ए डिभिजन लिग: दशरथ रंगशालमा नेपाल भ्रमण वर्षको उद्घाटन, सबै खेल एन्फा कम्प्लेक्समा सारियाे

शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत चौथो चरणको सबै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने भएको छ। दशरथ रंगशालमा नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन कार्यक्रम हुने भएकोले चौथो चरणको सबै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सारिएको हो।

आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसारआगामी बुधबार नयाँ वर्ष २०२० को अवसरमा रंगशालामा भ्रमण वर्षको शुभारम्भ कार्यक्रम गरिँदैछ। उक्त कार्यक्रमका कारण रंगशालामा सारिएको हो।  सरकारको महत्वपूर्ण कार्यक्रम भएकोले लिग फुटबल सातदोबाटोमा सारिएको एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले जानकारी दिए।

चौथो चरण अन्तर्गत सोमबार दुई खेल हुनेछन्। जसमा मछिन्द्र क्लब र न्यू रोड टिम ९एनआरटी० बीचको खेल बिहान साढे ११ बजे शुरु हुनेछ। यस्तै मनाङ मर्स्याङ्दी क्लब र फ्रेण्ड्स क्लबबीच दोस्रो खेल दिउँसो ३ बजे शुरु हुनेछ।

ए डिभिजन लिगमा कूल १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन्। कूल ९१ खेल हुने लिगमा एक चरणमा ७ खेल हुनेछ। जसमा तीन दिन २-२ खेल हुनेछ भने एक खेल १ खेल मात्र हुनेछ।

लिगमा अहिलेसम्म तीन चरणको कूल २१ खेल भइसकेका छन्। साविक विजेता मनाङ मर्स्याङ्दी क्लब सबै तीन खेल जित्दै ९ अंकका साथ अंकतालिकाको शीर्ष स्थानमा छ।

कुनै गोल नखाएको मनाङ यस सिजन लिगमा खेलेको सबै खेल जित्ने एक्लो टिम हो। यस्तै मनाङलाई पछ्याइरहेको थ्री स्टारले ७ अंक जोडेको छ। अपराजित थ्री स्टारले २ खेल जित्दा १ खेल बराबरी खेलेको थियो।

फ्रेण्ड्स क्लब र सरस्वती युथ क्लबले अहिलेसम्म जित हात पार्न सकेको छैन। सरस्वती क्लबले गोलको खातासमेत खोल्न सकेको छैन।
 

प्रकाशित मिति: : 2019-12-30 07:08:23

प्रतिकृया दिनुहोस्