हाँस्य टेलिशृंखला‘दोबाटे’की कलाकार लक्षणा राईको निक्कै व्यस्तता बढेको छ। दोबाटेमा ‘थसुल्ली’को भूमिकामा प्रस्तुत भईरहेकी लक्षणालाई बिभिन्न टेलिफिल्महरुबाट ‘अफर’ आईरहेका छन्।
मोरङ पथरीशनिश्चरेकी उनी दोबाटे मात्र हैन विल्सन बिक्रम राईद्धारा निर्देशित ‘फुर्के नम्बर वान’मा पनि उत्तिकै दर्शक हसाँईरहेकी छिन्। बिभिन्न टेलिफिल्मका अफरहरुलाई ब्यस्तताले काम गर्न ‘नाई’ भन्ने गरेको उनले बताईन्।
राजधानीमा बसेर काम गर्ने केही सुझाव आएपनि उनलाई मोफसलमै बसेर काम गर्ने रहर छ। उनी भन्छिन्, ‘अब मोफसल भन्ने शब्दको अर्थ नै गलत छ जस्तो लाग्छ। इन्टरनेटको युगमा जो जहाँ बसेर पनि काम गर्न सकिन्छ,के मोफसल के राजधानी।’
सानैदेखि कलाकारभन्दा पनि गीतकार बन्ने रहर बोकेकी थसुल्लीले कलाकारिता क्षेत्रमा आउनु चिठ्ठा परेको मान्छिन्। उनले आज हाँस्य कलाकार बन्छु भनेर कहिल्यै सोचेकी थिईनन रे।
‘हिमशिखर टेलिभिजनबाट ‘दोबाटे’ प्रसारण हुने भएपछि पत्रकार गोपाल काफ्ले दाइले ‘काम गर्छौ’ भनेर सोध्नुभयो’,सुरूवाति दिन सम्झिन्दै उनले भनिन्, ‘झट्ट काम गर्न मन लागेन। दाइले ‘तिमी सक्छौ’ भनेर कर गर्नुभयो। ममीले पनि सम्झाउनुभयो, गर भन्नुभयो। त्यसपछि टेलिसिरियलमा काम गर्न तयार भएँ। आज त्यही कारण यो क्षेत्रमा छु।’
क्यामेरा फेसको त्यो क्षण
स्कुल पढ्दाताका सानातिना कार्यक्रममा सहभागी भए पनि क्यामेरा फेस नगरेकी उनलाई सबैभन्दा सकस त्यही क्षण थियो।‘पहिलो दिन क्यामरा फेस गर्दा एकदमै डर लाग्यो’, उनले भनिन्,यसअघि क्यामेरासँग जानकार थिइनँ। अहिले त बानी परिसक्यो, जे दिएपनि ‘वानटेक’ मै ‘ओके’ हुन्छ।’
मान्छे नरम,अभिनय छुच्ची
शिक्षण पेशमा समेत क्रियाशिल राई आफू अभिनयमा छुच्ची भएपनि भित्र भने निकै भावुक रहेको बताउँछिन्। उनले भनिन्, ‘कसैको दुःख देख्न सक्दिनँ, आँशु झरिहाल्छ। अझ बुढापाका मानिसको दुःख देख्दा मन नै बहकिन्छ। सक्ने सहयोग गर्न मनलाग्छ।’
लक्षणा होइन थसुल्ली भनेर चिन्छन्
आफूलाई लक्षणा भन्दा पनि थसुल्ली भनेर चिन्ने गरेको उनी बताउँछिन्। ‘अहिले कतै कार्यक्रममा जाँदा सबैले ‘थसुल्ली दिदी’ भनेर बोलाउँछन्,लक्षणा नाम नै हराईसक्यो।’अब त थसुल्ली भन्दा नै रमाईलो लाग्छ।
कलेजमा साथीहरू, घरपरिवार सबैतिर थसुल्ली नै भन्छन्। बाटोमा हिँड्दा पनि धेरैले चिन्ने गर्छन्। ‘ऊ थुसुल्ली’ भन्छन्।
आज गुणराज सर भईदिएको भए
कलाकारिता क्षेत्रमा आउने प्रेरणा आफ्नो शिक्षक गुणराजबाट प्राप्त भएको उनी बताउछिन्। भन्छिन्, ‘सरले हिजोका दिनमा केही गरेर नाम राख भनेर हौशला दिनुहुन्थ्यो। एकदमै सर्पोट गर्नुहुन्थ्यो। उहाँले डोहोर्याएर मात्र होइन, काधमै बोकेर हिडाउँनुभयो भन्दा फरक पर्दैन्।’
उनले भन्दै गईन्, सरले मेरो लागि रेडियोमा सयम किनेर कार्यक्रम चलाउन लगाउनुभयो। उहाँ भन्नुहुन्थ्यो, ‘तिमीहरु टेलिभिजनमा काम गरेको, फुटबलमा गोल गरेको, लगायत बिभिन्न सफलताहरु हेर्न पाउँ। तर, आज हाम्रो सर यो संसारमा हुनुहुन्न, दुःख लाग्छ। उहाँले मेरो यो सफलता आज देख्न पाउनुभएको भए कति गौरब गर्नुहुन्थ्यो होला। उहाँलाई एकदमै ‘मिस’ गर्छु,’ यसो भन्दा सबैलाई हसाँउने थसुल्लीको आँखामा आँशु टिलपिलाइसकेको थियो।