अफगानिस्तानका विकेटकिपर ब्याट्सम्यान इक्राम अली खीलले भारतीय क्रिकेटका महान ब्याट्सम्यान सचिन तेन्दुलकरको एउटा कीर्तिमान भंग गरेका छन्।
उनले वेष्ट इन्डिजविरूद्ध अन्तिम खेलमा ८६ रन बनाए। उनी विश्व कप क्रिकेटमा कान्छो उमेरमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान बन्न पुगेका छन्। यसअघि यो कीर्तिमान तेन्दुलकरको नाममा थियो।
सन् १९९२ को विश्व कपमा १८ वर्ष ३ सय २३ दिनमा सचिनले न्युजिल्यान्डविरूद्ध सर्वाधिक ८४ रन बनाएका थिए।
इक्रामले १८ वर्ष २ सय ७८ दिनमा ८६ रन बनाएका हुन्। उनी मोहम्मद शहजाद घाइते भएपछि टिममा स्थान बनाएका हुन्। उनी बंगलादेशका विकेटकिपर ब्याट्सम्यान मुसफिकुर रहिमको कीर्तिमान पनि भंग गर्न सफल भएका छन्। रहिमले विकेटकिपर ब्याट्सम्यानको रुपमा सन् २००७ मा १९ वर्ष २ सय ४६ दिनमा अर्धसतक पुरा गरेका थिए।