वित्तीय संस्थामा पुराना कर्मचारीहरुको मात्र अखडा नबनाउन अर्थमन्त्रीकाे चेतावनी

बिएल संवाददाता

काठमाडाै‌ं

अर्थमन्त्री डा. युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थामा पुराना कर्मचारीहरुको मात्र अखडा नबनाउन चेतावनी दिएका छन्।

मंगलबार काठमाडौंमा कृषि विकास बैंकको ५३ औं वार्षिकोत्सब कार्यक्रममा बोल्दै खतिवडाले बैंक तथा वित्तीय संस्थाहरु पुरानै कर्मचारीहरुको हाली–मुहाली भएकोले त्यो किसिमको अखडा नबनाउन आग्रह गरेका हुन्। पुराना कर्मचारीहरु स्वतः प्रमोसनबाट माथि जाने तर युवालाई प्रवेश नगराउनु बैंकिङ क्षेत्रको दुर्भाग्य भएको उनको भनाई छ। 

प्रविधि सम्बन्धि ज्ञान सीप भएका युवाहरुलाई अवसर दिनु पर्ने उनले बताए। पछिल्लो समय नेपाली वित्तीय बैंकिङ प्रणाली सुधार हुँदै गएको बताउँदै उनले अर्थतन्त्र उकालो लागेको समयमा स्वाँ स्वाँ गर्ने र ओरालो लागेको समयमा लडिन्छ कि भन्ने चिन्ता नमान्नु पर्ने बताए। अर्थमन्त्री खतिवडाले देशको वर्तमान अर्थतन्त्र ठीक ठाउँमा रहेको पनि बताए।

विश्व बैंक, एशियाल विकास बैंक र आईएमएफको रिपोर्टले समेत राम्रो छ भन्ने देखाएको उनले स्पष्ट पारे। राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले सम्पूर्ण वाणिज्य बैंकहरुले सहुलियतपूर्ण कर्जामा गम्भिर हुन आग्रह गरे। कृषि बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले कृषि बैंकले देशको गरिबी निवारण, सर्वसाधारणलाई बैंकिङ पहुँचमा ल्याउन महत्वपूर्ण भूमिका खेलेको बताए। 
 

प्रकाशित मिति: : 2020-01-22 05:22:05

प्रतिकृया दिनुहोस्