‘अर्गानिक’ कृषि उपज उत्पादन गर्ने कार्यक्रम शुरु

रासस

पर्वत
तस्बिर : एजेन्सी

पर्वत र बागलुङमा ‘अर्गानिक’ कृषि उपज उत्पादन गर्ने कार्यक्रम शुरु गरिने भएको छ। कृषि ज्ञान केन्द्र पर्वतले दुबै जिल्लाका १७ स्थानीय तहमा विशिष्ट क्षेत्र पहिचान गरी अर्गानिक कृषि उपज उत्पादन कार्यक्रम सञ्चालन गर्ने भएको हो।

ज्ञान केन्द्रका प्रमुख वासुदेव रेग्मीले सामूहिक रुपमा गरिने कृषि फर्ममा ६० र एकल फर्ममा ५ रोपनी क्षेत्रमा उक्त खेती विस्तार गर्ने तयारी गरेको जानकारी दिए।

अहिले कार्यक्रम कार्यान्वयन पूर्व सम्भावित क्षेत्रको पहिचान गर्न शुरु गरिएको रेग्मीले बताए। उक्त खेतीप्रति किसानको आकर्षण बढाउन कार्यालयले अनुदान, तालिम र बजारीकरणको व्यवस्था गर्ने भएको छ।

कार्यक्रमका लागि कार्यालयले रु १ करोड भन्दा बढी अनुदान वितरण गर्ने रेग्मीले बताए। पछिल्लो समय तरकारी, फलफूल, नगदेबाली आदिमा विषादीको अत्यधिक र अनधिकृत प्रयोग बढ्दै गएपछि अर्गानिक खाद्यान्नको महत्व बढ्दै छ।

गाउँ गाउँमा खुलेका होमस्टे र विदेशी पर्यटक आउने होटलमा स्थानीय उत्पादनको माग बढ्न थालेको छ। त्यस्तो खानाको माग बढ्दै गएपनि उत्पादन नगन्य रहेको छ।

गतवर्ष देखि गण्डकी प्रदेश सरकारको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले शुरु गरेको मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ कार्यक्रमले पनि अर्गानिक उत्पादनलाई बढवा दिएको छ।

सो खेती विस्तारका लागि कृषि प्राविधिक, कृषक, कृषि उद्यमी लगायतलाई दुईदिने तालिम पनि कार्यालयले दिएको छ। तालिममा ३५ जना सहभागी भएका थिए।

तालिम पश्चात अब क्षेत्र निर्धारण गरेर सो खेती विस्तार सम्बन्धी कार्यक्रम शुरु गरिने कृषि विकास अधिकृत रामकृष्ण अर्यालले जानकारी दिए।

प्रकाशित मिति: : 2020-01-07 01:13:19

प्रतिकृया दिनुहोस्