लाप्राक बस्ती हस्तान्तरणको अन्तिम तयारीः उपाध्यक्ष पन्त

एनआरएन उपाध्यक्ष पन्तले टेक्सासमा आयोजित कार्यक्रममा बोल्दै। तस्बिरः बिएल

गैरआवासीय नेपाली संघले गोरखाको लाप्राकमा भूकम्प प्रभावितका लागि निर्माण गरेको ५ सय ७३ घर स्थानीयलाई हस्तान्तरणको अन्तिम तयारी गरिरहेको  उपाध्यक्ष कुमार पन्तले जानकारी दिए।

अमेरिका भ्रमणका रहेका एनआरएन उपाध्यक्ष पन्तले टेक्सासमा आयोजित कार्यक्रममा बोल्दै एक महिनाभित्रमा लाप्राक बस्ती स्थानीयलाई हस्तान्तरण गर्ने तयारी भइरहेको बताउँदै यो उपलब्धि एनआरएनको प्रमुख उपलब्धि भएको उल्लेख गरे।

उनले बस्तीसँगै शंखमुल पार्क निर्माण पनि अन्तिम चरणमा पुगेको बताए। एनआरएनका महत्पूर्ण योजनामा १० अर्बको म्यूचअल फण्ड निर्माण गर्ने कार्यको लागि कानुन निर्माण भइरहेको भन्दै त्यसबाट मातृभूमिको विकासमा टेवा पुग्ने दाबी गरे।

एनआरएन अमेरिकाद्धारा आयोजित कार्यक्रममा गैरआवासीय नेपाली संघले मुलुकका लागि गरिएका महत्वपूर्ण आयोजनाका बारेमा चर्चा गर्दै समृद्ध मातृभूमिका लागि सबैले आ-आफ्नो स्थानबाट सक्दो सहभागी हुन आव्हान गरे।

एनआरएनमा अमेरिकाको उल्लेख्य भूमिका हुने बताउँदै उनले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै संस्थाको मूल्य मान्यता अनुसार काम गर्न निर्देशन दिए।

एनआरएनले आफ्नो उद्धेश्य अनुसार गैरआवासीय नेपाली नागरिकता निश्चित भएकोले त्यसलाई उपलब्धिका रुपमा लिनुपर्ने बताए। ‌उनले पछिल्लो पटक शुरू भएको विज्ञ सम्मेलनले मातृभूमिका लागि ज्ञान, सीप हस्तान्तरणका लागि ठूलो टेवा पुग्नेमा विश्वास व्यक्त गरे।

सरकारसँगको सहकार्यमा एनआरएनले बृहत कार्यक्रमसहित नयाँ क्षेत्रहरुको खोजी भइरहेको पनि जानकारी गराए।

अध्यक्षका लागि चर्चामा रहेका उपाध्यक्ष पन्तले आगामी अक्टोबरमा हुने एनआरएनको निर्वाचनमा सहभागी हुन अमेरिकाबासी नेपालीलाई आव्हानसमेत गरे।

कार्यक्रममा एनआरएन अमेरिकाबाट निकै ठूलो ज्ञान सीप, आर्थिक सबै खालको योगदानमा उल्लेख्य भूमिकाको अपेक्षा गदै सदस्यता केन्द्रीकरण सिष्टम, विद्यार्थीलाई सदस्यता दिनुपर्नेलगायत विषयमा उपाध्यक्ष पन्तले स्पष्ट पारेका थिए।

कार्यक्रममा एनआरएन अमेरिकाका नवनिर्वाचित अध्यक्ष सुनिल शाह, एनआरएन आईसिसि सल्लाहकार हरिबोल भण्डारीलगायतले एनआरएन अमेरिकालगायत विविध विषयमा मन्तव्य व्यक्त गरेका थिए।  

प्रकाशित मिति: : 2019-05-28 12:09:14

प्रतिकृया दिनुहोस्