सम्मेलनमा भारतीय टोलीले भुवनेश्वर फिट भएको जानकारी दिएको थियो।

भुवनेश्वर चोटग्रस्त हुँदा मौका पाएका मोहम्मद सामीले अफगानिस्तानविरूद्ध अघिल्लो खेलमा अन्तिम ओभरमा ह्याट्रिक लिएर सनसनी मच्चाएका थिए।

भुवनेश्वर टिममा फर्किएको खण्डमा उनको पोजिसन के हुन्छ? यो सबैका लागि कौतुहलको विषय बनेको छ।

भारत र वेष्ट इन्डिजले हालसम्म १ सय २६ एकदिवसीय खेलका छन्, जसमा वेष्ट इन्डिज ६२ र भारत ५९ खेलमा जित निकाल्न सफल भएको छ।

विश्व कपमा भने यिनीहरूको भिड्न्त ८ पल्ट भएको छ। यसमा भारतले ५ र वेष्ट इन्डिजले ३ पल्ट खेल जितेको छन्।

भारतीय कप्तान विराट कोहली यतिबेला उत्कृष्ट लयमा छन्। उनले ४ खेलमा ६१ को औसतले २ सय ४४ रन बनाइसकेका छन्। उनले ३ खेलमा अर्धसतक बनाएका छन्। वेष्ट इन्डिजविरूद्ध पछिल्लो ६ इनिङमा विराटले ४ सतक हानेका छन्।

भारतको अहिलेको समस्या भनेको चौथो नम्बरमा ब्याटिङ गर्न आउने खेलाडी हो। शिखर धवन औलाको चोटका कारण विश्व कपबाट बाहिरिसकेको अवस्थामा चौथो नम्बरका ब्याट्सम्यान केएल राहुलले प्रारम्भमा रोहित शर्मालाई सघाईरहेका छन्।

राहुलको स्थानमा हाल चौथो नम्बरमा विजय शंकर ब्याटिङ गर्न आइरहेका छन्। उनले चौथो नम्बरमा खासै प्रभाव जमाउन सकेका छैनन्।

प्रकाशित मिति: : 2019-06-27 09:55:30

प्रतिकृया दिनुहोस्