विश्व कपको सेमिफाइनल समिकरणबाट बाहिरिसकेको दक्षिण अफ्रिकाविरूद्ध श्रीलंकालाई २७ वर्षअघिको बदला लिने मौका जुरेको छ।
जारी विश्व कपमा अफ्रिकाको प्रदर्शन राम्रो छैन्। अफ्रिका ७ खेलबाट ३ अंक मात्र जोड्दै अंक तालिकामा नवौं स्थानमा रहेर सेमिफाइनलबाट बाहिरिसकेको छ।
तर, ६ खेलबाट ६ अंक बटुलेको श्रीलंकाको सेमिफाइनल प्रवेशको सम्भावना अझै जिवित छ। श्रीलंका हाल अंक तालिकाको सातौं स्थानमा छ। र, उसका लागि सेमिफाइनलको समिकरण यथावत राख्न बाँकी तीन वटै खेल जित्नु पर्ने बाध्यता छ।
शुक्रबार चेस्टर–ले स्ट्रीटमा हुने खेलमा श्रीलंकाका लागि पनि ‘गर या मर’ को स्थिति छ।
श्रीलंकाले सन् १९९८ देखि इंग्लिस मैदानमा अफ्रिकालाई जितेको छैन्। अझ, विश्व कपको कुरा गर्ने हो भने, सन् १९९२ मा अन्तिम पल्ट श्रीलंकाले ३ विकेटले अफ्रिकालाई पराजित गरेको थियो। यसपछि श्रीलंका विश्व कपमा लगातार पराजय भोग्दै आइरहेको छ।
सन् १९९९ मा ८९, २००७ मा १ विकेट र २०१५ मा ९ विकेटको पराजय भोगेको थियो, श्रीलंकाले। २००३ को विश्व कपको खेल भने ‘टाई’ भएको थियो।
यी दुई टोलीबीच हालसम्म ७६ एकदिवसीय भएको छ। जसमा अफ्रिका ४३ र श्रीलंका ३१ खेलमा विजयी भएका छन्।
यस्तै, विश्व कपमा खेलिएको ५ मध्ये दक्षिण अफ्रिका ३ र श्रीलंका १ खेलमा मात्र विजयी भएको छ।
ब्याट्सम्यानलाई मद्धत गर्ने चेस्टर–ले स्ट्रीट मैदानमा अफ्रिकाले क्विन्टन डिकोकबाट ठूलो आशा राखेको छ। टिमका अन्य ब्याट्सम्यान ‘फ्लप’ भएको अवस्थामा उनले ७ खेलमा २ सय ३८ रन बनाएका छन्। उनी जारी विश्व कपमा अफ्रिका सर्वाधिक रनकर्ता पनि हुन्। उनले दुई अर्धसतक बनाएका छन्।
बलिङतर्फ अफ्रिकालाई इमरान ताहिरबाट आशा छ। ताहिरले ७ खेलमा १० विकेट लिएका छन्। हासिम अमला फर्ममा नहुनु अफ्रिकाका लागि टाउको दुखाईको विषय हो।
न्युजिल्यान्डविरूद्ध उनले बनाएको ५५ रनको इनिङ दोहर्याएको खण्डमा श्रीलंकाविरूद्ध केही दबाव सिर्जना गर्न अफ्रिका सफल हुनेछ।
यति बेला श्रीलंकाको बलियो पक्ष भनेको अनुभवी बलर लासिथ मलिङ्गा हुन्। उनले ४ खेलमा ८ विकेट लिएका छन्। इंग्ल्यान्डविरूद्ध उनले ४ विकेट लिएपछि श्रीलंकाले प्रतियोगितामा दोस्रो जित दर्ता गराएको थियो। उनको बलिङका कारण इंग्ल्यान्ड पनि अफ्ठेरो अवस्थामा छ।
श्रीलंकाबाट सर्वाधिक रन कप्तान दिमुथ करुणारत्नेले बनाएका छन्। उनले ४ इनिङमा ६० को औसतले १ सय ८० रन बनाएका छन्। अस्ट्रेलियाविरूद्ध सतक बनाउनबाट उनी ३ रनले चुकेका थिए। उनले ९७ रन बनाएका थिए। श्रीलंकाको ब्याटिङ लाइन–अप पनि खासै चलेको छैन। त्यसैले आजको खेलमा श्रीलंकाली ब्याट्सम्यानले ठोस
साझेदारी नगर्ने हो भने सन् १९९६ को विजेता अफ्ठेरोमा पर्ने निश्चित छ।