पर्वले राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणमा ऊर्जा प्रदान गर्ने अपेक्षा
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले तमू (गुरुङ) समुदायको पर्व तमू ल्होछार/ल्होसारको अवसरमा शुभकामना दिएका छन्। उनले शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण तमूहरुलाई उत्तरोत्तर प्रगतिको कामना गरेका छन्।
'पुरानो वर्ग (वर्ष)को बिदाई र नयाँ वर्गलाई स्वागत गर्दै तमू (गुरुङ) समुदायले विशेष उत्साह र उमङ्गतासाथ मनाउने यस पर्वले छुट्टै मौलिक परम्परा र सांस्कृतिक महत्त्व राखेको छ। सांस्कृतिक परम्पराको धनी राष्ट्र नेपालका तमु समुदायले सदियौंदेखि आफ्ना रीति, परम्परा र संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्दै आइरहेका छन्,' अध्यक्ष दाहालकाे सन्देशमा छ, 'राष्ट्रियताको सम्वर्द्धन र समुदायको पहिचानमा नै मुलुकको समुन्नति र समृद्धि निर्भर रहेको हुन्छ। यस्ता मौलिक चाडपर्वहरुले नेपालीहरुबीच सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता मजबुत बनाउँदछ।'
उनले यस पर्वले राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणमा ऊर्जा प्रदान गर्ने अपेक्षा व्यक्त गरेका छन्।