सांसद शाहविरुद्ध पक्राउ पुर्जी जारी

कपिलवस्तु क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य अभिषेकप्रताप शाहविरुद्ध जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ।

सांसद शाहविरुद्ध राप्रपाका केन्द्रीय सदस्य श्यामकुमार मिश्राले ज्यान मार्ने उद्योगमा जाहेरी दिएपछि कपिलवस्तु जिल्ला अदालतले प्रहरीलाई पक्राउ गर्न अनुमति दिएको हो।

शाह कांग्रेसबाट निर्वाचित सांसद हुन्। त्यसअघि उनी तत्कालीन संघीय समाजवादी फोरमबाट सांसद निर्वाचित भएका थिए। सांसद शाहले गत पुस ५ गते साँझ घरमा गेस्ट रुममा ढोका थुनेर नशालु पदार्थ सुँघाएर अन्धाधुन्ध कुटपिट गरेको मिश्राको आरोप छ।

‘अदालतले पक्राउ पुर्जी जारी गरेको छ, तर हामीलाई प्राप्त सूचना अनुसार उहाँ भारततिर हुनुहुन्छ’ जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डीएसपी सुनील मल्लले भने, ‘अब कानुनअनुसार पक्राउ गर्न र म्याद थप गरेर अनुसन्धान गर्न बाटो खुलेको छ। ’

एक सातासम्म सांसद शाहविरुद्ध प्रहरीले मुद्दा दर्ता गर्न समेत नमानेपछि कृष्णनगरमा आन्दोलन समेत भएको थियो।

प्रकाशित मिति: : 2020-01-04 03:30:43

प्रतिकृया दिनुहोस्