अमेरिका छिर्न चाहने एकलाख ३० हजार आप्रवासी मेक्सिको सिमानामा पक्राउ

जबर्जस्ती अमेरिका छिर्न चाहनेलाई पक्राउ गर्दै अमेरिकी सिमा रक्षकहरू । तस्बिर : युपीआई

मेक्सिको सिमाबाट जबर्जस्ती अमेरिका छिर्न चाहनेहरूको संख्याले मे महिनामा नयाँ कीर्तिमान बनाएको छ । छिर्न चाहनेमध्ये कति चोरीछिपी छिरे पनि । तर, पक्राउ पर्नेको संख्या नै  एक लाख ३० हजार पुगेको अमेरिकी भन्सार तथा सीमा सुरक्षा निकायले जनाएको छ । विगत १३ वर्षयता कायम भएको यो कीर्तिमानी आँकडा हो ।

पक्राउ परेकामध्ये परिवारसँगै अमेरिका प्रवेश गर्न चाहने ८४ हजार पाँचसय ४२, बालबालिका ११ हजार पाँचसय सात र एकल व्यक्ति ३६ हजार आठसय ३८ रहेका छन्। यसअघि अप्रिलमा ९९ हजार तीनसय चारजना पक्राउ परेका थिए। यी दुई तथ्यांकबीच तुलना गर्ने हो भने मे महिनामा पक्राउ पर्नेको संख्या ३४ प्रतिशतले बढेको छ । विगत १३ वर्षमा अमेरिका-मेक्सिको सीमामा एकै महिनामा अमेरिका छिर्न चाहने आप्रवासीलाई पक्राउ गरेको यो नै सबैभन्दा ठूलो संख्या बताइएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मेक्सिको सिमाबाट जबर्जस्ती प्रवेश गर्न चाहनेहरूलाई रोक्न अनेक प्रयत्न गरे पनि त्यसमा सफलता हात पारेका छैनन् । यसमा मेक्सिकोले सहयोग नगरेको भनेर उसमाथि दबाब बढाउन जुन १० देखि  लागू हुनेगरी मेक्सिकोबाट आयात हुने सामानमा ५ प्रतिशत करवृद्धि गर्ने द्दोषणा गरेका छन् । 

उता, मेक्सिकोले भने आफ्नो सिमाबाट अमेरिका प्रवेश गर्न चाहने आप्रवासी नियन्त्रणका लागि प्रयास जारी राखेको जनाएको छ। मेक्सिकोका विदेशमन्त्री मार्सेलो एब्रार्दले हजारौं मध्यअमेरिकीलाई उनीहरूकै देश फर्काएको बताएका छन् । 

प्रकाशित मिति: : 2019-06-07 06:46:06

प्रतिकृया दिनुहोस्