व्यक्तिवृत्त

यसकारण सम्झिइनेछन् उज्ज्वल 

हिमाल खबर

मस्त केसी

रचनात्मक र शालीन तरिकाले आम मानिसको आवाज मुखरित गर्ने उज्ज्वल थापा वैकल्पिक राजनीतिको अभियान शुरू गर्ने आशलाग्दो युवाका रूपमा स्मृतिमा बसिरहनेछन्। 

१८ जेठको अपराह्‍न विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन भयो। कोभिड–१९ को संक्रमण भएर उपचार गराइरहेको समयमा उनलाई देश–विदेशबाट लाखौंले स्वास्थ्य लाभको कामना गरे। राजनीतिभन्दा बाहिरका असंख्य मानिसको शुभेच्छासँगै उनीप्रति विभिन्न राजनीतिक दलका नेताहरूले पनि असीम सद्‌भाव प्रकट गरे।

ईसीएमओ (एक्स्ट्राकर्पोरियल मेम्ब्रेन अक्सिजेनेसन) प्रविधिबाट उपचार गर्नुपर्ने भएपछि थापाको परिवारले आर्थिक सहयोगको अपील गर्‍यो। अपील भएको २४ घण्टामै उनको उपचारका लागि देश–विदेशबाट ५० लाख जम्मा भयो। कुनै नेताको ज्यान बचाउन जनता उर्लिएको सम्भवतः यो पहिलो पटक हो। 

उसो त, थापा ठूलो राजनीतिक पार्टीका नेता थिएनन्। सार्वजनिक रूपमा छाइरहने व्यक्ति पनि होइनन्। सत्ता र शक्तिमा पुगेर जनताका आवाज सम्बोधन गरेर लोकप्रिय भएका पनि होइनन्। २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका उनले जमानत समेत जोगाउन सकेका थिएनन्। तर, उनी अस्पतालमा रहँदा आएको शुभेच्छा र निधनपछि आएका श्रद्धाञ्जलीका शब्दले समाज परिवर्तनको दिशामा थापाको इमानदार प्रयत्नप्रतिको सम्मान देखाएको छ।

प्राध्यापक चैतन्य मिश्र थापाको व्यक्तिगत गुण र सामाजिक कार्यले उनीप्रति सद्‌भाव बढाएको बताउँछन्। “राजनीतिक विचार बोकेको सरल व्यक्तिका रूपमा आमनागरिकले चिने,” मिश्र भन्छन्, “सिद्धान्त र व्यवहारको तालमेल नहुने समाजमा उनी फरक बनेर उदाए।” उनको पृष्ठभूमि, विचार र स्वच्छ व्यवहार नै सद्‌भाव जगाउने तत्व भएको मिश्रको बुझाइ छ। 

प्रकाशित मिति: : 2021-06-02 05:12:00

प्रतिकृया दिनुहोस्