सडक विभागद्वारा २ सय ७७ किमी सडक कालोपत्र

रासस

काठमाडाैं

सडक विभागले साउनदेखि २७७ किलोमिटर सडक कालोपत्र गरेको छ। यो अवधिमा २८८ किमी सडक खण्डस्मित (ग्राभेल) र ५८ किमी नयाँ सडकको ट्र्याक खोलिएको विभागले जनाएको छ।  

चालू आवमा अहिलेसम्म सबैभन्दा बढी सडक कालोपत्र हुलाकी राजमार्गमा भएको विभागका उपमहानिर्देशक शिवहरि सापकोटाले बताए। हुलाकी राजमार्ग आयोजनाका अनुसार सो सडकमा ५० किमी सडक कालोपत्र भएको छ भने २५ किमी ग्राभेल भएको छ। मध्यपहाडी लोकमार्गमा २० दशमलव ५ किमी सडक कालोपत्र र ६९ किमी ग्राभेल सम्पन्न भएको छ। सो सडकमा दुई वटा सडक पुल सम्पन्न भएको विभागले जनाएको छ।

मदन भण्डारी राजमार्ग आयोजनामा १९ किमी सडक कालोपत्र, १५ किमी ग्रोभल र एउटा पुल सम्पन्न भएको छ। काडमाडौँका विस्तारका क्रममा रहेका आठ किमी सडक कालोपत्र भएको र व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत सात किमी कालोपत्र भएको छ।  

विभागले सडकको नियमित र पटके मर्मतसमेत गरिरहेको अहिलेसम्म ६४ किमी सडक अद्यावधिकमर्मत सम्पन्न भएको प्रवक्ता सापकोटाले बताए । अहिलेसम्म ४५ पुल सम्पन्न भइसकेको छ। अघिल्ला वर्षमै निर्माण शुरु भएका पुल अहिले आएर सम्पन्न भएको उनको भनाइ छ। उनले भने, ‘वर्षभरमा तीन सय पुल सम्पन्न गर्ने लक्ष्य रहेको छ। ’

गत आवमा विभागले ९८८ किमी सडक कालोपत्र गरेको थियो। गतवर्ष नै नेपाल सरकारको अधिकार क्षेत्रमा पर्ने एक हजार ३६३ किमी सडक ग्राभेल र ४४० किमी ट्र्याक खोलिएको थियो। गत वर्ष नै २४३ पुल सम्पन्न भएका थिए भने २३० किमी सडक आवधिक मर्मत भएको थियो।  
 
 

प्रकाशित मिति: : 2020-01-10 11:04:31

प्रतिकृया दिनुहोस्