विश्व कपको अति नै महत्वपूर्ण खेलमा शनिबार विश्व च्याम्पियन अस्ट्रेलियाको भिड्न्त न्युजिल्यान्डसँग हुँदैछ। यी दुई देशबीचको खेललाई गत विश्व कपको फाइनलको रुपमा हेरिएको छ।
न्युजिल्यान्डका लागि आजको खेल निकै महत्वपूर्ण छ। ७ खेलमा १२ अंकका साथ कङ्गारु टोली प्रतियोगिताको सेमिफाइनल प्रवेश गरिसकेको सन्दर्भमा किवीका लागि आजको खेल दुई वटा कारणले महत्वपूर्ण बनेको छ।
पहिलो कारण– गत विश्व कपमा फाइनलमा भोगेको पराजयको बदला लिनु हो। दोस्रो कारण–अस्ट्रेलियालाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गर्नु हो।
न्युजिल्यान्ड ७ खेलमा ११ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा छ।
न्युजिल्यान्डका लागि अस्ट्रेलियालाई पराजित गर्नु सोचे जति सहज पक्कै छैन। पाकिस्तानविरूद्ध पराजित खेलमा किवी टोलीको कमजोरी उजागर भइसकेको छ। यस विश्व कपमा प्रभावशाली रहेका ट्रेन्ट बोल्टले पाकिस्तानविरूद्ध खासै प्रभाव जमाउन सकेनन्। यस्तै, कप्तान केन विलियम्सन बाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन पनि गतिलो हुन सकेन्।
न्युजिल्यान्डको तुलनामा अस्ट्रेलिया परिपक्व देखिन्छ। प्रारम्भिक ब्याट्सम्यान डेभिड वार्नर लयमा छन्। कप्तान आरोन फिन्चले पनि खेलमा प्रभाव पार्दै आइरहेका छन्। अझ, बलरको रुपमा मिशेल स्टार्क सबैभन्दा खतरनाक देखिन्छन्।
एकदिवसीयमा १ सय ३६ पल्ट यी दुई टोलीबीच भिड्न्त भएको छ। जसमा अस्ट्रेलिया ९० र न्युजिल्यान्ड ३९ पल्ट विजयी भएको छ।
विश्व कपको तुलना गर्ने हो भने यी दुई देशबीच भएको १० भिड्न्तमा ७ पल्ट अस्ट्रेलिया र ३ पल्ट न्युजिल्यान्ड विजयी भएको छ।
तर रोचक तथ्य, इंग्लिस मैदानमा यी दुई टिमबीच भएको ४ वटा भिड्न्तमा दुवैले १–१ खेल मात्र जितेका छन्। २ खेलको नतिजा निस्किएको थिएन।