नयाँ साल: एक नियमित आकस्मिकता

अलिकति बूढो बनाएर जाने हो पुरानो साल, नयाँ सालले त्यसैलाई स्विकार्ने हो

देवराज न्यौपाने

टेक्सास, अमेरिका

आजबाट २०१९ बिदा भयो र २०२० सुरु भयो। सधैंझैं साटासाट भैरहेकै छन् शुभकामना। कुनैं ठूलै फरक नपर्न सक्छ, एउटा नियमित प्रकृया जस्तो मात्र हुन सक्छ। समय परिवर्तन भैरहन्छ नैं, साल मात्र हैन हरेक सेकेन्ड नयाँ भएर आएको हुन्छ। हरेक दिन हामी शुभ बिहानी या तपाईको दिन या रात शुभ रहोस् भनेर अरुलाई भन्ने गर्छौं।भगवानसित पनि त्यही माग्ने गर्र्छौं।

पज गर्न या रोक्न नमिल्ने एउटै कुरा यो समय । हरेक सेकेण्ड हामीलाई अलिकता बूढो बनाएर अघि बढिरहेको हुन्छ । मिल्ने भए म यो समयलाई या मेरो उमेरलाई पनि पज गरेर एक्कै ठाउँमा राखी दिने थिएँ । त्यति मात्र हैन रिवाइण्ड गरेर वाल्यकालतिर फर्काइ दिने थिएँ । तर, यो बिल्कुल नमिल्ने कुरा हो, सपनामा लड्डु खाए जस्तो मात्र । हामी ब्यवहारिक बन्नु पर्छ, मिल्ने कुरा गर्नु पर्छ ।

समय र संसार या प्रकृति एउटै हो, सँगसँगै सबथोक एकसाथ परिवर्तन भैरहेको हुन्छ । एउटा मरिरहेको या अस्ताइरहेको हुन्छ र अर्को जन्मिरहेको या उदाइरहेको हुन्छ । माछा र मान्छे सधैं जन्मिन्छ र मर्छ तर कहिल्यै सकिदैन । कस्तो अदभुत चक्र छ यो ! म सम्झिन्छु त्यतिवेला म स्यानो थिएँ र घरमा मेरो बुबा, आमा, हजुरवा, हजुरामा सबै हुनुहुन्थ्यो। आज म बढुवा भएर बुबाको ठाउँ लिएको छु, मेरो ठाउँमा मेरा छोरा-छोरी छन् र हजुरबा-हजुरआमाको ठाउँमा मेरो बुबाआमा। र, यो चक्र निरन्तर अघि बढिरहेको छ, बढिरहने छ यसैगरी निरन्तर.. सदा सर्वदा।

संसार एउटा फिल्मी नाटक जस्तै छ जहाँ त्यही मान्छेले फरक फरक भूमिका पाउँछ । कहिले बच्चाको भूमिका,  कहिले हिरो हिरोइनको या भिलेनको त कहिले बूढाबूढीको। कसैले त्यो आफुले पाको भूमिकालाई ज्यादै राम्रोसित निर्वाह गर् छन्, कसैले ठिकठिकै त कसैले झुर । फरक यति मात्र हो । थोरै छानिएर च्याम्पियन बन्दा उनीहरू नै गौतम बुद्ध, कार्ल माक्र्स, न्युटन......बन्ने हुन्। बाँकि त आयाराम गयारामजस्तै त्यसै हराउने न हुन्। 

भगवान गौतम बुद्ध भन्नु हुन्छ, 'संसारमा दु:खै दु:ख या समस्यै समस्याहरु छन् तर त्यसको समाधानको उपाय पनि छ।' हो, त्यही उपाय खोज्न सबैलाई सफलता मिलोस्।

