इंग्ल्यान्डको २७ वर्षपछि विश्व कपको फाइनल पुग्ने सपना, अस्ट्रेलियाको विगत बलियो

Agency

विश्व कपको अर्को रोमाञ्चक सेमिफाइनल विहिबार बर्मिङ्घमको एजबेस्टन मैदानमा नेपाली समयअनुसार ३ बजेर १५ मिनेटमा हुँदैछ। डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया र आयोजक इंग्ल्यान्डबीच हुने यो खेललाई विश्व विजेताको रुपमा पनि हेरिएको छ।

बर्षाबाट प्रभावित पहिलो सेमिफाइनलमा न्युजिल्यान्डले विश्व कपको दाबेदार मानिएको भारतलाई १८ रनले पराजित गरिसकेको अवस्थामा आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण मानिन्छ।

आज अस्ट्रेलियाले आयोजक इंग्ल्यान्डलाई पराजित गरेको खण्डमा यस पालिको विश्व कपको फाइनल अघिल्लो संस्करणको निरन्तरता हुनेछ। सन् २०१५ को विश्व कपमा पनि अस्ट्रेलिया र न्युजिल्यान्ड नै फाइनल पुगेका थिए।

अस्ट्रेलिया आठौंपल्ट विश्व कपको सेमिफाइनल खेल्दैछ। यसअघि सेमिफाइनल पुगेको कंगारु टोली कुनै पनि खेलमा हारेका छैन। त्यसैले अस्ट्रेलियाको पक्ष बलियो मानिएको छ।

इंग्ल्यान्ड छैटौंपल्ट विश्व कपको सेमिफाइनल पुगेको हो। इंग्ल्यान्ड ३ पल्ट फाइनल पुग्न सफल भएको थियो भने २ पल्ट पराजित भएको थियो।

इंग्ल्यान्ड पछिल्लोपल्ट सन् १९९२ मा फाइनल पुगेको थियो। तर, फाइनलमा पाकिस्तानसँग पराजित भयो। आज जित्ने टिमले १४ जुलाईमा फाइनल खेल्नेछ।

समूह चरणको खेलमा अस्ट्रेलियाले ६४ रनले इंग्ल्यान्डलाई पराजित गरेको थियो। अस्ट्रेलिया र इंग्ल्यान्ड ४४ वर्षपछि सेमिफाइनलमा भिड्न लागेका हुन्। सन् १९७५ को विश्व कपमा कंगारुले ४ विकेटले इंग्लिस टोलीलाई पराजित गरेको थियो।

अस्ट्रेलिया १९९२ देखि विश्व कपमा इंग्ल्यान्डसँग पराजित भएको छैन। १९९२ मा सिड्नी मैदानमा इंग्ल्यान्ड ८ विकेटले विजयी भएको थियो। यसपछि कंगारुले ४ पल्ट विश्व कपमा पराजित गरिसकेको छ।

इंग्ल्यान्ड र अस्ट्रेलियाले हालसम्म १ सय ४८ एकदिवसीय खेलेका छन्, जसमा कंगारु ८२ र इंग्लिस टोली ६१ खेलमा विजयी भएको छ।

विश्व कपमा भएको ८ खेलमध्ये ६ मा अस्ट्रेलिया र इंग्ल्यान्ड २ मा विजयी भएको छ।

आजको खेलमा पनि बर्षा हुने सम्भावना प्रबल छ। त्यसैले टस जित्ने टिमले ब्याटिङ रोज्ने सम्भावनालाई टार्न सकिन्न।

अस्ट्रेलियाका प्रारम्भिक ब्याट्सम्यान डेभिड वार्नर उत्कृष्ट फर्ममा छन्। उनले ९ खेलमा ८१ को औसतले ६ सय ३८ रन बनाएका छन्। उनले ३ सतक र ३ अर्धसतक बनाइसकेका छन्। समूह चरणको खेलमा उनले इंग्लिस टोलीविरूद्ध ५३ रन बनाएका थिए।

आज इंग्लिस बलरको सबैभन्दा ठूलो निशानामा उनी नै हुने पक्का छ। अस्ट्रेलियाका प्रभावशाली बलर मिशेल स्टार्कको प्रदर्शनले पनि आजको खेलमा धेरै कुरा तय हुनेछ। पछिल्लो विश्व कपमा ‘म्यान अफ दि सिरिज’ घोषित भएका स्टार्कले ९ खेलमा २६ विकेट लिइसकेका छन्।

उनले दुई पल्ट पाँच विकेट र दुई पल्ट चार विकेट लिएका छन्। इंग्ल्यान्डविरूद्ध अघिल्लो खेलमा उनले ४ विकेट लिएका थिए।

प्रारम्भिक ब्याट्सम्यान जेसन रोय चोटबाट फर्किएपछि इंग्ल्यान्ड घातक बनेको छ। रोयले चोटबाट फर्किएपछि भारतलाई पराजित गरेको खेलमा ६६ र न्युजिल्यान्डविरूद्ध ६० रन बनाएका थिए। रोयले ५ खेलमा ३ सय ४१ रन बनाएका छन्।

इंग्ल्यान्डलाई २७ वर्षपछि फाइनलमा पुग्न उनको प्रदर्शन महत्वपूर्ण रहनेछ। इंग्ल्यान्डको जितमा महत्वपूर्ण भूमिका निर्वाह गर्दे आएका युवा बलर जोफ्रा आर्चरबाट पनि ठूलो आशा राखिएको छ। उनले विश्व कपमा १७ विकेट लिइसकेका छन्।


प्रकाशित मिति: : 2019-07-11 13:39:01

प्रतिकृया दिनुहोस्