अन्तत: एनआरएन अमेरिकाको चुनाव मे १८ र १९ मै हुने निश्चित

अन्तत: एनआरएन अमेरिकामा नयाँ नेतृत्व चयनका लागि पूर्वनिर्धारित चुनावी कार्यतालिकाअनुसार मे १८ र १९ मै अनलाइन मतदान हुने भएको छ।एनआरएन आईसीसीले गठन गरेको पाँच सदस्यीय भेरिफिकेसन समितिले चुनावलाई हरियो झण्डा देखाएपछि चुनाव नहुने आशंका निवारण भएको हो ।

इलेक्ट्रोनिक मतदानका लागि निर्वाचन समितिले अमेरिकी पूर्वी समयअनुसार शनिबार विहान ८ वजे देखि आइतवार राति ११ वजेर ५९ मिनेटसम्म समय तोकेको छ। मतदान प्रयोजनका लागि सदस्यहरूको इमेलमा लिंक उपलव्ध गराइसकिएको निर्वाचन समितिका एक सदस्यले ब्रेक एन लिंक्सलाई बताएका छन्। 

यसअघि डलासमा भेरिफिकेसन समितिले आफ्नो प्रतिवेदन सार्वजनिक गरेको थियो। प्रतिवेदनमा सदस्यता छानविन समितिले निर्वाचन समितिलाई उपलब्ध गराएको डाटामा फरक नरहेको र गलत प्रक्रियावाट सदस्यता नवनाइएको छानविनका क्रममा देखिएको उल्लेख गरिएको छ।

यसैगरी प्रतिवेदनमा आठ हजार आठ सय ३६ जना सदस्य मतदानका लागि योग्य रहेको र त्यो तथ्याकंमा कुनैं फरक नरहेको पनि उल्लेख गरिएको छ ।कुल सदस्यमध्ये दुई हजार ९३ सदस्य चाँहि कसले प्रमाणित गरेको नखुलेको जनाइएको छ। यो तथ्यांकले भने एनआरएन अमेरिकाको सदस्यतामा अझै पनि केही खेल छ भन्ने पक्षलाई ठाउँ दिएको छ। 

भेरिफिकेसन समितिमा आइसिसीको तर्फवाट विनय अर्याल, एनआरएनए अमेरिकाको तर्फवाट पदम भण्डारी, अध्यक्ष प्रत्यासी सुनील साहको तर्फवाट ओम भट्टराई, सूर्य लम्सालको तर्फवाट दिनेश शर्मा र संजय थापाको तर्फवाट विजय भट्टराई रहेका थिए। समितिको संयोजन विनय अर्यालले गरेका थिए।प्रतिवेदन एनआरएन आइसीसी उत्तर अमेरिका संयोजक गौरीराज जोशीलाई हस्तान्तरण गरिएको थियो।

प्रतिवेदन बुझ्दै क्षेत्रीय संयोजक जाेशीले आइसीसीले बनाएको समितिले त्यस्तो शंकास्पद गतिविधि नभेटेकाले अब चुनावको बिकल्प नभएको बताउँदै त्यसका लागि सबैलाई तयार हुन आग्रह गरेका थिए।चुनावलाई निस्पक्ष, प्रभावकारी र सहभागितामुलक बनाउँन सबैं सरोकारवालासँग छलफल गर्ने पनि उनले बताए। 

 

प्रकाशित मिति: : 2019-05-18 13:38:37

प्रतिकृया दिनुहोस्