चार दशक पत्रकारितामा सक्रिय विजय प्रकाश, जो महासंघको सदस्यसमेत नपाई अस्ताए

सम्झनामा भोजपुरी साहित्यकार तथा पत्रकार विजय प्रकाश बिन

‘सत्ता सधैँ पत्रकारले दासत्व स्वीकार गरो: भन्ने चाहन्छ’, विजय प्रकाश बिन भन्थे। गत पुस १३ गते साँझ साहित्यकार एवम् पत्रकार विजय प्रकाश बिनको ६९ बर्षको उमेरमा निधन भयो। सो सँगै पत्रकारिता क्षेत्रमा भोजपुरी भाषाको पहिलो पत्रकारको पनि निधन भएको छ।

वीरगन्जमा भोजपुरी भाषाको पहिलो पत्रिका उनले नै प्रकाशित गरेको जानकारहरु बताउँछन्। करिब चार दशक उनी पत्रकारिता क्षेत्रमा काम गरे। तर पत्रकार महासंघको सदस्यता प्राप्त गर्ने अवसर पाएका थिएनन्। नत पत्रकार महासंघ पर्साका युवा पदाधिकारीहरुको जेष्ठ पत्रकार बिन तर्फ ध्यान जान सक्यो। बिनको परिवार तथा उनी निकट व्यक्ति तथा साथीसंगीहरुसँग गरेको कुराकानीको आधारमा उनको संक्षिप्त जीवन कथा प्रस्तुत छ।

परिचय:

बि.स.२००७ सालमा उनको जन्म भएको थियो। बीरगन्ज कुम्हाल टोल हाल वार्ड ७ को पैत्रिक घरमा उनी जन्मे र हुर्के। उनी र उनकी एक मात्र बहिनी गरी आमाबुवाको दुई सन्तान थिए। साधारण परिवारमा जन्मिएका उनी सरकारी बिद्यालयबाट माध्यमिक तहसम्म शिक्षा हाशिल गरे।

उनको पारिवारिक आर्थिक अवस्था राम्रो थिएन। ठाकुरराम क्याम्पसमा लेखापालको जागिरमा प्रवेश गरेपछि उनको जीवनयापन सहज भएको थियो। ठाकुरराममा जागिरमा हुँदै गर्दा पहाडी समुदायकी तारा (पौडेल) देवीसँग उनको चिनजान भएको थियो। केही वर्षपछि दुवै जना बैवाहिक शुत्रमा बाँधिएर पारिवारिक जीवनयात्रा प्रारम्भ भयो।

तीन छोरी र दुई छोरा गरी पाँच जना सन्तानको जिम्मेवारी र अभिभावकत्व काँधमा आयो।

पत्रकारितामा प्रवेश

पत्रकार तुलसी (विजय) भण्डारीले बिन बारे थाहा भएका विषयमा केही जानकरी गराए। उनी भन्दा पहिलेदेखि पत्रकारितामा आबद्ध रहनुभएका श्रीकृष्ण अमात्य, ज्ञानबहादुर बस्नेत, ईश्वरचन्द्र गौतम र सुदर्शन राज पाण्डेय लगाएतका व्यक्तित्वसँग उनको मित्रता भयो। बीरगन्जको माइस्थान र घण्टाघरमा यी साथीहरुसँग प्रायः भेटघाट भइरहन्थ्यो।

चियाको चुस्कीसँगै विभिन्न विषयमा कुराकानी हुन्थ्यो। दिनप्रतिदिनको भेटघाटले मित्रता झन् प्रगाढ बन्दै गयो। निकटम मित्रहरु मध्ये प्रायः पत्रकारिता क्षेत्रमा आबद्ध रहेकोले सो सँग सम्बन्धित कुराकानी हुनु स्वाभाविकै थियो।

सो बेला वीरगन्जमा भोजपुरी भाषामा कुनै पत्रिका थिएनन्। भोजपुरी भाषामा पत्रिका प्रकाशन सम्बन्धमा साथीहरुसँग सल्लाह गरे। उनको मनमा भोजपुरी भाषाको उत्थान गर्नुपर्ने कुरा खेल्न थाल्यो। साथीहरुबाट पनि साथ र सहयोगको आश्वासन पाइसकेपछि उनी हौँसिए।

