कांग्रेसका तीन नेता अमेरिकामा, कांग्रेसजन् स्वागत-सत्कारको चटारोमा

कांग्रेस नेता प्रकाशमान सिंहलाई न्युयोर्कमा स्वागत गर्दै नेपाली जनसम्पर्क समिति, अमेरिकाका महासचिव मुनिन्द्र नेम्बाङ । तस्बिर : बीएल

कुनै बेला नेपालीले पाताल भन्ने अमेरिका अब पहिले जस्तो पाताल रहेन, धेरैले स्वर्ग नै ठानेका छन् । अमेरिकाले भिसा पत्याउने हैसियत अनि स्रोत, साधन, आफन्त भएका नेपालीका लागि यो एक सामान्य गन्तव्य भएको छ । त्यसमा पनि नेताहरूको भ्रमण त पानीको पधेरो जस्तै भएको छ।

साम्राज्यवादी भनेर सत्तोसराप गर्ने कम्युनिष्ट नेताहरू त अमेरिका आउन भनेपछि खुट्टा उचालेर तयार भैरहेका हुन्छन् भने कांग्रेस नेताका लागि वैचारिक हिसाबले पनि अमेरिका भ्रमण तिर्थाटन जस्तै हो ।

कोही न कोही ठूलै कदका नेपाली नेता अमेरिका भ्रमण गरिरहेकै हुन्छन् । फरक यति हो कसैले, कसैका लागि सामाजिक सञ्जालका भित्ता रंगाउँछन्, कसैले त्यसो गर्न आवश्यक ठान्दैनन् । त्यसैले अब यो खासै समाचारको विषय पनि बन्न छोडेको छ । 

तर, अमेरिकामा आफ्नो राजनीतिक पार्टीको भातृसंगठनमा पहुँच बनाएका खासगरी नेकपा र कांग्रेस नेताको भ्रमण भने अझै पनि समाचार बनेकै छन् । सामाजिक सञ्जालदेखि अनलाइन पोर्टलसम्म समाचारको गतिलै पहुँच बनेकै हुन्छ ।

यही क्रममा केही दिन यता अमेरिकामा रहेका नेपाली कांग्रेस पार्टीका कार्यकर्ता, समर्थक र शुभचिन्तकका सामाजिक सञ्जालका भित्ताहरू विभिन्न नेताका रंगीन तस्बिरहरूले ढाकेको पाइन्छ । त्यसमा पनि खादा, माला, अंकमाल, सामुहिक फोटो सेसन, स्वागत सत्कारका लागि निम्तो, अनरोध आदि/इत्यादिले गर्दा त वर्ड अफ माउथ मात्र हैन, भाइरल नै सिर्जना भएको छ । 

केही समययता नेपालका नेताहरू अमेरिका आउने क्रम बढेको छ । यो राम्रो हो, यसबाट कुनै न कुनै किसिमले द्वीपक्षीय सम्बन्धलाई सुमधुर बनाउन योगदान नै पुग्छ । हामी आफ्ना नेताहरूलाई अमेरिकामा स्वागत गर्न पाउँदा खुशी हुन्छौै, सकेसम्म उहाँहरूको सम्मानमा कार्यक्रम आयोजना गरेर अन्तरक्रिया पनि गर्छौैं । 
- मुनिन्द्र नेम्बाङ, महासचिव, नेपाली जनसम्पर्क समिति, अमेरिका 

नेताहरूका पद र विशेषण लामै भए पनि छोटकरीमा भन्दा यतिबेला नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र नविन्द्रराज जोशी एउटा लटमा र सुजाता कोइराला अर्को लटमा अमेरिका भ्रमणमा आएका छन् । प्रकाशमान सिंह र नवीन्द्रराज जोशी चलचित्र वीर गणेशमानको च्यारिटी कार्यक्रमको सन्दर्भ बनाएर अमेरिका आएका हुन् । नवीन्द्रराज जोशी अध्यक्ष रहेको गणेशमान सिंह प्रतिष्ठानले निर्माण गरेको यो चलचित्र नेपाली लोकतान्त्रिक आन्दोलनका एक शिखर पुरूष गणेशमान सिंहमाथि बनेको बायोपिक चलचित्र हो ।  

उता, वासिङ्टन डीसीमा रहेकी सुजाता कोइराला भने अर्कै एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको कार्यक्रममा सहभागी हुन अमेरिका आउको बताइन्छ । अहिले उनी पिता गिरिजाप्रसाद कोइरालाको नाममा जीपी फाउण्डेसन खोलेर समाजसेवामा क्रियाशील छिन् । 

 नेताहरू आएपछि स्वागत सम्मान, अन्तरक्रिया, विचारगोष्ठीजस्ता स्युडो इभेन्ट आयोजना हुनु स्वभाविक हो । कहीँ प्रकाशमान र नवीन्द्रराजलाई सँगै राखेर त कहीँ प्रकाशमानलाई एक्ले राखेर नपाली जनसम्पर्क समिति र उसका च्याप्टहरूले विभिन्न सहरमा कार्यक्रम आयोजना गरेका छन् । 

यही क्रममा वासिङ्टन डीसी क्षेत्रमा प्रकाशमान सिंहसँगै सुजाता कोइरालालाई राखेर पनि केही कार्यक्रमको आयोजना गरिएका छन् ।कहीँ सुजता कोइरालालाई मात्र राखेर पनि कार्यक्रम आयोजना गरिएका छन् । जे होस्, अमेरिकामा रहेका कांग्रेसजनहरूलाई भ्याइनभ्याइ छ । उनीहरूका लागि सांस्कृतिक दशैं -तिहार गए पनि राजनीतिक दशै-तिहारले छपक्कै छोपेको छ ।

प्रकाशित मिति: : 2019-11-08 06:36:15

प्रतिकृया दिनुहोस्