एनआरएन अमेरिकाको कन्फ्रेन्स कल बैठकमा तनाव: जोशी र संस्थापन पक्ष आम्नेसाम्ने

एनआरएनए अमेरिकाको पछिल्लो कन्फरेन्स कल बैठक तनावपूर्ण भएर बिना निष्कर्ष सकिएको छ। संघकी पूर्वउपाध्यक्ष रविना थापा र उनका श्रीमान् नारायण थापाले निर्वाचन स्थगितलगायतका माग राखी टेनेसी कोर्टमा मुद्दा दायर गरेपछि बिकसित परिस्थितमा कसरी अगाडि बढ्ने सम्बन्धमा छलफलका लागि बैठक डाकिएको थियो। 

बैठकमा सहभागी एक पदाधिकारीले ब्रेक एन लिंक्ससँग कुरा गर्दै भने- ' बैठकमा एनआरएन अमेरिकाको समस्या समाधानका लागि आईसीसीका तर्फबाट बेद बस्न्यात र बन्दना कोइरालालाई प्रतिनिधि पठाएकोमा रूष्ट रहेको संस्थापन पक्षले त्यसमा आपत्ति जनाएपछि उत्तरअमेरिका क्षेत्रका संयोजक गौरी जोशीले यस्तै रबैया रहने हो भने एनआरएन अमेरिकाकै आइसीसीसँगको सम्बन्धन खारेज हुन सक्ने बताएका थिए।'

जोशीको यो भनाइबाट बिच्केका संस्थापन पक्षका महासचिव तथा उपाध्यक्षका उम्मेद्वार बीआर लामाले यसलाई गैरजिम्मेवार अभिव्यक्ति भनेका थिए।उनको भनाइमा प्रवक्ता विनोदकुमार तिवारी पनि धुर पसेका थिए।उनीहरूको तर्क थियो- 'थुप्रै एनसीसीमा यस्ता विवाद छन्। समस्या मिदाउँदै जानुपर्छ। समस्या आयो भन्दैमा यसरी सम्बन्धन नै तोड्दै जाने हो भने एनसीसी नै हुदैन। अनि एनसस्सी विना आइसीसी कसरी हुन्छ ?'

त्यसको जवाफमा जोशीले नेतृत्वमा बसेको पक्ष जिम्मेवार हुनुपर्यो, उदार हुनुपर्यो सबैको चित्त बुझाउने कोशिष गर्नुपर्यो भन्दै उनले अगाडि भनेका थिए- 'यदि त्यसो नगर्ने हो भने को संस्थामा बस्छ र ?'

विधानमाथि नै बाराम्बार प्रश्न उठाएर अदालत जाने परिस्थिति कहिलेसम्म रहन दिने भन्दै जोशीले मेरो दायित्व विवादरहित बनाउने, सबैलाई समेटेर लैजाने हो भनेका थिए।

संस्थापन पक्षका लामा र तिवारीले भने हिजो संस्थापन पक्षबाटै चुनाव जितेका जोशीले त्यसो भन्न नमिल्ने तर्क गरेका थिए। 

प्रकाशित मिति: : 2019-05-04 07:51:47

प्रतिकृया दिनुहोस्