धनुषा बम बिस्फोट: प्रहरीको गल्तीले ज्यान गुमाएको परिवारको आरोप (भिडियोसहित)

मृतककि आमा भन्छिन्– बरु प्रहरीलाई नबोलाएको भए ज्यान जोगिन्थ्यो कि?

बिमला गुप्ता

जनकपुरधाम

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बजार नजिकको एक घरमा मंसिर २७ गते बम विस्फोट भएको थियो। अहिले घटनास्थलमा मृतकका आफन्त र छिमेकको भिड लाग्न थालेको छ।  

असल स्वभावका मृतक राजेश साहको कसैसँग मतभेद थिएन। परिवार नै समाप्त पार्ने उद्देश्यले घरमा बम बिस्फोट हुनुलाई पहुँचवालाको षड्यन्त्र मान्छन्, पीडित परिवार। 

रिपोर्टिङ कै क्रममा वीरगञ्जबाट भर्खरै म जनकपुर पुगेकी थिए। त्यहाँ गाइँगुइँ चलिरहेको थियो, घरको मुल ढोकामा बम नझुण्ड्याएर आगन भित्रको सानो ढोकामा बम झुण्ड्याउनु परिवारलाई सखाप पार्ने षड्यन्त्र हो। 

बम बिस्फोटमा तीन जनाको ज्यान गएकाे थियो। सिमेन्टीको छानो, नयाँ घरको सिसा, भान्साको पर्खाललगायत शौचालयको ढोका समेत फुटेको अवस्था थियो। 

मृतक साहकी माइजु भन्दै थिइन, ‘राती शौचका लागि नयाँ घरमा जानेआउने क्रम अधिक हुन्थ्यो। ढोकाको छेउमा भान्सा घर छ। त्यहाँ ४ वटा सिलिन्डर भएको कुरा अपराधीलाई राम्रोसँग थाहा हुनुपर्छ।’

छिमेकीहरू परिवार एकजुट भएपछि मात्र बम बिस्फोट भएको बताउँदै प्रेशर कुकरभित्र टाइमर फिट गरिएको आशंका गरिरहेका थिए। 

पीडित परिवार भने बम बिस्फोटको कारण प्रहरीको चरम लापरवाही रहेको बताउँछन्। 

नेपाल प्रहरीमा तालिम प्राप्त जनशक्ति नहुनु नै बम बिस्फोटको मुख्य कारण थियो। मृतक राजेश साहकी छोरी निकी भन्छिन्, ‘ हामीले पहिले नै बम भएको पहिचान गरिसकेका थियौं तर गस्तीमा आएका प्रहरीको असावधानीले गर्दा आज मैले बुवा र भाईलाई गुमाउनु पर्यो।’

८ जना सदस्य रहेको परिवारमा एक प्रहरी अधिकृतसहित घरका दुई सदस्यको मृत्यु भएको थियो। घटनामा तीन जना गम्भिर घाइते भएका थिए। उनीहरू हाल पनि अस्पतामा भर्ना छन्। 

मृतक साहको जेठी छोरी निकीको पनि दायाँ खुट्टामा बमको छर्रा लागेको थियो। अहिले उपचारपछि घरमा आराम गरिरहेकी छिन्। 

७० वर्षीय बृद्ध आमा रामरती देवी भने छोरा र नातीको मृत्युमा प्रहरीको चरम लापरवाही भएको बताउँछिन्। 

मृतक साहकी ४२ वर्षीय श्रीमति मिथिला देवी घटनाको दिन सम्झदैं आफ्नो परिवारलाई सखाफ पार्ने दोषीलाई कडा कारवाही होस् भन्दै न्यायको माग गर्छिन्।  

रातीको ११ बजे आगनपट्टिको मुख्य कम्पाउन्ड वालबाट भित्र फलामको ढोकामा शंकास्पद अवस्थामा पुरानो झोलामा प्रेशरकुकर देख्दा सुरुमा मृतक साहकी श्रीमतिले खासै ध्यान दिएकी थिइनन्। तर केहिबेरमा मृतक साह शौचका लागि ढोका खोलेर जाँदा प्रेशर कुकर बम देखेका थिए। यसपछि उनले घरका सम्पूर्ण सदस्यलाई सचेत गराउँदै घर बाहिर पठाएका थिए। 

शंकास्पद अवस्थामा ढोकामा प्रेशर कुकर झुन्डिएको देख्ने बित्तिकै उनले नजिकैको इलाका प्रहरी कार्यालयमा पनि खबर गरे।

मृतककि आमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी इन्चार्ज प्रहरी निरीक्षक अमिरकुमार दाहालको नेतृत्वमा केही बेरमै तीन प्रहरी घटना स्थल आइपुगेको बताउँछिन्। 

‘प्रहरी निरीक्षक दाहाल मेरो छोरासँगै थिए। अन्य प्रहरी सडकमा’, आमा रामरति देवी भन्छिन्– ‘मेरो छोराबाहेक हामी सबै जना बम भएको शंका लागेपछि सोही टोलको अर्कै घरमा भागेका थियौं। तर प्रहरीले बम नभएको भन्दै हामीलाई फेरि बोलायो।’ मध्यराती करिब १२ बजे परिवार एकजुट हुनासाथ बम बिस्फोट भयो र प्रहरी निरीक्षक दाहालसहित ४६ वर्षीय साह र उनका १७ वर्षीय छोरा आनन्द साहको घटना स्थलमै मृत्यु भयो।  

बिस्फोटमा मृतक साहको कान्छो छोरा प्रकाश साह र कान्छी छोरी दुवै खुट्टामा गम्भिर चोट लागेको छ। अहिले उनीहरूको धरान अस्पतालमा उपचार भइरहेको छ। ७५ वर्षीय वृद्ध भिखारी साहको आँखा र टाउकोमा गम्भिर चोट लागेर घाइते भएपछि प्रादेशिक अस्पताल जनकपुरमा उपचार हुन सकेन। अहिले विराटनगरको अस्पतालमा भर्ना गरिएको छ। 

मृतक कि आमा भन्छिन्–“ बरु प्रहरीलाई नबोलाएको भए ज्यान जोगिन्थ्यो कि? प्रहरीको लापरवाहीले परिवार तहसनहस भयो।’ जेठी छोरी निकी लगायत अन्य आफन्तको भनाई तालिम प्राप्त प्रहरी नभएर यस्तो घटना भयो। 

औषधी व्यवसायी मृतक साहको विभिन्न ठाउँमा मोटो रकम लगानी भएको र त्यसकै निहुँमा कसैले हत्याको योजना बनाएको हुन सक्ने अनुमान गरिएको छ। तर परिवारले यसलाई गलत भन्दै दोषीलाई पक्राउ गरी कडा कारवाही गर्न मांग गरेका छन्।

प्रकाशित मिति: : 2019-12-25 02:39:21

प्रतिकृया दिनुहोस्