विन्ध्यवासिनी म्युजिक अवार्ड समारोह

लिंखा मगरकाे गीतकाे आम्दानी झुम्लावाङ भिलेज फाउण्डेसन र स्वास्थ्य केन्द्रलाई हस्तान्तरण

लिंखा मगरको नजर- ३ को विमोचन

BreaknLinks
BreaknLinks

नेपाली गीत-संगीतको क्षेत्रमा महत्वपूर्ण मानिने ‘विन्ध्यवासिनी म्युजिक अवार्ड- २०७९’ शुक्रबार काठमाडाैँमा भव्य समारोहबीच सम्पन्न भयाे। जमलस्थित राष्ट्रिय नाचघरमा आयाेजित समााराेहमा विन्ध्यवासिनी फाउण्डेसनले गत वर्ष (२०७९)भरि बजारमा आएका गीत-संगीतमध्ये २१ विद्यामा सर्जकहरुलाई अवार्ड प्रदान गरेकाे छ।

साेही अवार्ड कार्यक्रमको मञ्चमा पदमा लिंखा मगरको गीति एल्बम ‘नजर- ३’ पनि विमोचन गरिएको छ। मगर उक्त प्रतिष्ठित मञ्चबाट आफ्ना तीन कृतिहरु गीति एल्बम नजर- २, इन्द्रेनी गीत संग्रह र उज्यालोको खोजी गजलसंग्रहबाट कमाएकाे रकम जेभिएफ संस्थालाई हस्तान्तरण गरेका छन्। अवार्ड समारोहमा तीन कृतिबाट उठेको रकम रु. ५ लाख ८९ हजार ३ सय ७० रुकुम (पूर्व)काे झुम्लावाङ भिलेज फाउण्डेसन र रुकुमको सामुदायिक स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरेका हुन्।

सोही कार्यक्रममा नयाँ गीति एल्बम ‘नजर- ३’ का “अम्मली पो भएँ" गीतको म्यूजिक भिडियो पनि सार्वजनिक गरिएको छ। एल्बममा लोकप्रिय संगीतकार राजकुमार बगरकाे एकल संगीत रहेको छ। भने, राजेश पायल राई, अन्जु पन्त, शिव परियार, राज सिग्देल, सिडी विजय अधिकारी, सी चेम्जोङ्ज्यू, प्रताप दास, सागर आले, रचना रिमाललगायतकाे स्वर छ। संगीत संयोजनतर्फ कमल सौराग, उदयराज पौडेल, फणिन्द्र राई र आशिष अविरलको छ।

‘नजर- ३’मा सात वटा गीत संग्रहित छन्। अन्य गीतहरुको म्युजिक भिडियो युट्युबबाट छिट्टै एक साथ सार्वजनिक गरिँदैछ।

सर्जक पदमा लिंखा मगरको जन्मघर संखुवासभाको धर्मदेवी नगरपालिका माम्लिङ र कर्मघर रूकुम (पूर्व)को झुम्लावाङ हो। केही समययता उनी अमेरिकाको न्यूयोर्कमा परिवारसहित बस्दै आएकी छिन्। 

‘परिस्थिति र बाध्यताले भौतिक रुपमा विदेशी भूमिमा जीवनयापन गरिरहे पनि भावनात्मक रुपमा हरपल गाउँघरका पाखा पखेरामा नै हुन्छ,’ उनी भन्छिन्।

आफ्नो सिर्जना यात्रालाई रुकुमको झुम्लावाङ गाउँको दिगो विकाससँग जोड्दै हालसम्म नजर- ३ गीति एल्बमसहित पाँच वटा कृतिहरू श्रोतामाझ ल्याउन पाउँदा उनी आफूलाई भाग्यमानी ठान्छिन्।

लिंखा मगरको पहिलो कृति २०७० मा निकालिएको ‘नजर‘ गीति एल्बमबाट प्राप्त रकम रू. ८ लाख १८ हजार २ सय ५० पनि सामुदायिक स्वास्थ्य केन्द्रलाई प्रदान गरिएको थियो। अहिले पाँचौं कृतिसम्म आइपुग्दा दाताहरूको साथ सहयोगले संकलित रकम संस्थालाई कुल रू. १४ लाख ७ हजार ६ सय २० प्रदान गरिसकेकी छिन्। देश तथा विदेशमा बसोवास गरेका शुभचिन्तक/दाता व्यक्ति एवम् संस्थाहरुको माया साथ र हौसलाका साथै स्थानीय सरकारबाट समेत स्वास्थ्य केन्द्रलाई आफ्नो मातहातमा सञ्चालन गर्न थालेकोले धेरै राहत मिलेकोमा लिंखा मगरले खुसी तथा आभार व्यक्त गरिन्।

