विश्व विजेता अस्ट्रेलियाले जारी विश्व कपको सबैभन्दा निरासाजनक प्रदर्शन गरेको छ। आयोजक इंग्ल्यान्डविरूद्ध विहिबार भएको दोस्रो सेमिफाइनलमा टस जितेर पहिलो ब्याटिङ गरेको डिफेन्डिङ च्याम्पियन ४९ ओभरमा २ सय २३ रनमा खुम्चिएको छ।
इंग्ल्यान्डलाई जितका लागि २ सय २४ रन आवश्यक पर्नेछ। अस्ट्रेलियाको सुरुवात खराब रहयो, जब प्रारम्भिक ब्याट्सम्यानद्धय डेभिड वार्नर र कप्तान आरोन फिन्च चाँडै पवेलियन फर्किए।
कंगारुले १४ रन बनाउँदा ३ विकेट गुमाएको थियो। फिन्च युवा बलर जोफ्रा आर्चरको पहिलो बलमै एलबिडब्लुको धरापमा परे। वार्नर पनि क्रिस ओक्सको बलमा आउट भए। चौथो विकेटका लागि स्टिभन स्मिथ र एलेक्स करीबीच १ सय ३ रनको साझेदारी नभएको भए अस्ट्रेलिया झन ठूलो दबावमा पर्ने थियो। स्मिथ ८५ रन बनाउँदै रन आउट भए। उनी कंगारु टोलीबाट अर्धसतक पुरा गर्ने एक्लो ब्याट्सम्यान बने। करी ४६ रनमा आउट भए।
ग्लेन मेक्सवेलले तल्लो क्रममा २२ र मिशेल स्टार्कले २९ रन बनाएपछि अस्ट्रेलियाको दुई सय रन पुरा भएको थियो।
इंग्ल्यान्डका लागि ओक्सले ३ र आर्चरले २ विकेट लिए। स्पिनर आदिल रसिद आज चम्किँए। उनले पनि ३ विकेट लिए। अर्को विकेट मार्क उडले लिए।