उनी निकटका अनुसार बिन दृढ संकल्पका साथ आफ्नो कार्यमा लागिपर्ने स्वभावका व्यक्ति थिए। निष्ठावान र इमान्दार प्रवृतिका मानिस थिए। यसरी उनी पत्रकारितामा प्रवेश गरे।   

पहिलो भोजपुरी साप्ताहिक सगुन:

उनले वीरगन्जबाट भोजपुरी भाषाको पहिलो सगुन साप्ताहिक पत्रिकाको प्रकाशन प्रारम्भ गरे। नगन्य संख्यामा नेपाली भाषाका पत्रिका प्राप्त गर्दै आइरहेका स्थानीयहरु उनकै योगदानका कारण स्थानीय मातृभाषा भोजपुरीमा समेत पत्रिका पढने अवसर पाए। उक्त पत्रिका प्रकाशनसँगै बिभिन्न तह तप्काबाट शुभकामना प्राप्त हुने क्रमसँगै उनको हौँसला झन् बढ्दै गयो। उनको कलम पत्रकारिता क्षेत्रमा चल्न थाल्यो। उनको बढी समय यतै खर्चिन थाल्यो।

अब उनी ठाकुररामको लेखापालको नोकरी छोडेर पूर्णरूपमा पत्रकारितामा समाहित भए। समाचार संकलन, लेखन, सम्पादन तथा प्रकाशन सबै आफैं गर्थे। उतिबेला ट्रेडिल मेसिनमा पत्रिका छपाई हुन्थ्यो। कतिपय बेला प्रेसमा प्राबिधिक र कामदारहरु अनुपस्थित रहेको बेला उनी स्वयम् समाचार कम्पोज गर्ने देखि छपाई सम्मको कार्य गर्न पछि हट्दैन थिए। समाचार संकलन भएपछि अनुकुल समयमा कापीमा लेखेर प्रेसमा समाचारको प्राथमिकता क्रम समेत जनाई पठाऊँने गर्थे।

समाचारपत्रको साइज अनुसार एक पटक फ्रेम तयार भएपछि सोही फ्रेम भित्र अर्को अंकको लागि कम्पोजिङ गर्ने कार्य क्रमशः चलिरहन्थ्यो। पत्रिका प्रकाशित हुने अघिल्लो दिन प्रुफ चेक गर्दै गल्ती भएका शब्दहरु सच्याएर पत्रिकाको अन्तिम स्वरुप प्रदान गरिन्थ्यो।

पत्रिका प्रकाशित हुने अघिल्लो रातीभरि छपाईको काम हुन्थ्यो। बिहान बजारमा पुग्थ्यो। उनका निकटवर्ती साथीहरुका अनुसार उनले कतियौं पटक प्रेस मै रात बिताए। लगनशीलता, धैर्यता र निष्ठाका साथ पत्रकारिताको मुलभूत सिद्धान्त अनुसार कर्तव्यमा लागि रहेने उनी प्रतिफलको अपेक्षा गर्दैन थिए। 

पछिल्लो समय भोजपुरी माटी पत्रिकाको बिमोचन सँगै उनी पुन: पत्रकारिता क्षेत्रमा उदय भए। भुत भँवर साहित्यिक पत्रिका, भोजपुरी पाँती र भोजपुरी टाइम्स लगायतको अखबारमा सम्पादकको रुपमा कलम चलाए।

स्व. बिन्दु पाण्डेय प्रतिष्ठानका स्थापना विनले नै गरेका थिए। संस्थापक अध्यक्ष समेत थिए। पत्रकारिता पेशामा आबद्ध महिला संचारकर्मीहरुलाई पुरस्कृत गरेर मनोबल उच्च पार्ने उद्देश्यका साथ उक्त प्रतिष्ठानको स्थापना गरेका थिए।  

कमजोर आर्थिक अवस्था :

ऋण काढेर पत्रिकामा लगानी गर्दै गए। आम्दानी भन्दा पनि खर्चको अनुपात बढ्न थाल्यो। जसकारण उनको आर्थिक अवस्था दिनदिनै कम्जोर हुन थाल्यो। घरायसी खर्च थेग्न पनि हम्मेहम्मे पर्न थाल्यो। वर्षौंसम्म पत्रकारिता पेशामा आबद्ध रही काम गरेका बिन कमजोर आर्थिक अवस्थाका कारण मानसिक रुपले विक्षिप्त हुन् पुगे।

