विद्यार्थी बोकेको बस दुर्घटना: एकको मृत्यु, पाँच घाइते

बिएल संवाददाता

काठमाडाै‌ं

मोरङको धनपालथान गाउँपालिका–६ मा विद्यार्थी बोकेर रंगेलीबाट विराटनगरतर्फ आउँदै गरेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

१२ जना विद्यार्थी सवार रहेको विराटनगरको लर्ड बुद्ध हाइयर सेकेण्डरी स्कुलको मे १ ख १४९० नम्बरको बस दुर्घटना हुँदा बसका सह–चालक विराटनगर महानगरपालिका–१५ का ३२ वर्षीय सानुकुमार साहको मृत्यु भएको हो।

बाक्लो हुस्सु लागेका बेला घुम्तीमा विपरित दिशाबाट आउँदै गरेको अर्को गाडीलाई साइड दिने क्रममा स्कुल बस दुर्घटनामा परेको  इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले बताए।

दुर्घटनामा घाइते भएका साहको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा मृत्यु भएको हो। दुर्घटनामा पाँच विद्यार्थी घाइते भएका छन्। धनपालथान–७ की २० वर्षीया रञ्जिता मण्डल, धनपालथान–४ की २० वर्षीय सुष्मा राजवंशी, निकिताकुमारी राय, दीक्षा श्रेष्ठ र रंगेली नगरपालिका–४ की १९ वर्षीय लुना गौतम घाइते भएका छन्। रञ्जिताको टाउकोमा चोट लागेको छ। सबै घाइतेको न्युरो अस्पतालमै उपचार भइरहेको छ। 

बस र चालक विराटनगर–१७ का ३४ वर्षीय खिलबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ। चालक खड्काले हुस्सु लागेको बेला टाढासम्म देख्न नसक्दा विपरित दिशाबाट एक्कासि गाडी आएको र त्यसलाई साइड दिने क्रममा आफूले चलाएको बस पल्टिएको प्रहरीलाई बताएका छन्। 
 

प्रकाशित मिति: : 2020-01-24 00:21:46

प्रतिकृया दिनुहोस्