सरकार ३ हजार मिटर धावनमार्गको पक्षमा: मन्त्री कार्की

प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार विराटनगर विमानस्थलको धावनमार्ग तीन हजार मिटरको हुनु पर्ने पक्षमा रहेको बताएका छन्।  

विमानस्थल स्तरोन्नती गर्ने क्रममा दुई हजार चार सय मिटर कि तीन हजार मिटर धावनमार्ग बन्ने भन्ने टुँगो लागिनसकेको अवस्थामा मन्त्री कार्कीले प्रदेश सरकारको धारणा सार्वजनिक गरेका हुन्। उनले प्रदेश सरकारले मन्त्रीपरिषद्बाट विराटनगर विमानस्थलमको धावनमार्ग तीन हजार मिटरको हुनु पर्ने मागसहितको निर्णय गरेर संघीय सरकारमा पठाइसकेको जानकारी दिए।  

विराटनगर विमानस्थल नागरिक उड्डयन कार्यालयद्धारा मंगलबार आयोजित नेपाल नागरिक उड्डयन प्राधिकरणको २१ औं वार्षिकोत्सवको अवसरमा बोल्दै उनले तत्काल स्तरोन्नती गर्दै हवाई यात्रालाई सुरक्षित बनाउन सरकार कटिवद्ध रहेको उल्लेख गरे। कार्कीले स्तरोन्नती गर्दै विमानस्थललाई सुरक्षित बनाउन प्रदेश सरकार जुनसुकै दायित्व निर्वाह गर्दै साझेदारी गर्न तयार रहेको स्पष्ट पारे। यात्रुको चाप पनि अत्यधिक हुने र उडान हुनेमा पनि काठमाडौंपछिको दोस्रोमा पर्ने विराटनगर विमानस्थल संरचनादेखि लिएर हरेक कुरामा पछि भने परिरहेको मन्त्री कार्कीको भनाइ थियो।  

उनले तत्काल दुई हजार चार सय मिटरको धावन मार्ग बन्ने हो भने पनि जग्गा अधिग्रहण भने तीन हजार मिटरलाई नै लक्षित गरेर गर्नु पर्ने सुझाव दिए। जग्गाको मूल्याँकन बढेर पछि अधिग्रहण गर्दा महँगो पर्ने भएकाले अहिल्यै तीन हजार मिटरको धावनमार्गका लागि जग्गा अधिग्रहण प्रक्रिया अघि बढाउनु पर्नेमा कार्कीले जोड दिए। उनले विमानस्थलको स्तरोन्नती गर्दै विराटनगरबाट अन्तर्राष्ट्रिय उडान भर्ने काम जति सक्दो चाँडो सुरु गर्नु पर्ने र यसमा प्रदेश सरकार जस्तो सुकै सहयोग गर्न पनि तयार रहेको उल्लेख गरे।

विराटनगरबाट भारत, बंगलादेश लगायतका मुलुकमा पढ्न, उपचार गराउन, भ्रमण गर्न तथा व्यापार व्यवसायका लागि जाने÷आउनको संख्या धेरै रहेका कारण जति सक्दो चाँडो अन्तर्राष्ट्रिय उडान विराटनगरबाट सुरु गर्नु पर्नेमा उनको जोड छ।  

उद्योगी राजेन्द्र राउतले विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउन सके उद्योग व्यवसायमा थप लगानीको वातावरण बन्ने बताए। ‘विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउनै पर्छ,’ उनले भने, ‘त्यसपछि थप लगानीको बाटो खुल्छ। ’ मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले जतिसक्दो चाँडो विमानस्थल स्तरोन्नती हुनु पर्ने पक्षमा उद्योगी व्यापारी रहेको बताए। मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले विमानस्थल सुरक्षमा कुनै कमजोरी हुन नदिइएको बताए। सेना र सशस्त्र प्रहरीको सहयोगमा विमानस्थलको सुरक्षालाई मजवुत बनाइएको उनको भनाइ छ।  

विमानस्थलका प्रमुख टेकनाथ सिटौलाकाअनुसार एक हजार पाँच सय मिटर धावनमार्ग भएको विराटनगर विमानस्थल एक सय १५ बिघा क्षेत्रफलमा फैलिएको छ। विमानस्थलमा एकै पटक ७२ सिट क्षमता भएका पाँचवटा जहाज राख्न मिल्ने वायुयान एप्रोन र धावनमार्ग रहेको उनको भनाइ छ।  