अन्तत: पत्रकारिता पेशादेखि लगभग पन्ध्र वर्षसम्म अन्तर्ध्यान भए। केही वर्ष रानीघाटमा गौरव प्रेसको नामले आफ्नो निजी प्रेस सञ्चालन गरी जीविकोपार्जन गर्न थाले। सो छापाखानामा ग्राहकहरुको छपाई सम्बन्धी काम हुन्थ्यो।

अत्याधिक ऋणका कारण साढे तीन वर्ष अघि कुम्हाल टोलमा रहेको मुल घर बिक्रि गरे। ऋण चुक्ता गरी वीरगन्ज १५ भेडियाहीमा घर बनाएर स-परिवार बस्दै आएका थिए।

पक्षघात र मस्तिष्कघातले ग्रसित बिन लामो समयदेखि थला परेका थिए। उनकी श्रीमती तारादेवीका अनुसार बिन करिब ६ महिनादेखि बेड मै थिए।

दिशा-पिसाब ठाउँ मै हुन्थ्यो। उनका साथीहरु मध्ये केहिले दुई तीन पटकसम्म पनि भेट्न आए। तर, सबै आएनन्।    

अद्भूत घटना :

पत्रकार प्रेम सर्राफले करिब २० वर्ष अघिको एउटा प्रसंग सुनाए। विजय प्रकाश बिन र प्रेम सर्राफ काम बिशेषले घण्टाघरदेखि रानीघाट तर्फ जाँदै थिए। बिनका निकटम, घनिष्ट र प्रिय साथीहरु मद्धे सुदर्शन राज पाण्डे पनि एक थिए।

संयोगले बाटोमा पाण्डेसँग भेट भयो। पाण्डे उनको निवासमा चिया खाँदै गफगाफ गर्ने भनी लिएर गए। तिनै जना पाण्डेयको घर पुगेछन्। पाण्डेयले आफ्नी श्रीमती बिन्दु पाण्डेलाई साथीसित परिचय गराउन बोलाएछन्। बिन्दु पाण्डे जब आइन्, विजय प्रकाश बिनलाई निवासमा देखेर आश्चर्यचकित भइन्।

एक सरो नानाथरिका कुरा सुनाउन थालिछन्। रिसले चुर भइन्। यता बिन उनको आक्रोश देखेर बरफ समान भए। उनको गुनासो सुन्दै रहे। बिन र सुदर्शन राज पाण्डे बिचको मित्रता श्रीमती पाण्डेयलाई थाहा रहेनछ। बिन ठाकुरराममा लेखापालको जागिरमा रहँदा बिन्दु पाण्डे अध्यनरत थिइन्।

श्रीमती पाण्डेयले पढाई सम्बन्धि एउटा समस्या समाधान गरिदिन बिनलाई आग्रह गरेकी थिइन्। बिन उनको कुरा मानेनन्। इन्कार गरिदिएका थिए। बिन्दु पाण्डे उनी प्रति असन्तुष्ट भइन्। क्याम्पसको उक्त घटनाको धेरै अन्तराल पछि दुवैजनाको जम्का भेंट भएको थियो।

सुदर्शन राज पाण्डे आफ्नी श्रीमतीलाई शान्त पार्दै चिया र पानी ल्याउन आग्रह गरे। केहीबेर पछि चियाको चुस्की र हाँसोठट्टा सँगै तिनै जना बीच निकै बेर सोहि बिषयमा कुराकानी चलीरह्यो। आक्रोशित माहौल घन्टौं सम्म हास्यरसयुक्त भयो।

पत्रकारिता प्रति उनको भावना :

