राष्ट्रपति ट्रम्पद्वारा मेक्सिकोबाट आयात हुने सामानमा जुन १० देखि कर लगाउने घोषणा

मेक्सिको सिमानामा राष्ट्रपति ट्रम्प । फाइल तस्बिर

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मेक्सिकोबाट आयात हुने सबै सामानमा आगामी जुन १० देखि पाँच प्रतिशत कर लगाउने घोषणा गरेका छन्।मेक्सिको सीमा क्षेत्रबाट गैरकानूनी आप्रवासीहरुको प्रवेश रोक्न मेक्सिकोले पहल नगरेको भन्दै उनले यस्तो आकस्मिक घोषणा गरेका हुन्। 

'इन्टरनेशनल इमर्जेन्सी इकोनमिक पावर एक्ट’ले दिएको अधिकार प्रयोग गर्दै यस्तो घोषणा गरिएको ह्वाइट हाउसद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।विज्ञप्तिमा मेक्सिकोले तत्काल मेक्सिको हुँदै अमेरिका प्रवेश गर्न खोज्ने गैरकानूनी आप्रवासीलाई नरोके जुलाई १ देखि  १० प्रतिशत, अगष्ट १ देखि १५ प्रतिशत, सेप्टेम्वर १ देखि २० प्रतिशत र अक्टुवर १ देखि २५ प्रतिशत कर लगाइने उल्लेख छ।तर, तत्काल सिमानामा रहेको आप्रवासी समस्याको समाधानतर्फ चित्तबुझ्दो कदम चालेमा घोषित कर हटाइने पनि राष्ट्रपतिको घोषणामा उल्लेख छ।

राष्ट्रपति ट्रम्पले मेक्सिकोमा रहेका अमेरिकी कम्पनीलाई पनि सचेत गराएका छन्। मेक्सिकोले सिमाना रहेका आप्रवासी समस्या समाधानमा ध्यान नदिए त्यहाँ रहेका अमेरिकी कम्पनीहरू फर्किनुपर्ने वा २५ प्रतिशतको अधिकतम करसहित उत्पादित सामान अमेरिका निर्यात गर्न तयार हुनुपर्ने छ। 

राष्ट्रपति ट्रम्पको यो पछिल्लो घोषणाले मेक्सिकोबाट आयात हुने तरकारी, फलफूललगायतका दैनिक उपभोग्य सामग्रीमा पर्ने छ। यसैगरी जनरल मोटर, फोर्डलगायका सवारी साधन र कोकाकोलालगाएतका ठूला अमेरिकी कम्पनीहरु प्रभावित हुनेछन्। 

प्रकाशित मिति: : 2019-06-01 04:08:31

प्रतिकृया दिनुहोस्