म्युजिक भिडियो :

ग्रामिण दिगो विकासको क्षेत्रमा निरन्तर झुम्लावाङ भिलेज फाउण्डेसन 

वि.सं. २०६६ मंसिर ३ गते स्थापना गरिएको झुम्लावाङ भिलेजफाउण्डेसनले झुम्लावाङलाई नमुनागाउँ बनाउनका लागि शिक्षा, स्वास्थ्य, सामाजिक तथा आर्थिक विकासका साथ-साथै सांस्कृतिक र पर्यावरण संरक्षणका क्षेत्रमा समुदायको श्रमदान, स्वदेशी/विदेशी स्वयंसेवक र संघ संस्थाको सहकार्यबाट विभिन्न काममा अथक रुपमा लागिरहेको छ। यस संस्थाको मुख्य उद्देश्य दिगो विकासको क्षेत्रमा उदाहरणीय काम गरी झुम्लावाङ जस्तै अन्य गाउँवासी र समुदायहरुलाई प्रेरित गर्नु रहेको छ।

वि.सं. २०६७ कात्तिकमा स्वास्थ्य केन्द्रको भवन निर्माण सुरुवात गरिएकोमा २०६८ भदौमा पहिलो चरणको काम सम्पन्न भएको थियो। २०६९ कात्तिकदेखि प्राथमिक उपचार सेवा प्रारम्भ गरिएको थियो भने अहिलेसम्म निरन्तर छ। स्वास्थ्य केन्द्रलाई हाल गाउँपालिकाले आफ्नो स्रोतबाट संचालन गरिरहेको छ।

२०७२ को भूकम्प एवम् कोभिड- १९ को कारण संस्थाले सोचे जस्तो द्रुत गतिमा काम अगाडि बढ्नमा केही अवरोध आएको थियो। तर, पनि यस संस्थाले दुवै संकटको समयमा समुदायहरुको सुरक्षा र सहजताको लागि स्वास्थ्य शिविर सञ्चालन गरेका थिए। भूकम्पको समयमा गोरखा, दोलखा, काभ्रेपलाञ्चोक र धादिङ्ग जिल्लामा जम्मा ६ वटा शिविर र सक्दो सचेतना, राहत जस्ता कार्यक्रमहरुमार्फत् निरन्तर समुदायहरूको सेवामा खटिरह्यो।

संस्थाले हालसम्म सामुदायिक स्वास्थ्यकेन्द्र, संस्कृतिक भवन, टक्सार आधारभूत विद्यालयको लागि नयाँ भवन निर्माण र आर्थिक सम्वृद्धिका लागि सहकारी संस्थाको स्थापना गरी निरन्तर संचालनका साथै समय समयमा स्वास्थ्य शिविर संचालन पनि गर्दै आएको छ। अघिल्लो ६ वर्षको सामुदायिक स्वास्थ्य केन्द्र संचालनको सिकाइ स्वरूप स्वास्थ्य रहन रोगपछि उपचार मात्र नभएर दीर्घ रोग लाग्न नदिन पौष्टिक आहारको पनि उत्तिकै जरुरी छ भन्ने निष्कर्ष स्वरूप साढे तीन वर्षयता पर्यावरणीय कृषिमा आधारित ‘स्वास्थ्य तथा पोषण कार्यक्रम’अन्तर्गत झुम्लावाङ्लगायत वरिपरिका अरु ४ गाउँ (क्याङ्सी, सिमा, मोरावाङ, गावाङ) हरूमा करेसाबारी, घरबगैंचा, कृषि वन जस्ताकार्यक्रमहरू सञ्चालनमा छन्। भने, २ विद्यालयहरूमा विपन्न विद्यार्थीहरूका लागि छात्रवृत्ति र स्वयंसेवक शिक्षक सहयोग कार्यक्रमहरू पनि संचालनमा छन्।

यो पनि...

टकसारले जन्माएको ऐतिहासिक झुम्लाबाङ (फाेटाे फिचर)

प्रकाशित मिति: : 2023-05-09 10:20:00

प्रतिकृया दिनुहोस्