विश्व नम्बर एक अलराउन्डर सकिब अल हसनको प्रदर्शनमा टिकेको बंगलादेश विश्व कपमा सेमिफाइनल प्रवेशको यात्रालाई जीवन्त राख्न मंगलबार भारतविरूद्ध मैदानमा उत्रिँदैछ।
बर्मिङ्घमको एजबस्टन मैदानमा आज हुने खेलमा भारतलाई पराजित गरेको खण्डमा बंगलादेशको विश्व कपमा सबैभन्दा ठूलो नतिजा हुनेछ। भारत जारी विश्व कपमा भारत एकदिवसीय क्रिकेटको नम्बर एक टोली हो।
अघिल्लो खेलमा आयोजक इंग्ल्यान्डसँग पराजय भोगेको खेलबाहेक भारतले लगातार ५ खेलमा जित निकालेको थियो। जसमा डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियालाई पराजित गरेको खेल पनि समावेश छ।
भारतको अहिलेको समस्या भनेको सुस्त सुरुवात हो। प्रारम्भिक ब्याट्सम्यान शिखर धवन चोटग्रस्त भएर विश्व कपबाट बाहिरिएपछि उपकप्तान रोहित शर्मासँग टिमको सुरुवात गर्न आएका केएल राहुलले त्यति ठूलो प्रभाव जमाउँन सकेका छैनन्।
दुवै जनाले सुस्त सुरुवात गर्दा भारत क्षमताभन्दा ठूलो योगफल बनाउन चुकिरहेको छ। भारतको अर्को समस्या चौथो नम्बरको ब्याट्सम्यान पनि हो। चौथो नम्बरमा ब्याटिङ गर्ने केएल राहुलको भूमिका फेरिएपछि अन्य ब्याट्सम्यानले सोचे जस्तो ब्याटिङ गर्न सकेका छैनन्।
भारतले चौथो नम्बरमा विजय शंकरलाई प्रयोग गर्दै आइरहेको थियो। तर उनी पनि अभ्यासका क्रममा जसप्रीत बुमराहको बलमा घाइते भएर टिमबाट बाहिरिसकेका छन्। उनको स्थानमा भारतले मयंक अग्रवाललाई टिममा बोलाएको छ।
इंग्ल्यान्डसँग पराजित खेलमा भारतले युवा ब्याट्सम्यान ऋषभ पन्तलाई प्रयोग गरेको थियो। विश्व कपको डेब्यु खेलमा उनी ३२ रन बनाए पनि ठूलो स्कोर गर्नबाट चुकेका थिए।
भारत जारी विश्व कपमा ७ मध्ये ५ खेल जितेर अंक तालिकाको दोस्रो स्थानमा छ। डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेको स्थितिमा भारतलाई अन्तिम चारमा स्थान बनाउन एक अंक मात्र आवश्यक छ।
आज भारतका लागि सेमिफाइनल प्रवेश गर्ने सुनौलो मौका हो। ७ खेलबाट ११ अंक बटुलेको भारतलाई विश्व कपमा बंगलादेशले एक पल्ट पराजित गरेको छ। यी दुईबीच विश्व कपमा ३ खेल भएका छन्, जसमा भारतले २ मा विजयी भएको थियो। बंगलादेशले सन् २००७ मा भारतलाई ५ विकेटले पराजित गरेको थियो।
बंगलादेशका लागि १२ वर्षपछि भारतलाई पराजित गर्ने मौका पनि जुरेको छ। तर, यसका लागि बंगलादेशले बलियो भारतीय ब्याटिङ लाइन–अपलाई दबावमा राख्नु पर्नेछ। यस्तै, मोहम्मद सामी र बुमराहको तीब्र बलिङको धारलाई निस्तेज पार्ने दबाव पनि बंगाली ब्याट्सम्यानको काँधमा हुनेछ।
भारत र बंगलादेशले हालसम्म ३५ वटा एकदिवसीय खेलेका छन्। जसमा भारत २९ जित र बंगलादेशले ५ जित सम्भव पारेको छ। बंगलादेशले पछिल्लो पल्ट २०१५ मा भारतलाई पराजित गरेको थियो। त्यसयता ४ वटा खेलमा बंगलादेश पराजित भइसकेको छ।
भारतीय टोलीमा कप्तान विराट कोहली र उपकप्तान शर्मा उत्कृष्ट फर्ममा छन्। विराटले ६ इनिङमा ५ वटा अर्धसतकको सहयोगले ३ सय ८२ रन बनाएका छन्। यस्तै, शर्माले ३ सतकको सहयोगले ४ सय ४० रन बनाएका छन्।
भारतीय बलरमा सामीले ३ खेलमा १३ विकेट लिएर सनसनी मच्चाएका छन्, जसमा अफगानिस्तानविरूद्ध अन्तिम ओभरमा लिएको ह्याट्रिक पनि समावेश छ। बुमराहले ५ इनिङमा १० विकेट लिएका छन्।
भारतका यी दुई बलरको अगाडि सकिबको अग्नि परीक्षा पनि हुनेछ। जारी विश्व कपमा सकिबले उत्कृष्ट ब्याटिङ गर्दै ४ सय ७६ रन बनाएका छन्। जसमा दुई सतक समावेश छ। उनले १० विकेट पनि लिएका छन्।
आजको खेलमा बंगलादेशले मुसफिकुर रहीमबाट पनि धेरै आशा राखेको छ। मुसफिकुरले एक सतक र दुई वटा अर्धसतकको सहयोगले ३ सय २७ रन बनाएका छन्।
बंगलादेशले ७ खेलमा ७ अंक बटुलेको छ। भारतलाई पराजित गरेको खण्डमा बंगलादेशको सेमिफाइनल पुग्ने सम्भावना जीवित रहने छ। हारेको खण्डमा अन्तिम खेल खेल्न बाँकी रहँदै प्रतियोगिताबाट बाहिरिने छ।