विश्व कपको सेमिफाइनलबाट बाहिरिसकेको दक्षिण अफ्रिकाले शुक्रबार ९ विकेटले श्रीलंकालाई पराजित गरेपछि पूर्व च्याम्पियन टोली संकटमा परेको छ।
फर्म बाहिर रहेका दुई ब्याट्सम्यान फाफ डु प्लेसिस र हासिम अमलाले दोस्रो विकेटकालागि अविजित १ सय ७५ रनको साझेदारी गरेपछि अफ्रिका विजयी भएको हो।
चेस्टर–ले स्ट्रीटमा भएको राउन्ड रोबिनको खेलमा टस हारेर पहिलो ब्याटिङ गर्न उत्रिएको श्रीलंकाले ४९ दशमलव ४ ओभरमा सवै विकेट गुमाएर २ सय ३ रन बनाएको थियो। प्रत्युत्तरमा अमलाले अविजित ८० र कप्तान डु प्लेसिसले अविजित ९६ रन बनाउँदै विश्व कपमा आफ्नो टोलीलाई दोस्रो जित दिलाए।
कागिसो राबाडा, क्रिस मोरिस, डवेनप्रटोरियोसले प्रभावशाली बलिङ गरेपछि श्रीलंकाली ब्याट्सम्यान पहिले देखि नै दबावमा देखिए। राबाडाले पहिलो बलमै कप्तान डिमुथ करुणारत्नेको विकेट लिएका थिए। राबाडाले २, मोरिसले ३ र प्रेटोरियोसले ३ विकेट लिएका थिए।
कुशल परेरा र अभिषका फर्नान्डोले दोस्रो विकेटका लागि ६७ रनको साझेदारी गरेपनि त्यो लामो टिकेन। परेरा ३० र फर्नान्डो पनि ३० रनमा आउट भए। दुवैलाई प्रेटोरियोसले आउट गरेका थिए। अझ उनले कुसल मेन्डिसलाई समेत २३ रनमा आउट गरे।
प्रटोरियोसलाई नै ‘म्यान अफ दि म्याच’ घोषित गरियो। लासिथ मालिङ्गाले १५ रनमा क्वान्टन डिकोकलाई बोल्ड गर्दै श्रीलंकालाई राम्रो सुरुवात दिलाएका थिए। तर, अमला र डु प्लेसिसले उत्कृष्ट साझेदारी गर्दै अफ्रिकालाई जित दिलाए।
श्रीलंका ७ खेलमा ६ अंकका साथ सातौं स्थानमा यथावत रहेको छ। उसको सेमिफाइनल प्रवेश गर्ने सम्भावना लगभग समाप्त भएको छ। अब उसलाई बाँकीको दुई खेल जितेर मात्र पुग्दैन, आफूभन्दा माथिको टिमको हार र जितले पनि श्रीलंकाको सेमिफाइनल प्रवेशलाई प्रभावित पार्ने छ।