ट्रेन्ट बोल्टले ह्याट्रिक लिए पनि न्युजिल्यान्ड ८६ रनले डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियासँग पराजित हुँदै सेमिफाइनलको सम्भावनाबाट टाढिएको छ।
शनिबार कङ्गारु टोलीविरूद्ध बोल्टले ह्याट्रिक लिएका थिए। यसका बाबजुद अस्ट्रेलियाले पहिलो ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा २ सय ४३ रन बनाएको थियो।
तर प्रत्युत्तरमा मिशेल स्टार्कको बलिङका अगाडि घुँडा टेकेको किवी टोलीले ४३ दशमलव ४ ओभरमा १ सय ५७ रन बनाउँदै सवै विकेट गुमायो।
स्टार्कले ९ दशमलव ४ ओभरमा १ मेडनसहित २६ रन खर्चेर ५ विकेट लिए। अर्का बलर पेट कुमिन्सले पनि ६ ओभरमा १ मेडन राखेर १४ रन खर्चर्दै १ विकेट लिए। जासोन बेहरेन्डोफले ९ ओभरमा ३१ रन खर्चेर २ विकेट लिएका थिए।
कप्तान आरोन फिन्चले न्युजिल्यान्डविरूद्ध ८ बलरलाई प्रयोगमा ल्याएका थिए। माथिका तीन बलरबाहेक नाथन लियोन, स्टिभन स्मिथ, कप्तान फिन्च, मार्कुस स्टोइनिस र ग्लेन मेक्सवेलले बलिङ गरेका थिए। लियोन र स्मिथले पनि १–१ विकेट बाँडे।
न्युजिल्यान्डका लागि कप्तान केन विलियम्सन ४० रन बनाएर स्टार्कको बलमा आउट हुनु नै दुर्भाग्य बन्यो। ३० रन बनाएर खेलिरहेका रोस टेलर पनि स्टार्कको बलमा आउट हुनु किवी टोलीका लागि अर्को दुर्भाग्य बन्यो।
यी दुई बाहेक मार्टिन गप्टिलले २० रन बनाए। पुछारमा मिशेल सान्टनरले १२ रन बनाए।
पहिलो ब्याटिङ गरेको अस्ट्रेलियाको सुरुवात खराब रह्यो। ९२ रन बनाउँदा कङ्गारुको ५ विकेट झरिसकेको थियो। तर, उस्मान ख्वाजा र एलेक्स करीले छैटौं विकेटका लागि १ सय ७ रनको सतकीय साझेदारी गरेपछि अस्ट्रेलिया बलियो स्थितिमा पुगेको थियो।
ख्वाजाले बोल्टको बलमा बोल्ड हुनुअघि ८८ रन बनाएका थिए। यस्तै करीले ७१ रन बनाए। खेलको ‘म्यान अफ दि म्याच’ करी नै घोषित भए। बोल्टले ख्वाजा र स्टार्कलाई बोल्ड र बेहरेन्डोफलाई एलबिडब्लुको धरापमा पार्दे ३ बलमा ३ विकेट लिएर ह्याट्रिक पुरा गरेका थिए। उनले १० ओभरमा १ मेडनसहित ५१ रन खर्चेर ४ विकेट लिएका थिए।
उनी विश्व कपमा ह्याट्रिक पुरा गर्ने ११ औं बलर बनेका छन्। जारी विश्व कपमा ह्याट्रिक गर्ने बोल्ट दोस्रो बलर बनेका छन्। यसअघि भारतीय बलर मोहम्मद सामीले अफगानिस्तानविरूद्ध ह्याट्रिक गरेका थिए। लोकी फर्गुसन र जेम्स निसमले पनि २–२ विकेट लिएका थिए। कप्तान विलियम्सनले १ विकेट लिए।
अस्ट्रेलियाका लागि डेभिड वार्नरले १६, स्टोइनिसले २१, कुमिन्सले अविजित रहँदै २३ रन बनाएका थिए।
न्युजिल्यान्डको अब ८ खेलबाट ११ अंक भएको छ। यस्तै, यो विश्व कपमा सेमिफाइनल प्रवेश गरिसकेको अस्ट्रेलियाले ८ खेलमा १४ अंक बटुलेको छ। अस्ट्रेलिया अंक तालिकाको शीर्ष स्थानमा छ।