दाङको एउटा मतदान केन्द्रमा सबै महिला कर्मचारी

फाइल तस्बिर: बिएल

जिल्ला निर्वाचन कार्यालय दाङको एउटा मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटाएको छ। स्थानीय निर्वाचनअन्तर्गत घोराहीको बाहुनडाँडा केन्द्रमा महिला कर्मचारीमात्र खटाइएको हो।

यस केन्द्रमा मुख्य निर्वाचनको कार्यालयले खटाएका ७२ महिला कर्मचारीले अहिले शान्तिपूर्ण तरिकाले मतदानको व्यवस्था गरिरहेको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए। निर्वाचनलाई नमूना बनाउनका लागि र महिलालाई विश्वास गरेर एउटा निर्वाचनमा महिला कर्मचारी मात्र खटाइएको उनले बताए।

मतगणनाको लागि पनि सम्पूर्ण तयारी पूरा गरिसकेको हुँदा दलसँगको सहमतिमा दाङ देउखुरी जिल्ला अदालतको कार्यालयमा आज बेलुकाबाटै मतगणना गरिने मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए। घोराही उपमहानगरपालिका–१६ को मतदान निर्वाचन कार्यालयको नजिक भएको हुदा पनि छिट्टै मतगणनाको लागि कुनै समस्या नभएको उनको भनाइ थियो।

“राजनीतिक दलका बीच दलीय सहमति भए घोराही–१६ को उपनिर्वाचनको मतगणना आजबाटै सुरु हुन्छ”, उनले भने, “तत्काल गणना शुरु गर्दा प्रक्रिया सहज हुने र भोलिपल्ट गर्दा झन्झटिलो हुने हुँदा दलहरुको सहमतिमा आजबाटै मतगणना शुरु गर्ने तयारीमा रहेका छौं।” घोराही उपमहानगरपालिका–१६ सदरमुकाम नजिकै भएकाले मतपेटिका समयमै सङ्कलन हुने हुँदा तत्काल गणना सम्भव भएको निर्वाचन अधिकृतले बताए।

प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालका अनुसार घोराही उपमहानगरपालिका–१६ को मतगणना दाङ देउखुरी जिल्ला अदालतको परिसरभित्र गरिने व्यवस्था मिलाइएको छ। त्यस्तै प्रतिनिधिसभा क्षेत्र नं ३ (ख) को मतगणना भने आइतबार बिहानदेखि गरिने भएको छ। उक्त क्षेत्रका केही मतदानस्थल विकट क्षेत्रमा रहेका कारण मतपत्र ल्याउन समय लाग्ने भएकाले प्रदेशसभाको मतगणना आइतबार गर्ने व्यवस्था मिलाइएको रिजालले बताए। प्रदेशसभाको मतगणना जिल्ला समन्वय समितिको सभाहलमा गरिने भएको छ।

उपनिर्वाचन २०७६ अन्तर्गत दाङमा दुई स्थानमा हुने उपनिर्वाचनका लागि ३४ स्थानमा मतदानको काम भइरहेको छ। मुख्य निर्वाचन अधिकृतका अनुसार अहिले क्षेत्र नं ३ (ख) को प्रदेशसभा सदस्य पदका लागि र घोराही–१६ को वडाध्यक्ष पदका लागि ३४ मतदान स्थलबाट मतदान भइरहेको छ। निर्वाचनमा ३३८ पुरुष र ७२ महिला गरी ४१० कर्मचारी खटिएका छन् भने थप ३२६ जना स्वयम्सेवक परिचालित छन्।

प्रकाशित मिति: : 2019-11-30 14:40:39

प्रतिकृया दिनुहोस्