भ्लादिमिर पुटिनको प्रस्ताव छलफलै नगरी संसदबाट पारित

एजेन्सी

काठमाडाैं

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पेस गरेको संविधान पुनर्संरचनासम्वन्धी प्रस्तावलाई सांसदहरूले छलफल विना नै पारित गरिदिएका छन्।  बिहीबार बसेको संसद बैठकबाट दुई घण्टाभन्दा कम समयमै सो प्रस्ताव निर्विरोध पारित भएको अधिकारीहरूले जनाएका छन्। 

संसदको तल्लो सदनमा रहेका कुल सांसद ४३२ जनामध्ये सबैले प्रस्तावको पक्षमा मतदान गरेको संसदमा घोषणा गरिएको थियो।  राष्ट्रपति पुटिनले तीन दिन अगाडि मात्रै संविधान संशोधनको आफ्नो प्रस्ताव संसदमा प्रस्तुत गरेका थिए। ‘यसले हाम्रो शक्तिशाली एकताको सन्देश दिएको छ,’ सभामुख भयाचेस्लाभ भोलोदिनले मतदानपछि भने। बिहीबार भएको मतदान पहिलो चरणको हो भने दोस्रो चरणको मतदान आगामी फेब्रुअरी ११ तारिखमा हुने अपेक्षा गरिएको छ।

संसदमा राष्ट्रपति पुटिन पक्षधरका सांसदहरु नै अत्यधिक रहेकाले आगामी मतदानबाट पनि उनको प्रस्ताव पारित हुने निश्चित जस्तै रहेको जनाइएको छ।   राष्ट्रपति पुटिनले गत हप्ता पुनर्संरचनासम्बन्धी नयाँ प्रस्ताव तयार पारेका थिए भने उनले प्रस्ताव ल्याएसँगै तत्कालिन प्रधानमन्त्रीले राजीनामाको घोषणा गरेका थिए।

तत्कालिन प्रधानमन्त्रीले राजीनामा दिएपछि केहीदिनमा उनले नयाँ प्रधानमन्त्री र मन्त्रीहरु समेत नियुक्त गरिसकेका छन्। राष्ट्रपति पुटिनले नयाँ प्रस्ताव गर्नुभएको नयाँ व्यवस्थाअनुसार राष्ट्रपतिसँग रहेका कतिपय अधिकार संसद र राज्यका अन्य विभिन्न निकायहरुलाई दिइने भएको छ।

प्रकाशित मिति: : 2020-01-24 12:12:12

प्रतिकृया दिनुहोस्