अष्ट्रेलियाको चुनावमा सत्तारूढ दलबाट नेपाली मुलका युवा उम्मेद्वार

नेपाली युवा पी जे श्रेष्ठ पूर्व प्रधानमन्त्री माल्कमसँग । तस्वीर सौजन्य: पी जे श्रेष्ठ

आगामी मे १८ मा हुन लागेको अष्ट्रेलियाको संसदीय चुनावमा नेपाली युवा पी जे श्रेष्ठ पनि उम्मेद्वार हुने भएका छन्। उनलाई सत्तारूढ लिबरल पार्टीले संघीय संसदका लागि बर्तुन क्षेत्रबाट उम्मेद्वार बनाएको हो।

नेपालीको उल्लेख्य बसोबास रहेको बर्तुन प्रतिपक्षी लेबर पार्टीको बर्चश्व रहेको संसदीय निर्वाचन क्षेत्र हो।यस क्षेत्रबाट लेबर पार्टीकी नेतृ लिण्डा बर्नी प्रतिनिधित्व गर्छिन् । उनी अष्ट्रेलियाको संसदमा प्रतिनिधित्व गर्ने एक मात्र आदिबासी महिला नेतृ हुन्।

१९ वर्षअघि सात वर्षको उमेरमा आफ्ना बाबुआमासँग उनी अष्ट्रेलिया आएका  हुन्। उनी नवलपरासीका कहलिएका कृषिउद्यमी मेघराज श्रेष्ठका छोरा हुन्। उनको अष्ट्रेलियामा पनि कृषि तथा आप्रवासन परामर्शसँग सम्बन्धित व्यवसाय छ।

अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटीमा अध्ययन गरेका श्रेष्ठले सन् २०१६ को मिस्टर नेपाल ओसियाना टाइटल जितेका थिए । उनी केही वर्षयता लिबरल राजनीतिमा सक्रिय रहदै आएका थिए। उनी अष्ट्रेलियामा विद्यार्थीलाई यातायात भाडा छुट गराउँने अभियानमा पनि सक्रिय थिए। 

ब्रेक एन लिंक्ससँग कुरा गर्दै उनले भने- 'साउथ वेल्स राज्यका एक जिम्मेवार लिबरल नेताले बर्तुनबाट आफूलाई उम्मेद्वार बनाएको जानकारी दिएका हुन्। यसबाट खुशी भएको बताउँदै उनले अगाडि भने- ' म केही वर्षयता लिवरल राजनीतिलाई नजिकबाट हेरिरहेको थिएँ, त्यसैको प्रतिफल हो यो उम्मेद्वारी।'

आफ्नो उम्मेद्वारी अष्ट्रेलियामा रहेका नेपाली मुलका सबैका लागि गौरवको विषय भएको बताउँदै श्रेष्ठले भने- नेपालीका लागि पार्टीभन्दा पनि आफ्नो ओरिजिनको भावना मूख्य कुरा हो। जुनसुकै पार्टीका समर्थक भए पनि नेपालीका लागि दिलोज्यान दिएर काम गर्नेछु।'

उम्मेद्वारी पाउँनु नै ठुलो उपलव्धी भएको बताउँदै उनले अगाडि भने- 'चुनाव जित्नका लागि निक्कै मेहनेनत गर्नुपर्ने हुन्छ। त्यसका लागि म तयार छु।'

उनले आफू उम्मेद्वारभन्दा पनि सबै नेपाली उम्मेद्वार भएको महसुस गरेको बताए र भने सबैबाट सहयोग, साथ र सद्भावको अपेक्षा गरेको छु ।

प्रकाशित मिति: : 2019-04-12 05:42:29

प्रतिकृया दिनुहोस्