संसार परिवर्तनशील छ। तर कुनैं पनि बस्तु नास भएर जाँदैन त्यसको रुप मात्र परिवर्तन हुने हो । जस्तो कि पृथ्वीमा त्यही पानी पर्छ, कहिले आईस पनि बन्छ, कहिले सफा र कहिले फोहोरमा मिसिएर फरक फरक भाडामा आकार र रुप रंगमा भएर पनि फेरी वास्पिकरण हुन्छ, बादल बन्दै पुन: पानी पर्छ । त्यसैले भन्न सकिन्छ गौतम बुद्ध हामीमैं अझै बाँचिरहनु भएको छ, मेरो जिजुबा, हजुरबा, हजुरामा मैंभित्र बाँचिरहनु भएको छ अर्थात् कोही मर्नु भएको छैन ।

हामी यही प्रकृतिबाट आएको एउटा रुप हौं र मर्दा यही प्रकृतिमा बिलिन हुने हो अर्थात् रुप मात्र परिवर्तित हुने हो। कोही पनि मरेका या नासिएका हैनन किनकि हरेक चिज अविनासी छ; विज्ञानले पनि त्यही भन्छ ।

संसार एकैनासको हुन्न। उज्यालो हुन्छ भने अध्यारो पनि हुन्छ। अर्थात् राम्रो नराम्रो दुवै हुन्छ। तर, हामी सधैं शुभ, राम्रो, खुशी, उज्यालोको कामना गर्छौै। किनकि हामीले प्रकृतिको भयंकर, डरलाग्दो, अन्धकार रुप पनि देखेकाछौं। डर लाग्छ तर पनि होसियारीपूर्वक यस सत्यको सामना गरेरै जिन्दगीलाई अघि बढाइरहेका हुन्छौं। यसका लागि नैं जिन्दगीभर हामी मेहनत गर्छौं, काम गर्छौं, अनेक अध्ययन, अनुसन्धान र प्रयोग गर्छौं। रुँदा पनि फेरि हाँस्ने दिनको प्रतीक्षा गर्छौं। हरेक अँधेरोपछि उज्यालो किरणको प्रतिक्षा गर्छौ। सर्बश्रेष्ठ र सचेत प्राणी भएको नाताले आफ्नो र आफ्नो परिवारको लागि मात्र नभएर समाज, राष्ट्र र बिश्व ब्रम्हाण्डकै लागि सकेको योगदान गर्न चाहन्छौं । केही राम्रो गर्न चाहन्छौं। तर, सबै मानिसहरु राम्रा हुँदैनन्, सबै खालका मानिसहरु हुन्छन्, फिल्मका भिलेन जस्तै । त्यसैले हिरोलाई धेरै चुनौतिसित सामना गरेर मात्र सफलता मिल्छ।

आज नयाँ बर्ष २०२० सुरु भएको दिनमा म आफूले पाएको जीवन र अवसरका लागि म आफ्ना बाबु-आमा, परिवार, समाज र बिश्व-ब्रम्हाण्ड या प्रकृतिप्रति अनुग्रहित हुँदै धन्यवाद टक्र्याउन चाहन्छु। साथै, यी सबैप्रतिको आफ्नो दायित्व या समयले दिएको भूमिकामा आफूलाई खह्रो उतार्ने इमान्दार प्रयत्न गर्ने प्रतिवद्धता गर्छु ।

भगवान गौतम बुद्ध भन्नु हुन्छ, 'संसारमा दु:खै दु:ख या समस्यै समस्याहरु छन् तर त्यसको समाधानको उपाय पनि छ ।' हो, नयाँ वर्षमा त्यही उपाय खोज्न सबैलाई सफलता मिलोस् । सबैको जय होस् । सुस्वास्थ्य, दिर्घ जीवन र समृद्धि होस् । बिगतका कमी कमजोरीको करेक्सन होस् र नयाँ साल साँच्चिकै नयाँ बनेर खुशी र सुख दिन सकोस् ।

नयाँ सालको सबैलाई शुभकामना ।

प्रकाशित मिति: : 2020-01-02 21:22:43

प्रतिकृया दिनुहोस्