१५ सय तिर्न नसकेर स्कुलबाट निकालिएका क्षितिज एप्पलमा इञ्जिनियर

३३ केटाकेटीको स्कुल खर्च तिरिदिए, पाँच वर्षको खर्च बेहोर्ने प्रतिबद्धता

तस्बिर : सेतोपाटी

'जम्मा १५ सय रुपैयाँ तिर्नुछ भनेर पनि सम्झन सक्दैनस्?' करिब १५ वर्षअघि स्कुलमा त्यो रकम तिर्न नसक्दा निकालिएको घटना क्षितिजराज लोहनीलाई ताजा छ।कक्षा ६ पढ्ने सानो क्षितिजको दिमागमा झन् त्यो कुरा जकडिएर बसेको थियो। त्यतिखेरै संकल्प लिएका थिए, 'कमाउने भएपछि मजस्ता सबैको पैसा तिर्छु।' आफ्नो सपना पछ्याउँदै-पछ्याउँदै क्षितिज अमेरिका पुगे। संसारकै धनी कम्पनी एप्पलमा 'सफ्टवेयर इञ्जिनियर' का रूपमा कार्यरत छन्। बेला–बेला नेपाल आउने उनी गत दुई महिना नेपाल बसेर फर्किए। यो बसाइमा उनले सानो बेलाको संकल्प पूरा गर्ने प्रयास पनि गरे।

बुढानिलकण्ठस्थित श्री भद्रकाली स्कुलका विपन्न परिवारका ३३ केटाकेटीको एक वर्षको पूरै खर्च तिरिदिए। त्यसका साथै पाँच वर्षसम्मको पढाइ खर्च बेहोर्ने प्रतिबद्धता जनाएर गए। 'हाम्रो परिवारसँग कुनै बेला जम्मा १५ सय तिर्न सक्ने हैसियत थिएन। स्कुलको व्यवहारले मलाई साह्रै चित्त दुखेको थियो,' सानो हुँदाको घटना सम्झँदै भने, 'त्यो बेलाको केटौले जोशमा म जस्ता सबैको पैसा तिरिदिन्छु भनेको थिएँ। त्यो त नसकिएला, तर जति सक्छु, त्यति भने तिर्छु। मलाई जे भयो, भविष्यमा अरूलाई नहोस्।'

प्रकाशित मिति: : 2020-01-20 03:07:10

प्रतिकृया दिनुहोस्