राष्ट्रपति विद्यादेवी भण्डारीले गुरुङ समुदायको महान पर्व ‘तमू ल्होसार’ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली गुरूङ समुदायलाई शुभकामना दिएकी छन्। उनले मङ्गलबार शुभकामना सन्देश जारी गर्दै सबैको सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामनासमेत गरेकी छन्।
‘नेपालमा मनाइने विभिन्न चाडपर्वहरूले स्वदेश तथा विदेशमासमेत विशिष्ट सांस्कृतिक पहिचान स्थापित गरेका छन्। मुलुकको सांस्कृतिक सम्पदा संरक्षण तथा संवद्र्धन गर्दै सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्नसमेत गुरूङ समुदायले निर्वाह गरेको भूमिका प्रशंसानीय छ,’ राष्ट्रपतिले शुभकामना सन्देशमा भनेकी छन्।
बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक राष्ट्रको रूपमा रहेको नेपालको लागि गुरुङ संस्कृति राष्ट्रिय संस्कृतिको एक महत्त्वपूर्ण अङ्गको रूपमा रहेको उनले बताएकी छन्। ‘तमू ल्होसार जस्ता राष्ट्रिय पर्वहरूले सबै नेपालीबीच बन्धुत्व, आपसी प्रेम र एकताको भावना बढाउन मद्दत गरेको छ,’ राष्ट्रपति भण्डारीले भनेकी छन्।