सभापति देउवाले छलेर एकलौटी निर्णय गर्‍यो: पौडेल पक्ष

नेपाली कांग्रेसको असन्तुष्ट पक्षले आफुहरुलाई छलेर संस्थापन पक्षले एकलौटी रुपमा निर्णय गर्दै लगेकाले आफुहरुको विरोध कायमै रहेको जनाएको छ।

बिहीबार महामन्त्री शंशाक कोईराला निवासमा बसेको पौडेल पक्षको भेलाले सभापति शेरबहादुर देउवा पक्षले एकलौटी रुपमा अघि बढाएकाले विरोध कायमै रहेको जनाएको हो। रामचन्द्र पौडेल समूहले पार्टी केन्द्रीय समितिको निर्णय पार्टीको बिधान विपरित रहेको र यसले समग्र पार्टीलाई नै कमजोर पार्ने काम गरेको जनाएको छ।  

कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई व्यवस्थीत रुपमा अघि बढाउन यसअघि भएको सहमति देउवा पक्षले उलंघन गरेकाले विरोध गरिएको बताए। केन्द्रीय समिति बैठकको निर्णय नसचच्चाएसम्म आफुहरु कुनै बैठकमा सहभागी नहुने तथा आगामी रणनीतिका बारेमा छलफल जारी राख्ने उनको भनाई छ। त्यस्तै कांग्रेस असन्तुष्ट पक्षका नेता डा मिनेन्द्र रिजालले संस्थापन पक्षले एकलौटी गरेका कारण बैठकमा सहभागी हुने कारण नै नभएको बताए।

पौडेल समूहले केन्द्रिय समितिले गरेको निर्णय र आगामी रणनीति तय गर्न जिल्ला सभापतिको भेला पुष २१ गते बोलाउने निर्णय यसअघि नै गरिसकेको छ। यसअघि शुक्रबार कांग्रेस केन्द्रिय समिति बैठकले महाधिवेशन ०७७ फागुनमा गर्ने, विभाग बढाएर ४७ वटा बनाउने, तरूण दलको कार्यकाल ६ महिना थप गर्नेसहित विभिन्न ९ वटा निर्णय गरेको थियो। त्यस्तै बिहीबार बसेको केन्द्रीय समिति बैठक राष्ट्रिय सभाको निर्वाचनको तालमेलका बारेमा पनि निर्णय गरेको छ।  

प्रकाशित मिति: : 2020-01-03 10:51:25

प्रतिकृया दिनुहोस्