ट्रम्पविरूद्ध महाअभियोग बहस समाप्त : साक्षी बोलाउने कि नबोलाउने बुधबार मतदान

प्रदीप भट्टराई

वासिङ्टन डीसी, अमेरिका ।

अमेरिकी सिनेटमा राष्ट्रपति ट्रम्पविरूद्धको महाअभियोग बहसको पहिलो चरण सकिएको छ। यो चरणमा अमेरिकी संसदको तल्लो सदनले राष्ट्रपति ट्रम्पविरूद्ध लगाइएको महाअभियोग प्रस्तावको पक्षमा हाउस म्यानेजर र विपक्षमा राष्ट्रपति ट्रम्पको कानूनी समुहले आआफ्ना धारणा राखेका छन्। यी धारणाहरू मूलत: सिनेटमा साक्षी प्रमाण प्रस्तुत गर्ने कि नगर्ने पक्षमा केन्द्रीत थिए ।

हाउस म्यानेजरले खासगरी राष्ट्रपतिका पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टन र ह्वाइट हाउसका कायममुकायव चिफ अफ स्टाफ मिक मल्भेनीलाई साक्षीका रूपमा प्रस्तुत गर्नुपर्ने पक्षमा बहस गरेका थिए भने राष्ट्रपति ट्रम्पका वकीलहरूले राष्ट्रपतिमाथि लगाइएका दुई आरोप नै असंवैधानिक भएकाले साक्षी बहकाउनु नपर्ने पक्षमा दलील पेस गरेका थिए।

दुबै पक्षका बहसहरू सुनिसकेपछि गरिएको पछिल्लो जनमत सर्भेक्षणले ७५ प्रतिशत अमेरिकी साक्षी प्रस्तुत गर्नुपर्ने पक्षमा रहेको देखाएको छ। यसको प्रभाव खासगरी डेमोक्रेटिक प्रभावित क्षेत्रबाट यसै वर्ष सिनेटको चुनावमा जाने रिपब्लिकन सिनेटरमा परेको जस्तो देखिन्छ। यस्ता सिनेटरको संख्या पाँच मात्र भए पनि बहुमतको आधारमा साक्षी प्रस्तुत गर्नुपर्ने हुन्छ । 

राष्ट्रपति ट्रम्प आफूविरूद्धको महाअभियोग प्रस्ताव पारित नहुनेमा ढुक्क छन् तर उनी बोल्टन र मल्भेनी साक्षीका रूपमा प्रस्तुत हुँदा धेरै सत्य बाहिरिने भएकाले त्यसको प्रभाव आगामी राष्ट्रपति चुनावमा पर्ला कि भन्नेमा चिन्तित छन्।  

राष्ट्रपति ट्रम्प र उनीप्रती वफादारहरू त्यो संख्या पुग्न नदिएर सोझै महाअभियोग प्रस्तावलाई दोस्रो चरणको बहसमा लैजान चाहिरहेका छन्। जसअन्तर्गत सिनेटरहरूले सोधेका प्रश्नको जवाफ हाउस म्यानेजेर र ट्रम्पका वकिलहरूले दिएपछि महाअभियोग प्रस्ताव सिधै मतदानमा लगिन्छ। 

एक सय सदस्यीय सिनेटको दुई तिहाइ बहुमतले मात्र राष्ट्रपति ट्रम्पविरूद्धको महाअभियोग प्रस्ताव पारित हुन्छ। तर, अहिले सिनेटमा राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीकै ५३ सिनेटर भएकाले त्यो सम्भावना कतैबाट पनि देखिदैन।

राष्ट्रपति ट्रम्प आफूविरूद्धको महाअभियोग प्रस्ताव पारित नहुनेमा ढुक्क छन् तर उनी बोल्टन र मल्भेनी साक्षीका रूपमा प्रस्तुत हुँदा धेरै सत्य बाहिरिने भएकाले त्यसको प्रभाव आगामी राष्ट्रपति चुनावमा पर्ला कि भन्नेमा चिन्तित छन्।  

राष्ट्रपति ट्रम्प महाअभियोग सामना गरिरहेका तेस्रो अमेरिकी राष्ट्रपति हुन्। यसअघि राष्ट्रपति बिल क्लिन्टन र एन्ड्रयु जोन्सनविरूद्ध पनि संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले पारित गरेको महाअभियोग सिनेटले असफल बनाइ दिएको थियो। सिनेटको अंकगणित हेर्दा यसपटक पनि त्यही इतिहासको पुनरावृति मात्र हुने जस्तो देखिन्छ। 

 

प्रकाशित मिति: : 2020-01-29 23:36:40

प्रतिकृया दिनुहोस्