मुस्ताङमा तेस्रो राष्ट्रिय स्की च्याम्पियनसिप

हिमाली जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१  मुक्तिनाथमा शनिबारदेखि तेस्रो राष्ट्रिय स्की च्याम्पियनसिप–२०२० शुरु हुने भएको छ। नेपाल स्की सङ्घद्वारा गरिने प्रतियोगिता अन्तर्गत स्नोबोर्डिङ स्की, अल्पाइन स्की र क्रसकन्ट्रीमा खेल हुनेछ।

प्रतियोगिताअन्तर्गत स्नोबोर्डिङ स्की, अल्पाइन स्की र क्रसकन्ट्रीमा खेल हुने सङ्घका महासचिव विजय श्रेष्ठले जानकारी दिए। स्की तथा स्नो बोर्डिङलाई नेपालमा लोकप्रिय खेलका रूपमा विकास गर्दै अन्तर्रा्ष्ट्रिय प्रतियोगितामा नेपालको सम्मानजनक उपस्थिति कायम गर्न यसले महत्वपूर्ण सहयोग पुग्ने उनको दाबी छ।

स्कीका लागि उपयुक्त स्थान मुक्तिनाथ भएकाले मुक्तिनाथ र मुस्ताङका विभिन्न सम्भावित क्षेत्रको अध्ययन गरी गाउँपालिका र नेपाल सरकारसँग समन्वय गरी उक्त स्थानलाई स्की स्पोर्टस्का रुपमा विकास गरिने लक्ष्य लिइएको छ।

स्की च्याम्पियनसिपले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा विशेष योगदान पुग्ने विश्वास लिइएको नेपाल स्की सङ्घका अध्यक्ष एवं सांसद जीवनराम श्रेष्ठले बताए।

उनले भने,‘साहासिक खेलबाट नेपाल भ्रमण वर्ष २०२० मा हिमाली क्षेत्रको पर्यटन प्रवद्र्धनमा योगदान पुग्नेछ।’ स्कीका माध्यमबाट हिउँदको मौसममा पनि यहाँको पर्यटनमा चहलपहल गराउने उनको भनाइ थियो।

नेपालमा सन् २०१६ मा पहिलो पटक रसुवाको लाङटाङमा स्की प्रतियोगिता भएको थियो। लाङ्टाङको केञ्जिङ उपत्यकामा सम्पन्न उक्त प्रतियोगितामा १२ खेलाडी सहभागी थिए।

अघिल्लो वर्ष मुक्तिनाथमा दोस्रो राष्ट्रिय स्की च्याम्पियनसिप २०१९ भएको थियो। प्रतियोगिताअन्तर्गत स्नोबोर्डिङ स्की र अल्पाइन स्की विधामा प्रतिस्पर्धा गर्न १५ महिला र १६ पुरुष खेलाडी सहभागी थिए।
 

प्रकाशित मिति: : 2020-02-01 11:39:44

प्रतिकृया दिनुहोस्