उखु किसानहरुले भने- मन्त्रीबाट प्रतिबद्धता आयो, अब घर फर्किन्छौं

उखु किसान संघर्ष समितिका संयोजक राकेश मिश्रले विभागीय मन्त्रीबाटै आफूहरुको माग पूरा गराउने प्रतिबद्धता आएको भन्दै खुशी व्यक्त गरेका छन्। 

शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उखु किसानहरुले अब आफूहरु घर फर्किने जानकारी गराएका हुन्।

उनीहरुले विभागीय मन्त्रीबाट नै माग पूरा गराउने प्रतिबद्धता आएकोले अब घर फर्किन आफूहरु तयार भएको स्पष्ट पारेका हुन् । 

कार्यक्रममा उखु किसान संघर्ष समितिका सचिव हरिश्याम रायले आफूहरुले सरकारप्रति विश्वास र भरोसा राखेर लामो समयसम्म पर्खेर बसेको सुनाए । तर, लामो समयसम्म पर्खिदापनि माग पूरा नगरेकोमा आफूहरु दुःखित भएको पनि उनले गुनासो पोखे । 

उनले भने,‘सरकारी पक्षबाट हामीले धेरैपटक धोका खायौं । तल्लो तहमा रहेका सरकारी निकायबाट हाम्रा मागप्रति कुनै सुनुवाई भएन । अहिले मन्त्रीज्यूले भनेको कुरामा हामी विश्वस्त छौं । सरकारले भनेको कुरामा विश्वास छ । तर, लिखित प्रतिबद्धता आउनुपर्यो । मन्त्रीज्यूले क्लबको यो साक्षात्कारमा हाम्रो माग पूरा गर्न लिखित प्रतिबद्धता जनाउने कुरा गर्नुभयो । हामी खुशी छौं ।’

अर्का उखु किसान रामविलाष रायले पनि तीन वर्षदेखि आफू मारमा परेको दुखेसो पोखे । उनले भने,‘मैले तीन वर्षदेखि तीन लाख लिनुपरेको छ ।

तर, यो बीचमा मैले आफ्नो स्वास्थ्योपचारदेखि अन्य धेरै समस्याको समाधान ऋण मागेर गर्नुपरेको छ । अब ऋणको ब्याज तिर्दा म त धेरै ठूलो मारमा पर्छु नि।’

प्रकाशित मिति: : 2020-01-04 02:53:38

प्रतिकृया दिनुहोस्