साथीहरुसँग उनले पत्रकारिता क्षेत्रका बिषयमा आफ्ना निजी धारणा व्यक्त गरी रहन्थे। उनी भन्थे, ‘सत्ता सधैँ पत्रकारले दासत्व स्वीकार गरो: भन्ने चाहन्छ। पत्रकार पनि समाज भित्र कै एक अंग भएकोले समाजमा अरु स्थानमा भए जस्तै पत्रकारितामा पनि बिकृति हुनु अस्वाभाविक होइन। तर, इमान्दारीपूर्वक काम गर्ने पत्रकारिताले संचारमाध्यमको साख जोगाएको छ। तर, सोको संख्या भने न्यून छ। मैले केहि पाउनको लागि पत्रकारिता गरेको होइन। यस क्षेत्रमा मुख्य कमाई भनेको पीडित पक्षको माया र आशिर्वाद हो जसको बारेमा पत्रिका मार्फत् उठान गरिएको हुन्छ। परिवारको उत्थानको लागि प्रदान गर्नुपर्ने समय यता खर्चिन्छ। त्यति मात्र हो। निष्ठामा रहन सकिँदैन भने पत्रकारिता गर्नु नै गलत हो। तर, निष्ठामा रही पीडितको आवाज धैर्यताका सुनेर प्रकाशित र प्रसारित गर्ने साहस राख्ने हो भने यो क्षेत्रको माध्यमबाट समाजको लागि धेरै गर्न सकिन्छ।’   

पत्रकार महासंघको कर्तव्य :

गत पुस २४ गते पत्रकार महासंघ पर्साको सभाहलमा पर्सेली पत्रकारहरुको समन्वयमा श्रद्धाञ्जली सभाको आयोजना भएको थियो। सोही कार्यक्रममा स्व. बिनको सम्झनामा प्रत्येक वर्ष ११ हजारको राशी सहित छनोटमा पर्ने पत्रकारलाई पुरस्कृत गर्ने घोषणा समेत भयो।

यो बहुत सराहनीय काम भएको छ। परिवारले पनि सन्तुष्टि व्यक्त गरेको छ। तर, वीरगन्ज मै रहेको उनको निवासमा यो कार्यक्रम गर्न के कठिनाइ थियो?

उनको परिवालाई पनि सान्त्वना हुने गरी यो कार्यक्रम र पुरस्कार घोषणा उनको निवासबाट गरेको भए शोकमग्न उनको परिवालाई अभिभावक स्व.बिनले गरेको पत्रकारिता प्रति झिनो मसिनो रहेको दुखेसो हट्दथ्यो, यो मेरो निजि मान्यता हो।

उनी परिवार भन्दा पनि समाज र भोजपुरी भाषाको उत्थानको लागि संघर्ष गरेका व्यक्ति थिए। त्यसैले थोरै भए पनि संचार क्षेत्रको हकहितको लागि प्रदेश र जिल्लामा स्थापित सरोकारिक संस्थाहरुले उनको काजकिरियाको लागि आर्थिक सहयोग जुटाउन अग्रसर हुनु पर्थ्यो।

त्यसले नयाँ पुस्ताका संचारकर्मीमाझ राम्रो सन्देश स्थापित हुन्थ्यो। पुरानो पुस्ताका कर्तव्यनिष्ट पत्रकारको सम्झनामा महासंघ र महासंघ पदाधिकारीहरुको हुनुपर्ने भूमिका के सन्तोषजनक देखिन्छ?

के यो युवा पुस्ताका पत्रकारहरुको लागि राम्रो सन्देश हो? पुस २६ गते उनको तेह्रौं परेको थियो। उनको तेह्रौ दिनको अवसरमा बिनको घरमा पत्रकारहरुको उपस्थिति किन देखिएन? भन्ने यावत् प्रश्नहरु बजारमा चर्चाको बिषय बनेको छ। यस तर्फ पत्रकार महासंघको ध्यानाकर्षण हुनु जरुरी छ। 

हार्दिक श्रद्धाञ्जली!

सामाजिक सञ्जाल मार्फत् श्रद्धाञ्जली प्रकट गर्ने र घरमा पुगी सान्तवना दिनेहरु प्रति परिवारले आभार व्यक्त गरेको छ। पछिल्लो समय उनी आबद्ध रहेका कलियुग संदेश र भोजपुरी टाइम्सले यथाशक्य आर्थिक सहयोग गरेको जनाउँदै परिवारले धन्यवाद दिएको छ। आदरणीय अग्रज पत्रकार स्वर्गीय विजय प्रकाश बिनको आत्माले शान्ति पाओ:। हार्दिक श्रधान्जली!                 

 

प्रकाशित मिति: : 2020-01-22 02:06:45

प्रतिकृया दिनुहोस्