पर्सा र बारामा ५० प्रतिशत मत खस्याे

बिएल

पर्साको सखुवाप्रसौनी गाँउपालिका वडा नं. ५ को वडा अध्यक्ष पदकालागी मतदान भइरहेको छ। सखुवाप्रसौनिमा अध्यक्षका लागि नेपाली कांग्रेसबाट असेश्वर प्रसाद यादव, समाजवादी पार्टीबाट रुपलाल प्रसाद यादव, नेकपाबाट उदयशंकर रौनियार, र स्वतन्त्रबाट गोपाल प्रसाद साह चुनावी प्रतिष्पर्धामा छन्। 

बिहान ७ बजे देखि सूरु मतदान बेलुकी ५ जबे सम्म चल्ने मतदान शान्तिपुर्ण तरीकाले भईरहेको मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलले जानकारी दिएका छन्। कुल मतदाता संख्या २६ सय ८ रहेको सो वडामा अहिलेसम्म ५० प्रतिशत जत्ति मतदान भईसकेको निर्वाचन अधिकृत खरेलले जानकारी दिए। तत्कालिन वडा अध्यक्ष वृज मोहन यादवको निधन भएपछी वडा नं. ५ मा वडाध्यक्ष पदको लागि मतदान भइरहेको हो।

उता बाराको बारागढी गाउँपालिका वडा नम्बर एकमा पनि उपनिर्वाचन भैरहेको छ। तत्कालिन वडा अध्यक्ष नन्दलाल राय थारुको गत २०७५ मंसीर १४ गते निधन भएपछि वडाध्यक्षको पदको लागि मतदान भइरहेको हो।

बारागढी १ मा जम्मा २ हजार तिन सय ६६ मतदाता रहेका छन्। जसमध्ये ४५ प्रतिशत मतदान अहिलेसम्म शान्तिपुर्ण रुपमा भईसकेको बाराका प्रमुख जिल्ला अधिकारी फडिन्द्र मणी पोख्रेलले जानकारी दिएका छन्। उपनिर्वाचन हुने क्षेत्रका मतदाताहरुले सरकारी कार्यालयबाट जारी भएका आफ्नो परिचय झल्कने फोटो सहितको कुनैपनि परिचयपत्र देखाएर मतदान गर्न पाउने आयोगले जनाएको छ।

पर्सा र बारा लगायत ३७ जिल्लामा बिभिन्न ५२ पदका लागी आज उपनिर्वाचन भइरहेको छ। प्रतिनिधि सभा सदस्यका लागि १ जना, प्रदेश सभा सदस्यतर्फ ३ जना, उपमहानगरपालिका प्रमुख १ जना, गाउँपालिका अध्यक्षका लागि ३ जना, गाउँपालिका उपाध्यक्षका लागि १ जना र स्थानीय तह सदस्य तर्फ ४३ गरी कुल ५२ रिक्त पदमा उपनिर्वाचन हुदैछ।

उपनिर्वाचनमा २ लाख ३३ हजार ४ सय २ महिला, २ लाख २० हजार ७ सय १० पुरुष र अन्य २ गरी जम्मा ४ लाख ५४ हजार १ सय १४ जना मतदाताले मतदान गर्ने छन्।

प्रकाशित मिति: : 2019-11-30 14:03:06

प्रतिकृया दिनुहोस्