भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले संघीय संसदमा पेस गरेको बजेटको चर्चा अहिले भारत तथा छिमेकी देश नेपालमा समेत सुरु भएको छ। अर्थमन्त्री निर्मला सीतारमणले शनिबार प्रस्तुत गरेको ३०.४२ ट्रिलियन भारतीय रूपैयाँको वार्षिक बजेटलाई संसदमा लिनुपूर्व, प्रतिपक्ष पार्टी, अर्थ विज्ञ र नीजि क्षेत्रले विशेष रुपमा हेरिरहेका थिए।
आर्थिक मन्दी, बेरोजगारी, लगानीमा सुस्तता लगायतका तनाव झेलिरहेको मोदी सरकारले यसपटक प्रस्तुत गरेको बजेटमा केही हदसम्म राम्रो सन्देशको अपेक्षा गरिएकाे थियाे। तर, प्रस्तुत बजेट अपेक्षाकृत देखिए। त्योसँगै मोदी सरकारले ल्याएको बजेटमा आलोचनाको क्रम सुरु भएको छ।
बजेटमा भारतीय बजार तातिरहकै बेला मित्र राष्ट्र नेपालमा पनि अनेकन टिका टिप्पणी चलिरहेको छ। खासगरी प्रस्तुत बजेटमा छिमेकी देशलाई दिने सहयोगमा समेत यसपटक कटौती गरिएको छ। यसको सबैभन्दा बढि मार नेपाल देखिन्छ। नेपालको विकासमा महत्वपूर्ण भुमिका खेलेको मोदी सरकारले गतवर्षको तुलनामा झण्डै ३३ प्रतिशत बजेट कटौती गरेको छ।
गत वर्षकाे बजेटमा नेपालले १९२० करोड (नेपाली) पाएको थियो। अब १२८० करोड (नेपाली) सहयोग पाउनेछ।
भारत सरकारले भुटान, मौरिशस, नेपाल, अफगानिस्तान, अफ्रिकी देश, मालदिभ्स, म्यानमार, बंगलादेश, श्रीलंका, सेशल्स, दक्षिण अमेरिका तथा मङ्गोलियालाई आर्थिक सहयोग गदै आएको छ। सन् २०२०–२०२१ का लागि नेपालमा सहयोग रकम अन्य देशको तुलनामा धेरै कटौती हुनेछ।
भारतले दिँदै आएको सहयोग रकम कटौती हुनुमा पछिल्लो समय नेपाल–भारत सम्बन्धको खटपट पनि एक भएको नेपाल–भारत जानकार प्रवीणसिंह विश्वकर्माले बताउँछन्। ‘हुनत, यो विषय मात्रै मुख्य कारण नभई भारतमा पनि बिभिन्न आर्थिक समस्याहरु देखिएका छन्। युवाहरुमा रोजगारीको ठुलो समस्या छ। जीडिपीको खस्किदो अवस्था छ। थ्रुपै महत्वपूर्ण आयोजनाहरुका चाङ छन् तरपनि नेपाल सरकारले भारतसँगका असहमतिहरु कुटनीतिक ढंगले पहल गर्ने भन्दापनि मिडिया बाजि गर्ने कामले कता–कता भारतीय पक्ष असन्तुष्ट नै छ।’ उनले भने।
भारतीय जनता पार्टी– नेपाली समाज प्रकोष्ठका महाराष्ट्र संयोजक धिरेन्द्र सिंहले आर्थिकमन्दी चलिरहेको अवस्थामा भारत सरकारले नेपाललाई दिने सहयोग कटौती हुनु स्वभाविक भएको जानकारी दिए। नेपाललाई आर्थिक समस्या पर्दा कुनैपनि समयमा भारत सरकारले सहयोग गर्ने तथा नेपाललाई दिने आर्थिक सहयोग र कुटनीतिक विषयलाई फरक–फरक तरिकाले बुझ्नुपर्ने सिंहको तर्क छ।