नेपाल पर्यटन बोर्डको सीईओ छनोट: हाम्रा होइन, राम्रा छानौं

नेपाल सरकारले भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ गरिसकेको छ। तर, नेपालको पर्यटन प्रवर्द्धनको प्रमुख अभिभारा बोकेको नेपाल पर्यटन बोर्ड भने नेतृत्वबिहीन छ।

नेपाल पर्यटन बोर्डका निवर्तमान प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिपकराज जोशीले दोस्रो कार्यकालको लागि पुनः दर्खास्त दिएपछि बोर्ड अहिले नेतृत्वविहिन हुन पुगेको हो। 

नेपाल पर्यटन बोर्ड कार्यकारी छनोट उपसमिति सचिवालयले अहिले ९ जना उम्मेद्वारलाई प्रारम्भिक छनोट गरिसकेको छ। जसमा जोशीको नाम अग्रपंक्तिमा छ।

सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित शुरू गरेको भ्रमण वर्ष सफल पार्न अब पर्यटन बोर्डमा सकेसम्म चाँडो सीईओ ल्याउन जरूरी छ।

पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत दाबेदारमध्ये ६ जना बोर्डमा लामो समय काम गरिसकेका कर्मचारी छन्।

हिक्मतसिंह ऐर, काशीराम भण्डारी, दिपकराज जोशी, रोहीणीप्रसाद खनाल, सन्तोष बिक्रम थापा, नवीन पोखरेल पर्यटन बोर्ड भित्रकै कर्मचारी हुन्।

पर्यटन क्षेत्रमा अनुभव भएका बच्चुनारायण श्रेष्ठ, धनन्जय रेग्मी र दिपक बस्ताकोटी पनि प्रारम्भिक छनोटमा परेर प्रतिस्पर्धामा छन्।

त्यसमध्ये श्रेष्ठ र निवर्तमान प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीलाई नै प्रमुख प्रतिस्पर्धीको रुपमा हेरिएको छ ।

नेपाल पर्यटन बोर्डको प्रारम्भिक छनोटमा परेकामध्ये बोर्डको कर्मचारीको पदीय हिसाबले निर्देशक काशीराम भण्डारी र हिक्मतसिंह ऐर माथि रहेका छन्।

भण्डारी पर्यटन क्षेत्रमा अनुसन्धान, अध्ययन र ब्यक्तित्वको हिसाबले अब्बल मानिन्छन्। प्रस्तुतिकरणमा भण्डारी विशेष दख्खल राख्ने विगतमा उनको कार्यशैलीले देखाउँछ।

बोर्डका अर्का निर्देशक ऐर भने पर्यटन क्षेत्रको आर्थिक पाटोको जानकार ब्यक्ति हुन्। बोर्डमा सिनियारटी र योग्यताको हिसाबले यी दुई अगाडि रहे पनि भ्रष्टाचारमा नाम मुछिएकाले केही असहज भने देखिन्छ। यद्यपि दुबैले भ्रष्टाचारको आरोपबाट सफाइ पाइसकेका छन्।

दिपकराज जोशीमा निर्णय गर्ने क्षमताको कमी छ। तर पनि जोशीले आफ्नो कार्यकालमा कुनै नराम्रो काम भने गरेनन्। नेपालमा आइफा अवार्ड गराउन खोजेको भन्दै केही आलोचित भए पनि त्यसबाहेक जोशीलाई कुनै आरोप लागेको छैन।

पर्यटन बोर्डकै उच्च अधिकारीहरू रोहीणी खनाल, सन्तोष बिक्रम थापा र नवीन पोखरेल अन्तर्राष्ट्रिय प्रर्यटन प्रवर्धन र बजार ब्यबस्थापनमा विशेष दख्खल राख्छन्।

पर्यटन बोर्डमा लामो अनुभव भएका उनीहरु पनि उपयुक्त उम्मेदबार हुन सक्छन् ।

बोर्डको सीइओका अर्का दाबेदार बच्चुनारायण श्रेष्ठ राजनीतिक छवि बोकेका ब्यक्ति हुन्। यती समूहका सल्लाहकारसमेत रहेका श्रेष्ठ प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा ‘भिजिट नेपाल २०२०’को  सचिवालयको सदस्यसचिवमा नियुक्त भएका थिए ।

सरकारबाट भ्रमण वर्ष सचिवालयको संयोजकको जिम्मेवारी पाएका श्रेष्ठलाई दोहोरो भूमिका निभाउन कठिन हुने देखिन्छ।

यद्यपि श्रेष्ठलाई चारवर्षे कार्यकालका लागि सिइओ बनाउन पार्टी र व्यापारिक समूहको समेत ठूलो दबाब छ ।

श्रेष्ठ पासाङ ल्हामु प्रतिष्ठानका महासचिव हुन् । पासाङ ल्हामु शेर्पा प्रतिष्ठान क्याम्पसका कार्यकारी निर्देशकसमेत हुन् । उक्त क्याम्पसको नेतृत्व यती समूहकै थाम सेर्कु ट्रेकिङ कम्पनीले गर्दैआएको छ ।

विगतमा बोर्ड भित्रबाटै सीईओ छनोट गर्ने परम्पराको थालनी भएकाले उनलाई राजनीतिक पहुँचको आधारमा अगाडि ल्याए बोर्ड भित्र काम गर्ने वातावरण सिर्जना हुन कठिन छ। बोर्डका कर्मचारीले नै उनलाई सहयोग नगर्न पनि सक्छन्।

राजनीतिक पहुँचको आधारमा नेपाल पर्यटन बोर्डको सीईओ चलाउन कठिन पनि छ । यो पदका लागि उच्च अध्ययन, अंग्रेजीमा राम्रो दख्खल भएको  र लामो अनुभव बोकेको ब्यक्ति हुन जरूरि छ।

चार वर्षको कार्यकाल हुने पर्यटन बोर्डको सीईओको सेवा सुविधा तथा तलब आकर्षक हुन्छ। पर्यटन बोर्डले सिईओ छनोट गर्न गठित समितले आवेदकमध्येबाट तीनजनाको नाम सिफारिस गर्ने छ। त्यसमध्येबाट समितिले एकजनालाई सिईओ नियुक्ति गर्ने छ। समितिमा विप्लब पौडेल संयोजक रहेका छन् भने घनश्याम उपाध्याय र कृष्णबहादुर महरा सदस्य रहेका छन्।

बोर्डको अध्यक्ष संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हुन्छन्।

सिईओ नियुक्त भएपछि सरकारी वा गैरसरकारी अन्य जिम्मेवारीबाट मुक्त हुनुपर्ने कानूनी व्यवस्था छ।

पर्यटन बोर्डको सिईओ आकर्षक पद मानिन्छ। देश विदेश भ्रमणको अवसर, आकर्षक टीएडीए, पाँचतारे सुविधा यो पदका आकर्षण हुन्। अहिलेकै अवस्थामा तलव मात्र पनि करिब ३ लाख मासिक हुन्छ। 

यही माघ २ र ३ गतेबाट हुने दोस्रो चरणको छनोट प्रक्रियामा बोर्डको छनोट सचिवालयले हाम्रा होइन, राम्रा मान्छे छनोट गरेर नेपाल भ्रमण वर्ष २०२० सफल पार्न टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

 

प्रकाशित मिति: : 2020-01-15 05:16:04

प्रतिकृया दिनुहोस्