क्यानडामा नेपालीमूलका ‘नाइटिंगेल’ (भिडियो रिपोर्ट)

तस्बिरः बिएल

आधुनिक नर्सिङकी जन्मदाता– फ्लोरेन्स नाइटिंगेल।

उनको २०० औं जन्मजयन्ती अर्को बर्ष मनाईंदैछ। नाइटिंगेल सन् १८२० मा बेलायतको एक सभ्रान्त परिवारमा जन्मेकी थिइन्।

परिवार जसै उच्चवर्गीय, रहनसहन उसै रवाफयुक्त। ‘भुईंमान्छे’को सेवा गर्न घर छोड्नु नाइटिंगेलका लागि जति रहर थियो, ‘हुनेखाने’ परिवारलाई सम्झाई बुझाई गरेर बाटो लाग्नु उत्तिकै गाह्रो।

तैपनि, नाइटिंगेल रोकिइनन्। सेवाभाव रोकिएन। उनको हातबाट हजारौंको उपचार भयो। आधुनिक नर्सिङको सुरुवात भयो। दीनदुःखीको सेवामा जीवन बित्यो। चिकित्सा क्षेत्र उनकै पालादेखि सुध्रियो। 

नाइटिंगेलको उपचार सूत्र थियो– ‘दया र सेवा।’ अर्थात्, औषधिमूलोसँगै बिरामीप्रति दया र माया दुबै। उनको त्यो सूत्र पछ्याउँदै नर्सिङलाई पेशा बनाउने नेपाली महिला हजारौं छन्। कोही स्वदेशमा, कोही विदेशमा।

यहाँ उल्लेख दुई नेपाली नर्सको कथा कता–कता नाइटिंगेलसँग मिल्दो छ, जो हाल टोरन्टो बस्छन्। क्यानडाको ‘हाइ पेड’ जागिरमध्ये एक, ‘रजिष्टर्ड नर्स’का रुपमा कार्यरत उनीहरुको विगत भने संघर्षपूर्ण लाग्छ।

आँखामा सधैं सेतो कोट

 

बाग्लुङ बलेवाकी लक्ष्मी जिसी पढाईमा जति तेज थिइन्, लक्ष्य निर्धारणमा उत्तिकै स्पष्ट। स्थानीय जनता माविकी ‘फस्ट लेडी’। बुवा विश्वबहादुर ‘हेल्थ असिष्टेन्ट।’ उनका दुई छोरा दुई छोरीमध्ये लक्ष्मी कान्छी। साथीभाइमाझ यस्तो संवाद हुन्थ्यो,

ठूलो भएर के गर्ने– ‘बिरामीको उपचार।’ पछि के बन्ने– ‘नर्स।’ एसएलसीपछि के पढ्ने– ‘नर्सिङ।’

किशोरवस्थामै लक्ष्मीको नर्सिङ क्रेज यस्तो थियो, जसको आँखामा सेतो कोट पहिरिएर गलामा स्टेथेस्कोप भिरेको चित्र मात्र आउँथ्यो। २०५२ मा एसएलसी पास हुनासाथ उनी पोखरा गइन्, नर्सिङ क्याम्पस भर्ना भइन्। तीन बर्षमा स्टाफ नर्स सकिन्।

‘पढेर अझै माथि पुग्ने,’ घर सल्लाह भइरहँदा काठमाडौंस्थित आर्मी हस्पिटलमा स्टाफ नर्सको जागिर खुलेको खबर मिल्यो। परीक्षा दिइन्– लिखित मौखिक दुबै पास। सैनिक प्रहरी कोही नभएको परिवारकी छोरी आर्मी हस्पिटलमा। लक्ष्मीले त्यहाँ थोरै होइन, ९ वर्ष बिताइन्।

माओवादी द्वन्द्व उत्कर्षमा पुगेका बेला आर्मी हस्पिटलमै काम गरिरहिन्। कहिले हस्पिटल ल्याइएका घाइतेको उपचार गरिन्, कहिले आकस्मिक बाहिर गएर पनि। युद्धले दिने पीडा कस्तो हुन्छ, लक्ष्मीले बिरामीका शरीर लागेका घाउ चोटमा त्यो प्रत्यक्ष देखिन्।

