भारतले विश्व कपमा पहिलो पराजय भोगेको छ। विश्व कपको दावेदार मानिएको भारतलाई आयोजक इंग्ल्यान्डले ३१ रनले पराजित गरेको छ।
भारतविरूद्ध जितसँगै इंग्ल्यान्डको विश्व कपको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ। इंग्ल्यान्डले ८ खेलबाट १० अंक बटुलेको छ। भारत सेमिफाइनल प्रवेश गर्ने मौकाबाट आज चुक्यो। भारतलाई सेमिफाइनल प्रवेशका लागि एक अंक मात्र आवश्यक थियो।
भारतलाई ब्याट्सम्यानहरूले निरास पारे। उपकप्तान रोहित शर्माले सतकीय इनिङ र कप्तान विराट कोहलीले जारी विश्व कपमा पाँचौ अर्धसतक बनाए पनि भारतीय ब्याट्सम्यानले अघिल्लो १० र पछिल्लो १० ओभरमा निरास पारे।
बर्मिङ्घमको पीचमा टस जितेर पहिलो ब्याटिङ गरेको इंग्ल्यान्डले ७ विकेटको क्षतिमा ३ सय ३७ रन बनाएको थियो। इंग्ल्यान्डको जितमा चोटबाट फर्किएका जेसन रोय र जोनी बेयरस्टोले प्रारम्भमै १ सय ६० रनको साझेदारी गरेका थिए।
बेयरस्टोले १ सय ११ को सतकीय इनिङ खेले। रोयले ६६ रन बनाए। पुछारमा बेन स्टोकले ३ छक्काको सहयोगले ५४ बलमा अविजित ७९ रन बनाएपछि इंग्ल्यान्डले ३ सयभन्दा माथि योगफल बनायो।
जोए रुटले ४४ रन बनाए। भारतका लागि मोहम्मद सामीले ५ विकेट लिए। एकदिवसीयमा उनको यो उत्कृष्ट प्रदर्शन थियो।
प्रत्युत्तरमा रोहित शर्माले जारी विश्व कपको तेस्रो सतक बनाए पनि भारतलाई जित दिलाउन सकेनन्। उनले १ सय २ रन बनाए। केएल राहुल शुन्यमा आउट भएको अवस्थामा रोहितले दोस्रो विकेटका लागि कप्तान विराट कोहलीसँग मिलेर १ सय ३८ रनको साझेदारी गरेका थिए। कोहली ६६ रनमा आउट भए।
विश्व कपको पहिलो खेल खेलेका ऋषभ पन्तले ३२ रन बनाए। हार्दिक पाण्ड्याले ४५ र महेन्द्रसिंह धोनीले अविजित ४२ रन बनाएपनि भारत ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय २ रन मात्र बनाउन सफल भयो।
इंग्ल्यान्डका लागि लियाम प्लुन्केटले ३ र क्रिस वोक्सले २ विकेट लिए। खेलको म्यान अफ दि म्याच बेयरस्टो घोषित भए।
इंग्ल्यान्डले सेमिफाइनल प्रवेशका लागि अब न्युजिल्यान्डसँग खेल्नु पर्नेछ। इंग्ल्यान्डसँग भारतको पराजयपछि पाकिस्तानको सेमिफाइनल प्रवेश गर्ने सम्भावना कमजोर भएको छ। इंग्ल्यान्ड चौथो स्थानमा उक्लिएको छ।