अमेरिकामा शरण लिने नेपालीको संख्या बढ्दो, नेपाल पुग्यो नवौं स्थानमा  

नेपालका लागि यो गर्वको विषय हो कि शर्मको ? 

प्रदीप भट्टराई

वासिङ्टन डीसी, अमेरिका

अमेरिकामा शरण माग्ने नेपालीको संख्या बढेसँगै नेपाली शरणार्थीको शरण स्वीकृत संख्या पनि बढ्दो छ । आर्थिक वर्ष २०१९ मा नेपाल अमेरिकामा शरण स्वीकृत हुने देशको नवौ स्थानमा उक्लिएको छ। 

एक्ज्युकेटिव अफिस फर इमिग्रेसन रिभ्युले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०१९ मा अमेरिकी अध्यागमन अदालतले ६ सय २५ नेपालीको शरण स्वीकार गर्ने फैसला गरेको छ भने दुई सय ४५ को अस्विकार गरेको छ । 

विवरणअनुसार शरण स्वीकृत हुनेमा सबैभन्दा बढी न्युयोर्कबाट तीन सय ७४ जना रहेका छन्। यसैगरी क्यालिफोर्नियाबाट एक सय ५७,  टेक्सासबाट ५२, म्यासाचुसेट्सबाट १०, मेरिल्याण्डबाट ६ र कोलोराडोबाट दुईजनाको शरण स्वीकृत भएको जनाइएको छ।

अमेरिकाका शरण माग्ने नेपालीको संख्या बढ्नुलाई कसरी लिने-  नेपालको सफलता या असफलता ? यो आफैंमा एक पेचिलो प्रश्न हो। 

विवरणअनुसार शरण अस्विकार भएका दुई सय ४५ जनामा सबैभन्दा बढी न्युयोर्कबाट ९३ जना रहेका छन्। त्यसपछि क्रमश: क्यालिफोर्नियाबाट २३, टेक्सासबाट १४ र मेरिल्याण्डबाट पाँचजना रहेका छन्। 

विवरणमा विभिन्न भिसाबाट अमेरिका आएर शरण माग्ने ५४ जना र मेक्सिकोको सिमाक्षेत्रबाट गैरकानुनी रूपमा प्रवेश गरेका एकसय ९१ जना नेपाली शरणार्थीको शरण स्विकृत गरिएको जनाइएको  छ।

सन् २००१ यता अमेरिकाले  चारहजार सातसय ३८ नेपालीलाई शरण दिइसकेको छ भने एकहजार आठसय ४० नेपालीको शरण अस्विकार गरेको छ । शरण स्वीकृत हुनेमध्ये एकहजार पाँचसय १२ मेक्सिकोको सिमाक्षेत्रबाट गैरकानुनी रूपमा प्रवेश गर्ने रहेका छन्। 

यसरी अमेरिकाका शरण माग्ने नेपालीको संख्या बढ्नुलाई कसरी लिने-  नेपालको सफलता या असफलता ? यो आफैंमा एक पेचिलो प्रश्न हो।

एकातिर यसबाट हजारौ नेपालीको अमेरिकी सपना साकार भएको छ भने अर्कोतिर नेपाल अमेरिकामा शरणार्थी निर्यात गर्ने विश्वकै नवौ देशको सूचीमा चढेको छ । व्यक्तिगत रूपमा फाइदै होला तर राष्ट्रिय रूपमा हेर्दा यसलाई गर्व गर्न लायक विषय भन्न सकिन्न।

प्रकाशित मिति: : 2020-01-12 15:18:24

प्रतिकृया दिनुहोस्