विमानस्थलमा धावनमार्ग र एप्रोनलाई जोड्ने तीनवटा ट्याक्सी वे, आधुनिक प्रविधिमा आधारित वायुयान पथ प्रदर्शन उपकरण, रात्रि उडान अवतरणका लागि आवश्यक एयरफिल्ड लाइटिङ सिस्टम रहेको जानकारी सिटौलाले दिए। उनकाअनुसार विमानस्थल क्षेत्रमा घट्न सक्ने जुनसुकै आपतकालीन अवस्थाको लागि आवश्यक विमानस्थल अग्नि निवारण तथा उद्धार सेवा, हवाई इन्धन, हवाई सञ्चार सेवा, एयर ट्राफिक कन्ट्रोल सेवा, मौसमी सेवा, पावर सप्लाई र त्यसको व्याकअपका लागि पर्याप्त मात्रामा जेनेरेटरहरु जस्ता  उड्डयन पूर्वाधारहरु विमानस्थलमा उपलब्ध रहेको उनको भनाइ छ। विमानस्थल, वायुयान तथा हवाई यात्रुको सुरक्षार्थ नेपाल प्रहरी तथा नेपाली सेना तैनाथ छन्।

देशको प्रमुख ‘डोमेस्टीक हव’ तथा प्रदेशको एक मात्र विराटनगर क्षेत्रीय विमानस्थल पहिलो विमानस्थल प्रमाणपत्र प्राप्त ‘डोमेस्टीक एयरपोर्ट’ हो। नेपाल एयरलाइन्सले एक, वुद्धले सात, यतिले चार, श्रीले तीन र शौर्य एयरका जहाजले दुई गरेर विराटनगर–काठमाडौं दैनिक १७ र काठमाडौं–विराटनगर १७ गरेर ३४ उडान भरिरहेको सिटौलाले बताए। उनकाअनुसार त्यस बाहेक वुद्ध एयरले काठमाडौं– तुम्लिङटार –विराटनगर सेक्टरमा सातको तीन पटक उडान भरिहेको छ। वुद्ध एयरले आगामी फेबु्रअरीबाट विराटनगर–पोखरा अन्तरप्रदेश उडानको थालनी गर्ने उनको भनाइ छ। सीता एयरले पनि साताको आइतबार विराटनगर–लामीडाँडा उडान तालिका स्वीकृत गराएकोले निकट भविष्यमै सेवा सुरु हुने सिटौलाले बताए।

दुई वर्ष अघिसम्म नेपाल एयरलाइन्सको ट्वीनअटर विमानले विराटनगर विमानस्थललाई आधार बनाएर प्रदेशका पहाडी विमानस्थलहरु भोजपुर, खानीडाँडा, थामखर्क आदिमा नियमित उडान गर्ने गरेकोमा हाल बन्द रहेको जानकारी उनले दिए। उडानहरु बन्द हुँदा  उक्त क्षेत्रका बासिन्दाहरुलाई बिरामी हुँदा तथा आकस्मिक अवस्थामा महँगो शुल्क तिरेर हेलिकप्टर चाटर्ड गर्नु पर्ने वाध्यात्मक परिस्थिती सृजना भएको सिटौलाले बताए।  

उनकाअनुसार विराटनगर विमानस्थलबाट सन् २०१९ मा कूल ११ हजार छ सय ३६ वायुयान उडान÷अवतरण भएकोमा छ लाख ५२ हजार चार सय सात जना यात्रुले हवाई यातायात प्रयोग गरेको तथ्याँक छ। एक वर्षको अवधिमा कार्गो मुभमेन्ट कूल ५९ हजार नौ सय ५५ किलोग्राम रहेको छ। सन् २०१८ को तुलनामा वायुयानतर्फ १८ दशमलव आठ, यात्रुतर्फ २१ दशमलव ३१ प्रतिशत बृद्धि भएको जानकारी सिटौलाले दिए। कार्गोतर्फ भने शुन्य दशमलव १६ प्रतिशतले कमि देखिन्छ।  

सन् २०१३ को तुलनामा वायुयान र यात्रुतर्फ क्रमस ४० र ८९ दशमलव ७६ प्रतिशत बृद्धि भएको उनले बताए। उनकाअनुसार कार्गोतर्फ भने दुई दशमलव ८३ प्रतिशतले कमी आएको छ।  

सिटौलाले विमानस्थल स्तरोन्नतीका लागि गुरुयोजना बनिसकेको जानकारी दिए। गुरुयोजनाको फायल अहिले प्राधिकरणमै रहेका कारण यसलाई आवश्यक परिमार्जन गरेपछि बोर्डबाट निर्णय गराइने उनको भनाइ छ। त्यसपछि मन्त्रालय हुँदै फायल मन्त्रीपरिषद् पुग्ने छ। सिटौलाले गुरुयोजनामा विमानस्थलको धावनमार्ग दुई हजार चार सय वा तीन हजार मिटर लम्बाईको हुने भन्ने दुवै विकल्प खुल्ला राखिएको जानकारी दिए।   

विराटनगर महानगरपालिका–४ मा रहेको विमानस्थलमा विक्रम संवत २०२५ साल आसार ९ गतेबाट हवाई सेवा आरम्भ भएको हो।  

प्रकाशित मिति: : 2020-01-02 02:10:15

प्रतिकृया दिनुहोस्