नाइटिंगेलले सन् १८५५ देखि दुई बर्षसम्म ‘ब्ल्याक सी’ आसपास चलेको ‘क्रिमिया युद्ध’मा बिताएको समय स्वास्थ्यकर्मीका लागि प्रेरणादायी छ। लक्ष्मीलाई त्यसबेला नाइटिंगेलको जीवनी कति थाहा थियो उनै जानुन् तर द्वन्द्वकालमा उनले धेरै घाइते सैनिकको उपचारमा आफूलाई समर्पित गरिन्।

नेपालमा शान्ति प्रक्रिया सुरु हुँदै गर्दा लक्ष्मी ७ महिनालाई कंगो गइन्। त्यो युद्धग्रस्त भूमिमा उनले घाइते र बिरामीको उपचार गरिन्। त्यसक्रममा उनले पक्कै नाइटिंगेलको जीवनी सम्झिइन् होला, जसले उसैगरी युद्धपीडितको सेवा गरेकी थिइन्।

कंगोबाट फर्केर छाउनीमा सेवारत रहँदै उनले ललितपुर नर्सिङ क्याम्पसबाट ‘ब्याचलर नर्सिङ’ र  त्रिचन्द्र क्याम्पसबाट स्नातकोत्तर तह सकेकी थिइन्। त्यो पढाई परिवारको प्रेरणा र हौसलाले पूरा भएको थियो।

विवाहपछि सन् २०१० मा लक्ष्मी परिवारसहित टोरन्टो आइन्। नेपालमा नाम र सम्मान दुबै हुने ठाउँमा ९ बर्षे अनुभव थियो। शैक्षिक योग्यताका प्रमाण पत्र पनि उत्तिकै। तर, क्यानडामा भन्नेबित्तिकै ती देखाएर नर्सिङ काम मिल्दैनथ्यो।

त्यसवीच ‘सर्बाइभ जब’का रुपमा सेक्युरिटी गार्डदेखि कस्मटमर सर्भिसिङसम्मका काम गरिन्। नेपालका सबै प्रमाण पत्र प्रमाणित गरिसकेपछि अँग्रेजी भाषा परीक्षा दिएर ‘सिएनओ’ बाट २०१३ मा  ‘रजिष्टर्ड नर्स’को लाइसेन्स लिइन्।

‘सुरुमा गाह्रो थियो, चिनेको कोही थिएन, दैनिक डेढ/डेढ घण्टा बस चढेर काममा आउजाउ गर्नुपर्थ्यो’ लक्ष्मीले क्यानडाको सुरुवाती संघर्ष सम्झिइन्, ‘अहिले घरनजिकै काम छ, सबै कुराले सन्तुष्ट छु।’ उनी हाल टोरन्टोको ‘वेष्ट पार्क लङ् टर्म केयर सेन्टर’ मा कार्यरत छिन्।

‘यो सेतो कोट कहिलेसम्म ?’ लक्ष्मीलाई सोधियो।

‘नेपालमा रहर नपुग्दै विदेशियो, क्यानडामा भरखरै लगाईंदैछ, अब सायद बुढेशकालसम्मै।’

छोराकै लयमा युनिभर्सिटी

 

पर्वत कुश्माकी सुजाता गुरुङ अहिले परिवारसहित टोरन्टोको स्कारबरो बस्छिन्। सन् २०१५ देखि स्थायी रुपमा क्यानडा बसेकी उनले यहाँको सुरुवाती संघर्षबारे भनिन्, ‘छोरो युनिभर्सिटी जान्थ्यो, म चाहिँ उसकै पारामा कलेज, त्यत्तिकै अहिलेको जिम्मेवारी र सफलता मिलेको होइन।’

नर्सिङप्रतिको हुटहुटी नहुँदो हो त सायद सुजाता त्यसरी छोराको लयमा गृहकार्य गर्दै पाठ्यसामग्री बोकेर क्यानडामा कलेज धाउने थिइनन्। जो, महाराजगञ्जस्थित प्रहरी अस्पतालमा लामो समय गरिसकेकी स्टाफ नर्स हुन्।

