खडक चन्दको गायन यात्रा : मलाई लगेपछि दाइहरूले दोहोरीमा हारिँदैन भन्थे

खड्कबहादुर चन्द राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान सुर्खेत शाखाका अध्यक्ष हुन् । दोहोरी गीत प्रतिष्ठानको नेतृत्व तहमा रहेर काम गरिरहेका चन्द दुई तीन कक्षामा हुँदा नै आफूले दोहोरी गीत गाउन थालेको बताउँछन् । विशेष गरेर चाडपर्व र विवाह, पूजा, व्रतबन्धका समयमा दोहोरी उनी दोहोरी गाउँथे रे ! 'अझ यति कि मलाई लिएर गएपछि दोहोरीमा जीत पक्का झैं मानेर दाईहरूले गीत गाउन सँगै लैजानुहुन्थ्यो,' चन्द बाल्यकाल सुनाउँछन् ।

उनले सानैदेखि गीतमा छाप पर्नुको कारण आमाबुवानै हुन् । उनका आमावुवा पनि गाउँघरमा ठाडी भाका गाउँथे । त्यसैले त उनलाई गायन क्षेत्रमा परिवारको लगातार साथ र सहयोग भइरह्यो । उनी भन्छन्, 'मेरो बुवा पैसरी नृत्यको अगुवा पनि भएका कारण मलाई गीत संगीतमा लाग्न समस्या भएन । घरबाट सकारात्मक सहयोग पाइरहेँ ।’


वि.सं. २०४५ साल चैत ११ गते चिङ्गाड गाउँपालिकाको वडा नं. ४ मटेलामा जन्मिएका चन्द विगत लामो समयदेखि लोक तथा दोहोरी गीत प्रतिष्ठानमा आवद्ध भएर लोक–संस्कृतिको संरक्षणमा सक्रिय छन् । साथै उनी विभिन्न संघ–संस्थामा आवद्ध भएर सामाजिक कार्यमा पनि उत्तिकै क्रियाशील छन् । कला र सामाजिक कार्यलाई सँगसँगै अघि बढाउँदै लगेका छन् ।

लोकान्तरसँगको कुराकानीमा उनले दोहोरी गाउँदाका केही रमाइला क्षण पनि सुनाए । दोहोरी गाउँगाउँदै बिहे गरेर लैजानेसम्मको कुरा भयो । तर केटीका आमाबुवाले साँच्चै सोचेछन् । 'त्यसपछि उहाँहरूले हामीलाई लखेट्नुभयो,' उनी भन्छन्, ‘भाग्ने क्रममा केही साथी सिस्नोघारीमा परेछौं ।'

प्रकाशित मिति: : 2020-01-18 22:50:03

प्रतिकृया दिनुहोस्