सडक सुरक्षाको प्रत्याभूति गराउन माग

तस्बिरः एजेन्सी

मौलिक जरोकिलो पार्टीले सर्वसाधारणलाई सडक सुरक्षाको प्रत्याभूति गराउन र प्रत्येक सडक दुर्घटनालाई गम्भीरतापूर्वक लिएर भविष्यका लागि पाठ सिक्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ।

सडक यातायात असुरक्षित हुँदै गए पनि सर्वसाधारणको दैनिकीसँग प्रत्यक्ष सरोकार राख्ने सुरक्षाको विषयमा सरकार गम्भीर नभएको पार्टी प्रवक्ता लीलाबहादुर बानियाँले आज जारी गरिएको विज्ञप्तिमा उल्लेख छ।

बागलङको बडिगाडमा मङ्गलबार भएको जीप दुर्घटनामा मृत्यु भएका यात्रुप्रति पार्टीले श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

गत हप्तामात्र अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा बस दुर्घटना हुँदा १९ को मृत्यु भएको घटना नसेलाउँदै फेरि बागलुङमा जीप दुर्घटना भएको हो। यसअघि दशैँ र तिहारमा पनि सिन्धुपाल्चोकमा ठूला दुई बस दुर्घटना भएका थिए।

दैनिक औसत छ जना नेपालीले सडक दुर्घटनाका कारण ज्यान गुमाउने गरेको विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कले देखाउँछ।

सवारी चालक तथा पैदलयात्रुलाई सडकको सुरक्षित प्रयोग सम्बन्धी जनचेतना जगाउन सो पार्टीले सरकारलगायत सरोकार भएका निकायसँग सहकार्य गर्न तयार रहेको जनाएको छ। (रासस)

प्रकाशित मिति: : 2019-12-04 13:00:43

प्रतिकृया दिनुहोस्