कुश्माको पूर्णेश्वर माविबाट एसएलसी र पोखरा नर्सिङ क्याम्पसबाट नर्सिङ पढेकी हुन् उनले। प्राविधिक प्रहरीका रुपमा तीन महिने तालिम लिएर २०५१ सालमा महाराजगञ्ज अस्पताल छिरेकी उनी त्यहाँकी पेन्सनर हुन्।

प्रहरी अस्पतालमा कार्यरत रहँदै ललितपुर नर्सिङ क्याम्पसबाट बिएससी नर्सिङ र त्रिभुवन विश्वविद्यालयबाट स्वास्थ्यमा स्नातकोत्तर सकेकी थिइन् उनले।

‘बुवाको प्रेरणाले पढाईमा सधैं झक्झक्यायो, त्यसैले क्यानडा आएर पनि पढेरै नर्सिङमैं सफल भएँ’ सुजाताले सुनाइन्, ‘आ होस्, त्यत्तिका बर्ष काम गरेकै हो भनेर अल्छी गरेको भए घरमै हुन्थें, अहिले दैनिक धेरैको सेवा गर्न पाएकी छु।’

संयुक्त राष्ट्रसंघको मिसनमा सुडानको डाफर्र गएर बिरामीको सेवा गरेको अनुभव छ सुजातासँग। नाइटिंगेलपथ अर्थात् स्वास्थ्यकर्मीको भूमिका निर्वाह गर्दै त्यहाँ पुग्दा उनले युद्धबाट प्रभावित धेरै सुडानी जनताको घाउ चोटमा मल्हम लगाइन्।

त्यहाँ जानुअघि उनले आफ्नै मुलुकमा द्वन्द्वको दारुण दृश्य देखिसकेकी थिइन्। दशक लामो माओवादी द्वन्द्वमा प्रहरी अस्पतालमै रहेकी उनले जति युद्धको चोट सायद कमै स्वास्थ्यकर्मीले देखेको होला, किनकी देशभर हुने ठूला भिडन्तका घाइते प्रहरी ल्याइने अस्पताल त्यही हुन्थ्यो।

‘पेन्सनपछि क्यानडा आएर नर्सिङ लाइसेन्स लिन खोजें तर नेपालको अनुभव र योग्यताले मात्र नपुग्ने नियम आइसकेको रहेछ’ सुजाताले चार बर्षअघिको क्षण सुनाइन्, ‘पहिले पहिले उतैको अनुभव र योग्यताले पनि मिल्दोरहेछ, मेरो पालामा पढ्नैपर्ने भयो र छोराकै पारामा कलेज धाएँ।’

टोरन्टोको ‘योर्क युनिभर्सिटी’बाट पढाई पूरा गरेर उनले ‘सिएनओ’बाट ‘रजिष्टर्ड नर्स’ को लाइसेन्स लिइन्। अहिले टोरन्टोकै ‘चार्ट वेल लंग टर्म केयर सेन्टर’मा कार्यरत छिन्। बच्चा र बुढापाकाको ख्याल गर्नुपर्ने ठाउँ हो त्यो। जहाँ सुजाताको निगरानीमा चार वटा फ्लोरमा एक सयभन्दा बढी शैया छन्।

सन् २०१७ को तथ्यांकअनुसार, क्यानडामा कूल ४ लाख २५ हजार नर्स छन्। उनीहरुको औसत बार्षिक कमाई ५० देखि ८० हजार क्यानेडियन डलर छ।

र अन्त्यमा, नाइटिंगेलको जन्मदिन नै नर्सहरुको अन्तरार्ष्ट्रिय दिवस हुनेगर्छ।

आगामी मे १२ मा संसारभरका नर्सले नाइटिंगेलको २०० औं जन्मदिन मनाइरहेका हुनेछन्। त्यसक्रममा टोरन्टोस्थित घरमा होउन् या नर्सिङ होममा, नेपाली पूर्व सैनिक तथा प्रहरी क्रमशः लक्ष्मी र सुजाताले पक्कै आफूलाई नाइटिंगेलको बाटो पछ्याईरहेको ‘रजिष्टर्ड नर्स’ ठान्नेछन्।

 

प्रकाशित मिति: : 2019-06-10 09:43:38

प्रतिकृया दिनुहोस्