अमेरिकी राष्ट्रपति ट्रम्पविरूद्ध अदालतको ३८औं आदेश: पर्खाल बनाउने बजेट नै रोक्का

राष्ट्रपति ट्रम्प: अदालतले नै दिदैन, म के गरौ? तस्बिर: एपी

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका नीतिगत योजनामाथि एकपछि अर्को गरेर अदालतले छेकबार लगाइरहेको छ। राष्ट्रपति भएयता उनले अगाडि सारेका नीतिगत निर्णयविरूद्ध ३८ वटा अदालती आदेश जारी भैसकेका छन्। अधिकांश आदेश आप्रवासी नीति, करदाखिला, सम्पति विवरणलगायतका विषयमा आएका छन्। 

पछिल्लो पटक अमेरिकाको क्यालिफोर्नियाका संघीय न्यायाधीश हेवुड गिलियामले मेक्सिको सीमामा पर्खालका लागि छुट्याइएको एक अर्ब डलरको कोष नै रोक्का गरिदिएका छन्। उनले सेनाको खाताबाट प्रयोग गर्न लागिएको रकम संसदको अनुमति लिएर मात्र खर्च गर्नु भनेर रोकिदिएका हुन्। 

डेमोक्रेट्सको बहुमत रहेको संसदको तल्लो सदन हाउनस अफ रिप्रेजेन्टेटिभ्स सुरूदेखि नै पर्खाल लगाउने कुराको विपक्षमा उभिदै आएको छ।संसदले नमानेपछि राष्ट्रपति ट्रम्पले भिटो प्रयोग गर्दै संकटकाल लगाएर यो कोष प्रयोग गर्ने योजना बनाएका थिए। अदालतको यो निर्णयले डेमोक्रेटसको हात माथि परेको छ। 

यो निर्णयसँगै मेक्सिको सिमानामा पर्खाल निर्माण शुरू गर्ने भनिएको तालिका प्रभावित भएको छ। 

प्रकाशित मिति: : 2019-05-27 06:32:26

प्रतिकृया दिनुहोस्